साहित्य /कला

उपन्यास ‘मृत्युको आयु’ बजारमा

पोखरा, २७ असार
जनस्वास्थ्यविज्ञ तथा लघुकथा विधाका हस्ताक्षर रवीन्द्र समीरको नयाँ उपन्यास कृति ‘मृत्युको आयु’ बजारमा आएको छ । वैदेशिक रोजगारीका लागि खाडी मुलकमा पुगेका १ व्यक्तिको मृत्युपछि उनको आत्माको दृष्टिकोणबाट लेखिएको यो नवीनतम कृतिले वैदैशिक रोजगारीमा जानेहरूको कारूणिक कहरलाई काल्पनिक भाषामा प्रस्तुत गरेको छ ।
फाइन प्रिन्टले प्रकाशन गरेको कृतिमा संरचनात्मक नयाँपनको खोजी गरिएको छ । लघुकथाका रुपमा पढ्न सकिने ससाना कथालाई उनेर लेखकले उपन्यास तयार गरेका हुन् । यही नयाँपनलाई लक्ष्य गर्दै आख्यानकार नयनराज पाण्डेले एउटा खास किसिमको ढाँचामा आइरहेको नेपाली आख्यान क्षेत्रमा ‘मृत्युको आयु’ फरक खालको कथा वाचन शैलीमा प्रस्तुत भएको जनाउँदै विप्रेषणका भरमा टिकिरहेको नेपाली अर्थतन्त्र र त्यसले व्यक्ति, परिवार र समाजमा पारिरहेको भयावह प्रभावको सशक्त एवं मार्मिक चित्रणले उपन्यासलाई समकालीन समस्यासित जोड्ने आफ्नो भूमिकामा उल्लेख गरे ।
स्वैरकाल्पनिक शैलीमा लेखिएको उपन्यास चोटिलो र मर्मस्पर्शी रहेको आख्यानकार अमर न्यौपानेले बताए । लेखक तथा व्यवसायी जीवा लामिछानेले मृतकको आत्माले कहेको यो कथा मार्मिक र अझ बढी पीडादायी भएको विचार राखे । लेखक समीरले लघुकथाहरूलाई बुनेर उपन्यास बनाउने प्रयोग गरेको बताए ।यसमा रहेका १ सय ६६ लघुकथा आफैंँमा स्वतन्त्र छन् । यिनबाट बनेको उपन्यास पनि आफंैँमा स्वतन्त्र रहेको उनको भनाइ छ ।
यसअघि चिकित्सक नाम डा. रवीन्द्र पाण्डे भएका समीरका ८ लघुकथा संग्रह, १ मुक्तक संग्रह, नियात्रा संग्रह र संस्मरण प्रकाशित छन् । पछिल्लो कृति उनको १२औं साहित्यिक कृति हो । उनले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुरस्कारलयायत थुप्रै राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कार एवं सम्मान प्राप्त पनि प्राप्त गरिसकेका छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here