जीवन शैलीपत्रपत्रिकामनोरञ्जनराष्ट्रियसाहित्य /कला

करिश्मा भन्छिन्, ‘अब म बोल्छु’

फिल्मीखबर, काठमाण्डौ, 2019/05/31
नेपाली फिल्मकी सदाबहार अभिनेत्री करिश्मा मानन्धरले एक समय नेपाली फिल्ममा लोभलाग्दो सफलता र लोकप्रियता हासिल गरेकी थिइन् । २ दशक अगाडिकी उनी निर्विकल्प अभिनेत्री हुन् । उनको अनुहार पोस्टरमा राखेको भरमा फिल्म हेर्न दर्शकको ठूलो भीड हलसम्म पुग्ने पर्थ्यो । तर, समय सधैं एकनास कहाँ हुन्छ र ? एक जमाना उनलाई लिड हिरोइनको अफर थेगिनसक्नु आउँथ्यो । अहिले आमाको रोल अफर आउने गरेका छन् ।
तर, उनी तत्काल आमाको रोल गर्ने मनस्थितिमा छैनन् । कम उमेरमै फिल्म क्षेत्रमा होमिएकी अभिनेत्री मानन्धर अहिले एसईई परिक्षा दिएर बसेकी छन् । एसईई उत्तीर्ण भए अध्ययनलाई निरन्तरता दिने सोचमा उनी छिन् । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध भएपछि कक्षा ९ बाट उनले अध्ययन सुरु गरेकी थिइन् । तर, एसईई परिक्षाको नतिजा नआउँदै उनले बाबुरामको साथ छाडेकी छन् ।
भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएपछि करिश्माले अब आफू ताली मात्र पिट्नका लागि राजनीति नगर्ने भन्दै पार्टीबाट अलग हुने घोषणा गरिन् । राजनीतिमा सक्रिय रहँदा कुनै पनि विषयमाथि खासै आवाज उठाउने नगरेकी उनले राजनीतिबाट विश्राम लिएसँगै सामाजिक सञ्जालमार्फत् आफ्नो विचार अभिव्यक्त गर्न थालेकी छन् ।
केही दिन अगाडि उनले फेसबुकमा एक स्टाटस लेखेकी थिइन्, ‘अब म बोल्छु ।’ यसलगत्तै उनले बालाजुमा रहेको एनएफडीसीको जग्गाबारे चासो व्यक्त गरेकी छन् । सरकारले बजेट भाषणको क्रममा देशभर हडपिएका सरकारी जग्गा एक वर्षभित्र फिर्ता ल्याउने घोषणा गरेसँगै उनले फेसबुकमा स्टाटस लेख्दै एनएफडीसीको सरकारी जग्गा बेचबिखन भएको सुन्दा आफू अचम्मित भएको र तत्काल छानबिनको माग समेत गरेकी छन् ।
उनले फेसबुकमा स्टाटस लेखेकी छिन्, ‘बालाजु औद्योगिक क्षेत्रमा रहेको एनएफडिसी, जुन चलचित्र क्षेत्रको विकास प्रवद्र्धनको लागि उपलब्ध गरिएको थियो, जहाँ नेपाली चलचित्रले आफ्नो शैशव काल बिताउँदै आजको यात्रासम्म आइपुगेको छ । पर्दामा देखिने कलाकारदेखि यूनिटलाई चिया बाँड्ने  स्पोर्ट बोइसम्मको दिन रात त्यही वित्थ्यो । हरेक चलचित्रकर्मीले आफ्नो घर जस्तो महशुश गर्ने ठाउँ थियो ।’
एनएफडीसीको नाममा रहेको २७ रोपनी जग्गा अहिले खुम्चिएर ६.७५ रोपनीमा आइपुगेको छ । तर, यसबारेमा कसैले आवाज उठाएका छैनन् । चलचित्र विकास बोर्ड पनि यस विषयमा जानकार छ । तर, कुनै कदम चाल्न सकेको छैन । अभिनेत्री मानन्धरले सरकारी जग्गाप्रति कसैको चासो नगएकोमा गुनासो पोख्दै अगाडि लेखेकी छन्, ‘आश्चर्य त के लाग्छ भने सारा सञ्चारकर्मी र चलचित्रकर्मीलाई थाहा हुँदाहुँदै पनि कोही चुक्क बोल्नुहुन्न । यीनले जे गर्लान्, म बोल्छु ।’
उनले जग्गाप्रति चासो व्यक्त गर्दै फेसबुकमा अगाडि लेखेकी छन्, ‘२७ रोपनीको त्यो जग्गा, जहाँ भवन, स्टूडियो, उपकरणहरु सबै थिए । पुराना नेपाली चलचित्रका नेगेटिभहरु त्यही छन्, जुन नेपाली चलचित्रको इतिहास हो । तत्कालिन लिज होल्डर डीबी थापाले उद्धव पौडेललाई लिजमा बेच्नुभयो । त्यसपछि न त्यो ठाउँको संरक्षण भयो, न सिनेमाका काम जसरी हुन्थ्यो त्यो नै भयो ।’
केही दिनअघि एक कार्यक्रममा मन्तव्य राख्ने क्रममा सुचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पनि बालाजुमा रहेको एनएफडीसीको सरकारी जग्गाबारे चासो राखेका थिए । उनले उक्त जग्गा खोज्न चलचित्र विकास बोर्डलाई निर्देशन समेत दिएका छन् । त्यहाँ अत्याधुनिक फिल्म स्टुडियो बनाउने सरकारको तयारी रहेको उनले बताएका थिए । सरकारले यस वर्षको बजेटमा काठमाडौंमा स्टुडियो निर्माण गर्ने घोषणा गरेको छ, जसका लागि पर्याप्य जग्गाको खाँचो पर्छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here