साहित्य /कला

कृषि र पर्यटनले स्याङ्वासीको विदेशीनेक्रम रोकिँदै

वासुदेव पौडेल÷नीरज थकाली
मुस्ताङ, ९ भदौ
आँखै अगाडि निलगिरि र धवलागिरि हिमाल, प्रकृतिले कुँदिएका विभिन्न मनोरम छटा । यो देख्दा कसको पो मन प्रफुल्ल हुँदैन होला । हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित स्याङ गाउँ प्रकृति र संस्कृतिमा निकै धनी छ । हेरौँहेरौँ लाग्ने हिमाली दृश्यका साथै कालीगण्डकी किनारमा उब्जाइएका खेतीबाली र स्याउका बगैँचा हेर्दै स्याङ गाउँ पुग्ने पर्यटक गुजुमुच्च ढुंगा, माटो र काठबाट बनेका प्राचीन घर बस्ती, प्रत्येकका छानामा सजाइएका दाउरा, सफा घर,आँगन र घोडेटो आदिले प्रफुल्लित बन्ने गरेका छन् ।
रोजगारीको खोजीमा युवा विदेशिएका कारण ठाउँ ठाउँका गाउँबस्ती शून्य हुँदै गएको बेला स्थानीय संभावना खोज्दै यहाँका युवा कृषि र पर्यटनका क्रियाकलापमा लागेका छन् । हिमाली जिल्लामा नै पहिलो पटक उन्नत जातको गाईपालन शुरु गरिएको गाउँ हो स्याङ् । ५ वषदेखि यहाँ शुरु गरिएको गाईपालन स्थानीयवासीको राम्रो आयआर्जनको विकल्प बनेको स्थानीय युवा रत्न थकाली बताउछन् । यहाँका युवा बाख्रापालनतर्फ पनि आकर्षित भएका छन् ।
कृषिको व्यवसायीकरणसँगै विगतको निर्वाहमुखी उवा, फापर खेतीलाई छोड्दै स्थानीयवासीले पछिल्ला वर्षमा व्यावसायिक स्याउ, आलु, गाजरसहितका तरकारीखेती गर्न थालेको घरपझोङ गाउँपालिका–३ का वडाध्यक्ष महेन्द्र थकालीले बताए । ‘यहाँका युवा व्यावसायिक कृषिसँगै पर्यटनलाई आयआर्जनको रुपमा लिँदै स्वरोगार बन्नेतर्फ लागेका छन्’, उनले भने, ‘कृषि तथा पर्यटनको आकर्षणले विदेशजाने क्रम विस्तारै रोकिँदैछ, विदेशिएका युवामा पनि यही केही गर्नुपर्छ भन्ने भावना पलाएको छ ।’
कृषिप्रतिको आकर्षणसँगै स्याङलाई मुख्यमन्त्री नमूना कृषि गाउँ घोषणा गरिएको स्याङ्फोला सहकारी संस्था लिमिटेडका अध्यक्ष रहेका थकालीले जानकारी दिए । सहकारीकै सक्रियतामा स्थानीयवासीले छ वर्षअघि २८ रोपनी क्षेत्रफलमा सामूहिक स्याउखेती लगायका छन् । १ सय ६० जना शेयर सदस्य रहेको सहकारीमा स्याङ्वासीका लागि अनिवार्य एक शेयर राख्नुपर्ने व्यवस्था गरिएको छ । १ शेयरवापत ५ हजार रुपैयाँ रहेको सहकारीमा एक व्यक्तिले १० शेयर भन्दा बढी भने राख्न नपाउने व्यवस्था गरिएको छ ।
फलफूल एवं तरकारीजन्य उत्पादन हुने स्याङ सदरमुकाम जोमसोमबाट नजिकै रहेकाले बजारको समस्या छैन । गाउँबाटै जोमसोम हुँदै बेनी, बाग्लुङ जाने सडक गएकाले कृषिजन्य उत्पादनलाई बजार पाउन सहज भएको छ । थकाली संस्कृतिको जीवन्त संग्रहालय जस्तै बनेको स्याङ गाउँ घरपझोङ किल्लाबाट ६ सय वर्ष पहिला सरेको बस्ती हो । घरपझोङ किल्लाको भग्नावशेष अझै छ । उक्त किल्लाबाट राजा ठोकरचेनले शासन चलाउँथे ।
तत्कालीन समयमा घरपझोङमा पानी अभाव भएपछि यहाँका स्थानीयवासी ठिनी, स्याङ, छैरोलगायतका ठाउँमा गएर बसेको इतिहास छ । हाल स्याङमा १ सय ४३ घरधुरी छन् । कृषि र पर्यटनमा स्याङका पर्याप्त संभावनालाई दृष्टिगत गरी सरकारले पनि यहाँको विकासलाई प्राथमिकतामा राखेको सांसद प्रेमप्रसाद तुलाचनले बताए ।
पर्यटनमैत्री पूर्वाधार विकास गर्न गाउँमा अघिल्लो आर्थिक वर्षदेखि गाउँपालिकाको रु २० लाखको सहयोगमा झोनोघाङ भ्यु पार्क निर्माण शुरु गरिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताए ।
पार्क पूर्ण तयार गर्न ५ लाख बराबरको जनश्रमदानसहित रु ५० लाख लाग्ने अनुमान छ । हिमाली दृश्य अवलोकन गर्न सकिने निर्माणाधीन पार्कबाट मार्फा, छैरो, ठिनी, जोमसोम, ढुम्बा, कुछुप तेरेङा गुम्बा, समले लगायतस्थानका दृश्य देखिन्छ । हिमालका काखमा भएको पार्कका कारण पार्क परिसरमा नाउरको प्रतिमा राख्ने तयारी गरिएको छ ।
पर्यटकको आगमनसँगै हाल २ वटा होटेल सञ्चालनमा आइसकेको यस गाउँमा यही दशैंदेखि ५ वटा घरमा घरवास कार्यक्रम सञ्चालनको तयारी भइरहेको वडा सदस्य आइरल थकालीले जानकारी दिए ।
उनका अनुसार गाउँ नजिकैको प्राचीन घैलुङ गुफा यहाँको प्राकृतिक गुफा हो । गुफाभित्र ३ कोठा छन् । गुफाको संरक्षणका लागि रु ७ लाख खर्च गरी व्यवस्थित बनाउने प्रयास गरिएको छ । टसी लाखाङ गुम्बा, धे छिलिङ गुम्बा यहाँका प्राचीन सम्पदा रहेको बताउँदै उनले यिनीहरू पनि पर्यटकीय विकासका लागि महत्वपूर्ण आधार भएको धारणा राखे ।
संस्कृतिक रुपमा यस क्षेत्रको अलग्गै पहिचान रहेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाको धारणा छ । ‘यहाँका पर्यटकीय संभावनालाई उजागर गर्दै त्यसको उचित प्रवद्र्धन गरेमा गाउँमा पर्यटकको आगमन बढाउँदै उनीहरूको बसाइँ लम्ब्याउन सकिन्छ ।’ स्थानीय तहसँगको सहकार्यमा यहाँको पर्यटन प्रवद्र्धनमा नेपाल पर्यटन बोर्डले सहयोग गर्ने थपलियाले बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here