विचार

गाँजा- उपयोगिता, महत्त्व र राजनीति

~कुमुद अधिकारी~

गाँजा क्यानाबेसी(Cannabaceae) परिवारको सपुष्पक वनस्पति हो। यो वनस्पति शताब्दीयौँदेखि औषधीय, मनोरञ्जन र अन्य उपयोगहरूका लागि प्रयोग हुँदै आएको छ। यसका तीनवटा प्रमुख प्रजातिहरू पहिचान गरिएका छन् : क्क्यानाबिस सटिभा, क्यानाबिस इन्डिका र क्यानाबिस रुडरेलिस। यी तीनदेखि बाहेक पनि यसका कैयन् प्रजाति(Species)हरू छन्।

गाँजाको बोटको बोक्रा र पातबाट रेसा पनि बन्दछ जसबाट कपडा, ब्याग, थैली आदि वस्तुहरू बनाइन्छन्। गाँजाको बीउ, बीउको तेल र पातका विभिन्न प्रयोगहरू रहेका छन्। सागसब्जी, जुस, औषधि, अध्यात्म र मनोरञ्जनका लागि गाँजाको प्रयोग गरिन्छ।  धेरै देशहरूमा गाँजा संस्कृतिको अभिन्न अङ्ग बनेको छ।

गाँजा (अङ्ग्रेजीमा क्यानाबिस वा म्यारिजुआना) वनस्पति साइकोएक्टिभ(मानसिक अवस्था र व्यवहारलाई प्रभावित पार्ने) औषधि हो।  गाँजामा पाइने प्रमुख साइकोएक्टिभ अंश भनेको टेट्राहाइड्रोक्यानाबिनोल(टिएचसि, THC, Tetrahydrocannabinol) हो जुन सो वनस्पतिमा पाइने ४८३ ज्ञात रसायनहरूमध्येको एक हो। यसैमा ६५ अन्य क्यानाबिनोइड(Cannabinoid) रसायनहरू पनि सामेल छन्।

गाँजालाई धूमपान, गरेर, वाष्पीकरण गरेर, खानासँग वा एक्स्ट्र्याक्टका रूपमा प्रयोग गर्न सकिन्छ। गाँजाको सेवन गर्दा मानसिक र शारीरिक प्रभावहरू देखा पर्छन्। “उच्च” वा आत्मविश्वासी भावना, उच्च मनोभावना(मुड), र बढी भोक लाग्नेजस्ता लक्ष्यणहरू देखिन्छन्। यी प्रभावहरू धूमपान गरेको केही मिनेट पछाडि नै र यदि खानासँग खाइएको छ भने करिब ३० देखि ६० मिनेटभित्रमा देखा पर्छन्। यी प्रभावहरू दुई देखि छ घण्टासम्म कायम रहन्छन्। अल्पकालीन पार्श्वप्रभावहरूमा अल्पकालीन स्मरण शक्तिको कमी, मुख सुक्ने, असन्तुलित चाल, आँखाहरू राता हुने, र मानसिक उन्माद वा अवसादको भावना हुनसक्छन्। किशोरावस्थामै गाँजा लिन थालेका किशोरहरूमा देखिने दीर्घकालीन पार्श्वप्रभावहरूमा, व्यसन र कमजोर मानसिक क्षमता देखिन्छ र बच्चापेटमा हुँदा गाँजा प्रयोग गर्ने आमाहरूको बच्चामा व्यावहारिक समस्याहरू देखिन थाल्छन्।

गाँजालाई मनोरञ्जनात्मक औषधिका रूपमा प्रयोग गरिएता पनि, यसलाई आध्यात्मिक उद्देश्यका लागि पनि प्रयोग गरिन्छ। एक अध्ययनले देखाए अनुसार सन् २०१३ मा १५ वर्षदेखि ६५ वर्ष उमेरको विश्वको २.७% देखि ४.९% जनसङ्ख्याले गाँजा प्रयोग गरेको थियो। गाँजा विश्वभरिमै सबैभन्दा बढी प्रयोग गरिने ‘लागू औषधि’ हो। यसलाई नारकोटिक ड्रगको दर्जामा विभिन्न देशका सरकारहरूले राखेको हुनाले ‘लागू औषधि’ भनिएको हो। अन्यथा गाँजा हामी पूर्वेलीहरूका लागि उपयोगी वनस्पति हो।  केही क्षेत्रहरूमा गाँजाको प्रयोग गैरकानुनी छैन। सबैभन्दा बढी गाँजा प्रयोग गर्ने वयस्कहरू(सन् २०१८) जाम्बिया, अमेरिका, क्यानाडा र नाइजेरिया रहेका थिए।

गाँजाको खेती इसापूर्व तीन सहस्राब्दीदेखि गरिएका प्रमाणहरू फेला परेका छन्। यसलाई साइकोएक्टिभ औषधिका रूपमा करिब २,५०० वर्ष अघिदेखि पामीरका पहाडहरूमा प्रयोग गरिन्थ्यो, धूमपानका रूपमा। २०औँ शताब्दी पछिदेखि विश्वका अधिकांश मुलुकहरूमा गाँजाको खेती, प्रयोग र स्वामीत्वमा प्रतिबन्ध लगाइएको छ। अमेरिकाका २२ राज्यहरूले राज्यका कानुन अन्तर्गत गाँजाको प्रयोगलाई कानुनी बनाएका छन्। धेरै देशहरूमा डाक्टरको प्रेस्क्रिप्सनमा गाँजाका औषधिहरू कानुनी रूपमै प्रयोग गर्न पनि पाइन्छ।

प्रयोगहरू

आधुनिक औषधीय प्रयोग

क्यानाबिनोइड्स  र क्यानाबिसलाई डाक्टरहरूले बिरामीको उपचार गर्नका लागि औषधि लेखिदिन्छन्। यद्यपि एलोप्याथिक चिकित्सा पद्धतिमा यसका औषधीय गुणहरूबारे पर्याप्त अध्ययनहरू भएका छैनन् र गरिएको क्लिनिकल अनुसन्धान पनि सीमित छ। त्यसैले गाँजाले कुन रोग कसरी निको पार्छ भन्ने कुरामा ठोस नतिजा छैन। प्रारम्भिक अध्ययनहरू अनुसार गाँजाको औषधीय प्रयोग निम्न छन्:

  • वाकवाकी र उल्टी: केमोथेरापीले गर्दा उत्पन्न वाकवाकी र उल्टीमा गाँजा प्रभावकारी देखिएको छ। यस्तो किसिमको वाकवाकी र उल्टी कम गर्नमा गाँजा परम्परागत औषधिहरूभन्दा बढी प्रभावकारी देखिएको छ। तर रिङ्गटा लाग्ने, मतिभ्रम आदि पार्श्वप्रभाव हुनाले यसको प्रयोग भने कम नै गरिन्छ।
  • एचआइभि/एड्स : एचआइभि/एड्सबाट पीडित रोगीहरूको अरुचि उपचार गर्नका लागि गाँजाको प्रयोग प्रभावकारी देखिएको छ तर यसका ठोस सबूतहरू भने छैनन्।
  • पीडा: सन् २०१७ मा गरिएको अध्ययनले दीर्घकालीन पीडामा गाँजा प्रभावकारी भएको सीमित प्रमाण मात्र फेला पऱ्यो। पीडा कम गर्नका लागि गाँजा सुँघ्दा(इनहेल) खाने चक्कीहरूभन्दा बढी छिटो काम गर्ने देखिएको छ। केही अध्ययनहरूले दीर्घकालीन गैर-क्यान्सर रोगीहरूको पीडा कम गर्नका लागि गाँजा उपयोगी भएको देखाएका छन्।
  • स्नायविक अवस्थाहरू: मल्टिपल स्क्लेरोसिस र शारीरिक चालका समस्याहरूमा गाँजा प्रभावकारी देखिएको छ। पक्षाघात सम्बन्धी समस्याहरूमा पनि गाँजा उपयोगी पाइएको छ।

आयुर्वेदिक  औषधीय प्रयोग

आयुर्वेदमा गाँजालाई “विजया” उल्लेख गरेको पाइन्छ। गाँजाको मात्रा थोर/धेर भएका केही आयुर्वेदिक औषधिहरू र तिनका काम निम्न रहेका छन्:

  • ‘लक्ष्मीविलास रस’ – जसलाई रुघा लाग्ने(नाकबाट पानी बग्ने), ज्वरो आउने, चिसो लाग्ने बिरामाका लागि प्रयोग गरिन्छ।
  • ‘सर्पगन्धा’ – उच्च रक्तचाप र अनिद्राका बिरामीका लागि प्रयोग गरिन्छ।
  • ‘मोदनानन्द मोदक’ – मानसिक विकार र डिप्रेसनका लागि प्रयोग गरिन्छ।
  • ‘पूर्णचन्द्रोदय रस’ – पुरुषको शीघ्रपतन/शीघ्रस्खलन रोक्नका लागि प्रयोग गरिन्छ।
  • ‘भोग सुन्दरी’ – यौनशक्ति बढाउनका लागि प्रयोग गरिन्छ। पश्चिमा ‘भियाग्रा’ जस्तै।
  • ‘रामबाण रस’ – झाडापखाला रोक्नका लागि प्रयोग गरिन्छ।
  • ‘रातोबरी’ – झाडापखाला रोक्नका लागि प्रयोग गरिन्छ।

यीदेखि बाहेक गाँजाका घरेलु केही उपयोगहरू निम्न छन्:

  • गाँजाको पातको रस निकाली अर्क बनाएर कानमा दुईतीन थोपा हाल्दा टाउको दुखेको निको हुन्छ।
  • गाँजाको चूर्ण बनाई मरीचको धूलोसँग मिलाएर बिहानबेलुका चाट्नाले रुचि बढ्छ र भोक लाग्छ।
  • गाँजालाई अन्य औषधिहरूसँगै मात्रा मिलाएर लिएमा त्यसले यौनशक्ति बढाउँछ।
  • गाँजाको पातको चूर्ण बनाई काटेको वा अन्य घाउमा लगाए, घाउ छिनै निको हुन्छ।
  • गाँजाको बीउको तेलले मालिस गर्दा जोड्नीको दुखाइ कम हुन्छ।
  • गाँजाको चूर्ण एक मात्रा, शुठो(अदुवाको धूलो) दुई मात्रा र जीराको धूलो चार मात्रा मिलाएर बनाएको मिश्रणले कोलाइटिस वा मासी(अतिसार) ठीक हुन्छ।

यीबाहेक पूर्वीय चिकित्सा पद्धतिमा गाँजा मूर्छा पर्ने, अपच, क्यान्सरको औषधिको रूपमा प्रयोग गरिन्छ र अर्को अत्यन्त सफल प्रयोग चाहिँ रक्सी र लागू पदार्थ  लत छुटाउने हो।

अन्य प्रयोग

गाँजाबाट जैविक इन्धन तथा जनावरहरूका लागि उच्च प्रोटिनयुक्त खानासहित पचासभन्दा बढी उपयोगी वस्तुहरूको औद्योगिक तथा व्यावसायिक उत्पादन गर्न सकिन्छ। गाँजाबाट तेल, गुणस्तरीय धागो, कागज, कार्डबोर्ड तथा प्लाइबोर्ड निर्माण गर्न सकिन्छ।

संस्कृतमा एउटा भनाइ छ “अति सर्वत्र वर्जयेत्” अर्थात् जहाँ पनि अति गर्नु हुन्न। गाँजा प्रयोगका विषयमा पनि यही नियम लागू हुन्छ। निर्धारित वा अल्पमात्राको गाँजाले स्वास्थ्यमा सकारात्मक असर पार्छ भने मात्रा बढ्दा त्यसले हानी पुऱ्याउँछ। गाँजाले गर्ने हानीमा केही निम्न रहेका छन्:

  • शारीरिक चाल र गतिविधिमा असन्तुलन ल्याउने,
  • श्वासप्रश्वासमा प्रणालीमा प्रभाव पार्ने,
  • मुटुको ढुकढुकी बढाउने,
  • संज्ञानात्मक क्षमता घटाउने,
  • स्मरण शक्ति कम गराउने,
  • अल्पकालीन साइकोसिस(कडा मानसिक रोग) गराउने
  • दीर्घकालीन साइकोसिस(कडा मानसिक रोग) गराउने
  • स्किजोफ्रेनिया(खण्डित मनस्कता, एक किसिमको मानसिक रोग)
  • मस्तिष्कका कोषिकाहरू, फोक्सोका कोष तथा तन्तुहरू, घाँटी र टाउकाका मांसपेशीहरूमा गम्भीर असर पार्ने
  • गर्भावस्थामा सेवन गर्दा बच्चामा कम तौल भएको, शारीरिक विकारहरूसहित जन्मिन सक्ने, वा गर्भपतन हुनसक्ने

गाँजामाथिको प्रतिबन्ध

नेपालले पनि संयुक्त राष्ट्र सङ्घ र अमेरिकाको दबाबमा मुक्त रूपमा प्रयोग हुँदै आएको गाँजामा प्रतिबन्ध लगायो। कतिपय अनुसन्धानकर्ताहरूले त चुरोट र रक्सीका ठूल्ठूला उद्योगपतिहरूको दबाबमा गाँजामाथि प्रतिबन्ध लगाइएको भनेका छन्। किनकि गाँजा चुरोट र रक्सीको बजारका लागि ठूलो चुनौती बनेर देखा पऱ्यो। एक त औषधीय रूपमै प्रयोग गरेर चुरोट र रक्सीबाट मानिसहरूलाई जोगाउन सकिने भयो, अर्को गाँजाको लत लागेपछि मानिसहरूले रक्सी र चुरोट त प्रयोग गर्ने भएनन्। आफ्नो बजार सुक्ने अवस्था देखेपछि तिनले सरकारहरूलाई प्रत्यक्ष-अप्रत्यक्ष, देशी-विदेशी दबाब दिन थाले। सरकारहरूले पनि ती उद्योगहरूबाट आउने राजस्व गुमाउन चाहेन।

यस्तै प्रभावमा गाँजालाई नार्कोटिक ड्रगको श्रेणीमा राख्‍न र प्रतिबन्ध लगाउन कैयन् अन्तर्राष्ट्रिय सन्धि-सम्झौताहरू पनि भएका छन्। नेपालले पनि सो सम्बन्धी सन्धिमा हस्ताक्षर गरेको छ। बेलाबेला फलानो ठाउँमा प्रहरीले अवैध गाँजा खेती नष्ट गऱ्यो भन्ने किसिमका समाचारहरू सञ्चार माध्यममा आइरहन्छन्।

ऐतिहासिक महत्त्व

वेदहरूमा गाँजालाई खुसी प्रदायक वा मुक्तिदाता भनिएको छ। उहिले बूढापाकाहरूले शारीरिक पीडा कम गर्न र अनिद्रा भगाउन गाँजाको प्रयोग गर्थे। भजनकीर्तन तथा चाडपर्व मनाउनुका साथै घरपालुवा जनावरहरूको उपचार गर्न पनि गाँजाको प्रयोग गरिन्थ्यो। घरमा आउने जोगीहरू वा साधूहरूलाई गाँजा दिएर खुसी बनाइन्थ्यो। हिन्दु धर्ममा गाँजाको प्रयोग महत्त्वपूर्ण मानिन्छ। नेपाल र भारतमा मनाइने फागु वा होली पर्वमा भाङ खाने चलन छ। भाङको लड्डू वा भाङको सर्बत यसबेलाका प्रिय खानेकुरा हुन्। भाङ गाँजाको पुलिङ्गी बिरूवा हो।

यसदेखि बाहेक धर्मशास्त्रमा उल्लेख भए अनुसार समुद्र मन्थनबाट अमृत उत्पन्न भएपछि त्यो अमृत शुद्धीकरण गर्नका लागि भगवान् शिवले आफ्नो शरीरबाट गाँजा उत्पन्न गरेका हुन्। त्यस्तै सो अमृतका केही थोपा जमिनमा खसेपछि गाँजा उम्रिएको भनाइ पनि रहेको छ।

गाँजाको जसरी व्याख्या गरिएता पनि हिन्दु धर्ममा गाँजालाई शिवको प्रसाद मानिन्छ। शिवरात्रिमा भगवान् शिवको आराधना पछि उनको आशीर्वाद प्राप्त गर्न र पाप मोचन गर्न गाँजा खाने चलन रहेको छ।

अन्त्यमा

भारतमा प्रख्यात लेखक शशी थरूरले गाँजामाथिको प्रतिबन्ध हट्नुपर्ने बताइसकेका छन्। योग गुरु रामदेवले पनि गाँजाको औषधिय गुण यसको आयुर्वेदमा गरिने प्रयोगको व्याख्या गर्दै गाँजामाथिको प्रतिबन्ध आयुर्वेदको विकासका लागि घातक भएको भनिसकेका छन्।

नेपालमा समेत सिंहदरबार वैद्यखानाका पदाधिकारीहरूले गाँजामा लागेको प्रतिबन्धले कतिपय औषधिहरू उत्पादन गर्न नसकी बन्द गर्नु परेको जनाएका छन्। अन्य वनस्पति विज्ञहरू, वनस्पति शास्त्रीहरू, चिकित्सकहरू, पत्रकारहरूले पनि गाँजाको पक्षमा वकालत गरिसकेका छन्।

अहिलेको टडकारो आवश्यकता भनेको गाँजाको धार्मिक र सांस्कृतिक महत्त्वलाई कदर गर्दै, यसको चिकित्सकीय र अन्य उपयोगहरूलाई प्रबर्द्धन गर्न सबै तप्काबाट गाँजामाथि लागेको प्रतिबन्ध फुकुवा गर्न दबाब दिनु हो। गाँजा खुला हुने बित्तिकै, यसको खेतीले किसान खुसी हुन्छन्, व्यापार बढ्छ, घरेलु उद्योगहरू स्थापित हुन्छन्, रोजगारी बढ्छ, देशवासीहरूले घरेलु उत्पादन प्रयोग गर्न पाउँछन्, औषधिहरू निर्माण हुन्छन्, रोग नियन्त्रण गर्न सकिन्छ र देशमा अलिकति भए पनि समृद्धि बढ्छ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here