स्वास्थ्य

पिनास हुँदा खानेकुरामा ध्यान दिनुपर्छ

पोखरा ः जाडोको मौसम छ । यो मौसममा रुघाखोकीले त सताउँछ नै, त्यो सँगसँगै पिनासले पनि अत्यधिक सताउने गर्छ । पिनासले सताएपछि थुप्रै समस्याहरू साथसाथै आउने गर्छ । आँखा चर्कोसँग दुख्ने, नाकको डाँडी दुख्ने, टाउको दुख्ने जस्ता समस्याहरूले जीवन नै अस्तव्यस्त बनाइदिन्छ ।
पिनासलाई अंग्रेजी भाषामा साइनासाइटिस भनिन्छ । हाम्रो नाकको नरम हड्डीको दुवैतर्फ एउटा एउटा खाली भाग हुने गर्छ, जसलाई साइनस भन्ने गरिन्छ । सामान्य अवस्थामा त्यो भाग हावाले भरिएको हुन्छ । तर कुनै पनि कारणले जब त्यो भागको नरम झिल्ली जस्तो तन्तुमा संक्रमण हुन्छ, तब त्यस अवस्थालाई साइनासाइटिस अर्थात् पिनास भन्ने गरिन्छ ।
सबैलाई थाहा भएकै कुरा हो, नाकमा म्युकस हुने गर्छ । तर जब पिनास हुन्छ, खाली ठाउँबाट त्यो म्युकस बाहिर निस्कन सक्दैन । त्यस क्षेत्रमा अवरोध आउँछ । त्यस क्षेत्रमा हुने पातलो झिल्ली संक्रमित हुन पुग्छ ।
पिनासका लक्षणहरू
–पिनास भएपछि पहेंलो बाक्लो सिंगान आउँछ ।
–नाकबाट बग्ने त्यस्ता सिंगान दुर्ग्न्धित खालको हुन्छ ।
–संक्रमण गम्भीर हुँदै गएपछि सिंगानसँगै रगत पनि देखापर्न सक्छ ।
–संक्रमितले गन्ध थाहा पाउन सक्दैन ।
–नाकबाट सास फेर्न गाह्रो हुन थाल्छ । दमका जस्तै लक्षण देखापर्न थाल्छ ।
किन हुन्छ पिनास ?
पिनास हुनुको एउटै कारण भनेको साइनस हड्डीमा हुने संक्रमण हो । त्यो संक्रमण हुनुको मुख्य कारण चाहिँ चिसो नै हो । अत्यधिक मात्रामा चिसो पदार्थ (फ्रिजका वस्तुहरू चिसै खाने) सेवन तथा चिसोमा हिँड्डुल गर्नेहरूमा यो समस्या बढी देखापर्छ । त्यसैगरी, वातावरणीय प्रदूषण, धूलोधुवाले पनि यो समस्या पैदा गराइदिने गर्छ ।
कतिपयलाई चाहिँ घरपालुवा जनावर तथा बोटविरुवाहरूको एलर्जीका कारणले पनि यो समस्या देखापर्न सक्छ । त्यसबाहेक, नाकको हड्डी बांगो हुने समस्या भएकाहरूमा यो समस्या देखापर्ने सम्भावना बढी रहन्छ ।
पिनास हुनुको अर्को कारण चाहिँ शरीरको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) कमजोर हुनु पनि हो । प्रतिरक्षा प्रणाली कमजोर हुँदा मानिसलाई रुघाखोकीले सजिलै लाग्ने गर्छ । जब कुनै व्यक्तिलाई रुघाखोकीले सताइरहन्छ र त्यो लामो समयसम्म रहिरहन्छ भने त्यस्ता व्यक्तिको साइनस हड्डीमा संक्रमण हुने सम्भावना पनि बढेर जान्छ । त्यस स्थितिमा पनि पिनास हुने गर्छ ।
बच्न के गर्ने ?
पिनासले सामान्यतः धुलो धुवा अनि चिसोको स्थितिमा बढी सताउने भएकोले त्यसबाट बच्ने सबैभन्दा प्रमुख उपाय भनेकै त्यो स्थितिबाट बच्नु पा पन्छनु हो । अर्थात् पिनासबाट बच्नको लागि सबैभन्दा पहिले धुलोधुवा र चिसोबाट बच्नुपर्छ । चिसो मौसममा तथा धुलो धुवाभएको वातावरणमा हिँड्डुल गर्दा मास्क लगाउने गर्नुपर्छ ।
चिसोबाट बच्नु भनेको आफू बस्ने कोठाहरू पनि न्यानो हुनु जरुरी हुन्छ । त्यसका लागि सकेसम्म घाम लाग्ने कोठामा बस्ने, दिनहुँ घाममा केही समय बस्ने गर्नु पनि पिनासमा लाभदायक हुन्छ । एलर्जीका कारण पिनास भएको हो भने यथासक्य एलर्जी गराउन सक्ने प्रमुख कारणहरू धुलोधुवा तथा घरपालुवा जनावरबाट टाढा रहनुपर्छ ।
पिनासबाट बच्ने सबैभन्दा उत्तम उपायहरूमा प्रशस्त मात्रामा पानी तथा झोल पदार्थहरूको सेवन गर्नुपनि हो । प्रशस्त मात्रामा पानीको सेवनले शरीरका विषाक्त पदार्थहरू बाहिर निस्कन्छ भने झोल पदार्थहरूको सेवनले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ ।
पिनास हुने मानिसले आफ्ना प्रतिरक्षा प्रणाली बलियो बनाउने खानेकुराहरू प्रशस्त खाने गर्नुपर्छ । चिसो मौसममा पाइने, भिटामीन सी प्रशस्त मात्रामा पाइने सुन्तला , कागती जस्ता फलफूलको सेवनले पनि पिनासमा राहत मिल्छ ।
पिनासबाट मुक्ति पाउने अर्को उपाय भनेको चिसोबाट बच्ने पनि हो । पिनासको समस्या हुनेहरूले फ्रिजको चिसो खानेकुराहरू, चिसोपानी तथा चिसो पेयपदार्थहरूबाट जतिसक्यो टाढा रहनु नै सबैभन्दा उत्तम उपचार हो । त्यसैगरी, शरीरलाई चिसोबाट बचाउन न्यानो राख्ने, टाउकोमा टोपी लगाउने गर्नाले पिनासमा धेरै राहत मिल्छ । पिनास हुँदा दूध र बेसारको सेवनले पनि राहत मिल्छ ।
पिनासको संक्रमणमा जलनेती गर्दा पनि आराम मिल्छ । खासगरी, एउटा करुवा जस्तो टुटी भएको भाडामा नून र मनतातो पानी राखेर नाकको एउटा प्वालबाट पानी पठाएर नाकको अर्को प्वालबाट पानी निकाल्ने प्रक्रियालाई पालोपालो गर्ने हो भने पनि हड्डीको संक्रमण पखालिने, नूनतातोपानीले सेकिने भएको हुँदा निक्कै राहत मिल्छ र विस्तारै संक्रमण निको हुँदै जान्छ ।
पिनासको संक्रमण हुने व्यक्तिहरूले आफ्नो खानपीनमा पनि विशेष ध्यान दिनुपर्छ । विशेष गरेर शरीरको रोग प्रतिरोधी क्षमता बढाउने फलफूल, सागपात तथा खानेकुराहरूमा बल गर्नुपर्छ । पिनास हुने व्यक्तिले खानपीनमा विशेष ध्यान दिनुपर्ने कुुरा के हो भने सकेसम्म कुहाएर बनाइएका तथा बासी खानेकुराहरू, चिसा खानेकुराहरू खानु हुँदैन । कुहाएर बनाइएका खानेकुराहरू भन्नाले गुन्द्रक, सिन्की, बोतलमा हालिएका पुराना अचारहरू आदि बुझ्नुपर्छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here