विचार

गुरु–शिष्य सम्बन्ध प्रगाढ बनाऔंं

आज गुरुपूर्णिमा अर्थात आषाढशुक्ल पूर्णिमा हो । व्यास ऋषिलाइ गुरुजनका प्रतीकका रुपमा मान्ने गरिएको छ । पराशरका पुत्र कृष्ण दैपायन व्यास ऋषिको जन्म दिन अर्थात आषाढशुक्ल पूर्णिमालाई नै गुरु पूर्णिमााका रुपमा मनाउने गरेको पाइन्छ । आजको दिन आफूलाई शिक्षादीक्षा दिने गुरुलाई आदार–सत्कार स्वरुप मानिने पुजिने र मीठामीठा खानेकुरा दिएर मनाउने गरिएको छ ।
भारतमा त कतिपय शिक्षकले त गुरुपूर्णिमालाइ नै व्यास पूर्णिमा भनेर मानी यसैदिनदेखि नै नयाँ शैक्षिक शत्रको शुभारम्भ गर्ने गरेको पनि पाइएको छ । ‘गु’ को अर्थ अन्धकार हो भने ‘रु’ भनेको नास गर्ने । अज्ञानरुपी अन्धकारलाई ज्ञानरुपी शिक्षाको ज्योतिले नासगरी उज्यालो फैलाउने हुँदा गुरुको महत्व परापूर्वकालदेखि नै धेरै भएको दर्शाइएको छ । ज्ञान विनाको भौतिक शरीर काठ, ढुंगा, माटोको डल्लो सरह हो । आमा बावुको संयोगबाट उत्पति भएको एउटा शिशु (मानव) को शरीरमा ज्ञानको विजारोपण पश्चात मात्र उसको ज्ञानमय शरीरको पुनर्जन्म हुन्छ । तिनै ज्ञान दिने व्यक्तिलाई गुरु भन्ने गरिएको छ ।
कतिपय शव्दमा मानवलाई गुरु शिक्षा पश्चात् पुनर्जन्म भएको पनि भन्ने गरिएको छ । भनिन्छ, आमा बाबुबाट प्राप्त भौतिक शरीर नष्ट हुन्छ तर गुरुबाट ज्ञान प्राप्त ज्ञानमय शरीर अमर हुन्छ । गुरु र शिष्यको बीचमा अटुट सम्बन्धको विकास भएको हुन्छ । मानिस जन्मेदेखि मृत्युपर्यन्त जहिले पनि विद्यार्थी नै रहन्छ । भनिन्छ, जीवन सिकाइ र भोगाइ हो । मान्छेले जतिसुकै एउटा कुनै विषयमा निपूण होला तर सबै विषयमा निपूण पाउन दुर्लभ छ । शास्त्रमा भनिएको छ, ‘गुरुब्रम्हा गुरुविष्णु गुरुदेव महेश्वर ः गुरु साक्षात परंब्रम्ह तस्मै श्री गुरुवे नमः।’ ब्रम्हा विष्णु महेश्वर जे भने पनि गुरु नै हुन् साक्षात परब्रम्ह पनि गुरु नै हुन् भनेर भनिएको छ । महाभारतका अनुसार गुरुजन भनेर व्यापक अर्थ गरिएको छ । गुरुजन भन्नाले अध्यापन गराउने अध्यापकका अतिरिक्त अन्य मान्यजन जस्तै माता, पिता, पितामह आदि पनि पर्दछन् । गुरु वर्गले नै ज्ञानमार्गमा अग्रसर गराउँछन् । मन, वचन, शरीर, वाणी, ईन्द्रिय तथा बुद्धिलाई नियन्त्रण गरेर शिष्यले गुरुवाट शिक्षा हासिल गर्नुपर्छ, गुरुसेवाबाट विमुख हुनुहुँदैन ।
अहंकार र अभिमान त्याग गरि गुरु आज्ञापालन गरी सुश्रुषा गर्नु नै छात्राको परम कर्तव्य हो । गुरुले पनि आफ्ना शिष्यप्रति माया ममता देखाउने एवं पुत्रवत पालना गर्नुपर्दछ । गुरु हुनलाई स्कुल कलेजमा गएर पढाएर औपचारिक शिक्षा नै दिनुपर्छ भन्ने छैन । जो कोहीलाई पनि कसैले केहि ज्ञान दिन्छ भने त्यसलाइ त्यसले गुरुको रुपमा मान्नुपर्दछ । ज्ञानगुनका कुरा जोसंग पनि सिक्न सकिन्छ । भनिन्छ, मानिस जस्तो संस्कार मा हुर्कियौं मानिसले त्यस्तै सिक्छ । घरमा बाबुआमालाई आदर गर्न सिकेका बच्चा भए स्कुलमा गएर शिक्षकलाई आदरभाव राख्छ । अन्यथा घरमा बाबु आमालाई नै मुक्का ताक्ने छोराले स्कुलमा गएर शिक्षा दिने गुरुलाई कसरी आदर गरोस् ? हिजोआजका विद्यार्थीले शिक्षक भनेको आफूले तिरेको शुल्कबाट तलब खाने कर्मचारी हो भन्ने मात्र बुझेको छ । यो गलत संस्कारको कारणले भएको हो । वास्तवमा एउटा गुरुले दिएको शिक्षाको कुनै मोल हुँदैन । शिक्षकले विद्यार्थी पढाएवापत आफ्नो र परिवारको गुजारा धान्नको निम्ती केहि पारिश्रमिक लिनुपर्दछ । त्यो त गुरुकुलमा पनि दक्षिणाको चलन थियो । त्यतिखेर गुरु लगायत गुरुआमालाई समेत पुग्ने गरि दाल चामल ध्यू नुन आदि पुर्याउने काम गर्दथे । खै त्यतिखेरका विद्यार्थीले कहिल्यै गुरुलाई तलवदार सम्झेनन त ? । गुरु र शिष्यको सम्वन्ध गुरु र चेलाको सम्वन्ध भनेको नङ र मासुको जस्तो हुनुपर्दछ, नदी र पुल जस्तो हुनुपर्दछ, माझी र बटुवा जस्तो हुनुपर्दछ, बावु र छोराको जस्तो हुनुपर्दछ ।
गुरुलाइ अप्ठ्यारो पर्दा विद्यार्थीले सहयोग गर्नुपर्दछ, विद्यार्थीलाई अप्ठ्यारो पर्दा गुरुले सहयोग गर्नुपर्दछ । विद्यार्थीले आफ्ना गुरुप्रति गर्व गर्नुपर्दछ । गुरुले आफ्नो शिष्य अर्थात विद्यार्थीप्रति गौरव गर्नुपर्दछ । वास्तविक गुरु र चेलाबीच हुनुपर्ने सम्वन्ध यस्तो हो । तर अफशोच हिजो आज गुरु र चेलाविच पहिला जस्तो न सुमधुर सम्वन्ध नै छ, न अटल विश्वास नै छ । हिजोआज त यी २ वर्ग आपसमा विपरीत वर्ग जस्तै देखिएका छन् । हिजोआज हामीले कैयौं घटना सुन्ने गरेका छौं । विद्यार्थी फेल हुँदा पनि विद्यार्थीले गुरुमाथि हातपात गर्ने गरेका छन् । पहिला पहिला जस्तो गुरु र विद्यार्थी बीचको घनिष्ठता र आत्मीयता विरलै देख्न पाइन्छ । यसका लागि जिम्मेवार पक्ष पनि दुवै हुन् । किनकी गुरुहरू पनि हिजोआज विद्यार्थीका वारेमा त्यति धेरै चिन्तित देखिन्नन् । गुरुहरू पैसाको पछि–पछि लाग्दै ज्ञानलाई पैसामा मात्र तुलना गर्न लागेका छन् भने विद्यार्थीहरू चाहि बढि भौतिकवाद भइ गुरु र ज्ञानको वास्तविक महत्व नबुझी गुरुलाई अवहेलना गरिरहेका छन् ।
तसर्थ आजको आवश्यकता र यसपालीको गुरुपूर्णिमाको सन्देश भनेको गुरु र शिष्य बीच बढ्दै गएको दुरीलाई कम गरि सम्वन्धलाइ सुमधुर बनाउनु हो । गुरु पूर्णिमाको सन्देश हाम्रो वर्तमान शिक्षा प्रणालीले उच्च चरित्र भएको जनशक्तिको उत्पादन गरेको छ कि छैन भन्ने कुरा र विद्यार्थीले स्वाभलम्वनको शिक्षा कतिको पाएका छन ? र मुख्य कुरा त मानवताको शिक्षा कति पाए भन्ने कुरा खोतल्ने बेला भएको छ । वर्तमानका विद्यार्थीको गुरुहरूप्रति सकारात्मक धारणा बनाउने बेला भएको छ । वर्तमानको शिक्षा प्रणालीमै खरावी आएको कारणले विद्यार्थी वर्ग उश्रृङ्खलतातर्फ उन्मुख भएको पो हो कि ? यसतर्फ पनि ध्यान दिएर सोच्न आवश्यक छ । मनसा कर्मणा गुरुसेवामा समर्पित हुने सत्पे्ररणा दिनका लागि नैतिक शिक्षामा पनि जोड दिने हो कि ? यसतर्फ सोच्दै विद्यार्थी, अभिभावक एवं शिक्षकले आआफ्नो कर्तव्य र भूमिका निर्वाह गर्रौं । यसवर्षको गुरुपूर्णिमाले हामी सबैलाई सद्बुद्धि प्रदान गर्न गरोस्, सम्पूर्ण गुरुहरूप्रति हार्दिक नमन ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here