अन्तरवार्ता

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको एक वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो । यसै अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरिँदैछ । सरकारले संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च अधिकारी एवं नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उद्योगी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं सञ्चारकर्मीलाई आमन्त्रण गरिएको छ । संविधान दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
नेपालको लिखित संविधान मध्ये यो सातौँ संविधान हो । यसअघिका सबै संविधान आयोग वा विभिन्न रुपमा निर्माण भएपनि जनताका प्रतिनिधिमार्फत जारी भएको संविधान भने यो नै पहिलो हो ।

संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बुधबार बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति थियो ।

समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी प्रदर्शनका साथै काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गरिएको छ ।

त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा रोचक कार्यक्रम प्रस्तुत गरिएकाे छ । साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीले विशेष सम्बोधन गरे ।

त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गरिने सञ्चार प्रविधि मन्त्रालयले जनाएको छ ।

संविधान दिवस मनाउनका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो सम्पूर्ण तयारी पूरा गरेको छ । यस वर्ष सर्वसाधारणले पनि सहजतापूर्वक समारोह हेर्न पाउने गरी तयारीको काम भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

यसअघिका वर्षमा विशिष्ट व्यक्तिका लागि मात्र बसेर हेर्ने व्यवस्थापनको काम गर्दैआएको कामपाले यस पटकदेखि सर्वसाधारणको लागि पनि व्यवस्थापन गरेको छ । कामनपाका अनुसार सर्वसाधारणका लागि बस्नका लागि कुर्सी, पिउने पानी र स्वास्थ्योपचार केन्द्र राखिएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here