अन्तरवार्ता

अन्तर्राष्ट्रिय सिरिजमा नेपालको क्लिन स्वीप

पोखरा, २९ असार
मलेसियालाई दोश्रो टि–२० मा ६ रनले पराजित गर्दै नेपालले २ वटा टि–२० अन्तर्राष्ट्रियको सिरिज २–० ले जित्दै इतिहासकै पहिलो टि–२० अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप जित हाँसिल गरेको छ । पहिलो टि–२० मा नेपाल ७ विकेटले विजयी भएको थियो । यस अघि नेपालले युएईलाई २–१ ले पराजित गर्दै सिरिज जित हँसिल गरे पनि क्लिन स्विप गरेको थिएन । नेपालले जितेको यो दोस्रो टि–२० अन्तर्राष्ट्रिय सिरिज हो ।
किनरारा ओभल मैदानमा सम्पन्न खेलमा नेपालले टस जितेर ब्याटिंग गर्दै दिएको १ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर १ सयउ ६७ रन बनाउन सक्यो ।
लक्ष्य पछ्याउने क्रममा मलेसियाले आक्रामक सुरुवात गर्यो । पहिलो विकेटका लागि भिरनदिप सिंह र सयद अजिजले ७५ रनको साझेदारी गरे । दशौँ ओभरमा अविनाश बोहराले भिरनदिपलाई विकेट किपर बिनोद भण्डारीबाट क्याच आउट गराएर साझेदारी तोडे । अघिल्लो खेलमा अर्धशतक बनाएका भिरनदिपले २३ बलमा २ चौका र १ छक्का मदतले २३ रन बनाए ।
पहिलो विकेट गुमे पछि भने मलेसियाले लगातार विकेट गुमाउन पुग्यो । अर्धशतक पुरा गरेर सयद अजिजलाई सोमपालले ११ औं ओभरमा क्याच आउट गराए । उनले ३७ बलमा ७ चौका र १ छक्का मदतले ५० रन बनाए । त्यसपहि सोमपालले १३ औं ओभरमा १० रन बनाएका शफिक शरिफलाई क्याच आउट गराए। सन्दिप लामिछानेले ७ रन बनाएका अनवर अरुदीनलाई क्याच आउट गराए । कप्तान अहमद फैज पनि १७ रन बनाएर आउट भए । मलेसिया १६ औं ओभरमा १ सय १५ र ५ को नाजुक अवस्थामा पुग्यो ।
त्यसपछि छैठौं नम्बरमा ब्याटिंग गर्न आएका अमिनुद्दीन रामलेले विस्फोटक ब्याटिंग गर्दै मलेसियाको सम्भावना कायम राखे । कप्तान पारसले गरेको १७ औं ओभरको पहिलो , चौथो र पाँचौ बलमा अमिनुद्दीनले छक्का प्रहार गरे । सोहि ओभरको अन्तिम बलमा अर्को छक्का हान्ने चक्करमा उनि लंग अफमा क्याच समातिन पुगे। अमिनुद्दीनले ११ बलमा ३ छक्का मदतले २४ रन बनाए ।
अन्तिम २ ओभरमा मलेसियालाई २८ रन आवस्यक हुँदा करन केसीले गरेको १९ औं ओभरको पहिलो २ बलमा मुहमद स्याहादतले चौका र छक्का प्रहार गरे। ओभरको पाँचौ बलमा करनले मुनिएन्डीलाई क्क्याच आउट गराएर सातौँ विकेट दिलाए ।
अन्तिम ओभरमा मलेसियालाई ६ बलमा १४ रन आवस्यक थियो । बलिंग गर्न आए अविनाश बोहरा । पहिलो बलमा लेग बाइमा १ रन आयो भने दोश्रो बलमा स्याहादतले २ रन लिए। अविनाशले त्यसपछि लगातार ३ बलमा रन दिएनन् । अन्तिम बलमा स्याहादतले चौका प्रहार गरे पनि जित दिलाउन सकेनन् । स्याहादतले अविजित ११ बलमा २१ रन बनाए जुन क्रममा २ चौका र १ छक्का प्रहार गरे । नेपालको बलिंगमा सोमपाल कामि र सन्दिप लामिछाने ले २÷२ विकेट तथा करन केसी, अविनाश बोहरा र पारस खड्काले १÷१ विकेट लिए ।
विनोदको विस्फोटक अर्धशतक
किनरारा ओभल मैदानमा टस जितेर नेपालले ब्याटिंग गर्दै नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल तयार गरेको थियो । ओपनिंगमा आएका पवन सर्राफ र पारस खड्काले पहिलो विकेटको लागि ३४ रनको साझेदारी गरे । पाँचौ ओभरमा सर्राफ रन आउट हुन पुगे जस अघि उनले ११ बलमा २ चौका मदतले १० रन बनाए ।
पवनको विकेट पछि ज्ञानेन्द्र मल्लले १ छक्का प्रहार गरे पनि फित्री शामलाई ठूलो सट खेल्ने चक्करमा विकेट दिन पुगे । ३ बलमा उनले ७ रन बनाए । ज्ञानेन्द्रको विकेट लगत्तै अर्को बलमा पारस खड्का पनि फित्रीको बलमा क्याच आउट हुन पुगे । १९ बलमा पारसले २ चौका र २ छक्का प्रहार गर्दै २३ रन बनाए । ४२÷३ पुगेको नेपालको योगफललाई त्यसपछि शरद भेसावकर र रोहित पौडेलले अघि बढाए ।
१३ औं ओभरमा रोहित सयद अजिजबाट क्याच आउट हुन पुगे । २३ बलमा उनले १९ रन बनाए जुन क्रममा शरदसंग ४६ रनको साझेदारी गरे । त्यसपछि ब्याटिंग गर्न आएका बिनोद भण्डारीले आक्रामक सटहरु खेल्दै शरदलाई साथ दिए । शरदलाई १६ औं ओभरमा मुनिएन्डीले क्याच आउट गरे जसले २८ बलमा ४ चौका र २ छक्का मदतले ४० रन बनाए ।
शरदको विकेट पछि करन केसीले १० बलमा १ चौका र १ छक्का प्रहार गर्दै १६ रन बनाएर आउट भए । त्यस पछि बिनोद भण्डारीले आक्रामक ब्याटिंग गर्दै नेपालको इनिंग अन्त्य गरे । इनिंगको अन्तिम बलमा उनले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पनि पुरा गरे । उनले मात्र २५ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बिनोदको यो पहिलो अर्धशतक हो । मलेसियाको बलिंगमा फित्री शामले ३ विकेट, सयद अजिज र एस मुनिएन्डीले १ विकेट लिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here