अन्तरवार्ता

उपनिर्वाचनको तयारी तीव्र

काठमाडौं, २६ असार
निर्वाचन आयोगले ३५ जिल्लामा विभिन्न कारणले रिक्त रहेका ४७ स्थानमा उपनिर्वाचन गराउनका लागि गृहकार्य सुरु गरेको छ । कात्तिक मसान्तभित्र रिक्त रहेका प्रदेशसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचन गरिसक्ने आयोगको तयारी छ ।
२०७४ मा सम्पन्न ३ तह (स्थानीय, प्रदेश र प्रतिनिधिसभा) को निर्वाचनपछि १ प्रतिनिधिसभा सांसद, ३ प्रदेशसभा सांसद, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष र १ उपाध्यक्षको निधन भइसकेको छ । ४७ मध्ये ९ जनाबाहेक अरु सबै जनप्रतिनिधिको निधन भएका कारण स्थान रिक्त छ । ५ जना वडा अध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित, १ जनाको राजीनामा र २ स्थान अन्य कारणले रिक्त भएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले रिक्त रहेका ती स्थानमा आगामी कात्तिकभित्रै उपनिर्वाचन सम्पन्न गर्नेगरी तयारी भइरहेको बताए ।
‘कात्तिकभित्र उपनिर्वाचन सम्पन्न गरिसक्ने गरी आयोगले तयारी थालेको छ’, प्रवक्ता खरेलले भने, ‘निर्वाचनको मिति तोक्ने बारेमा गृहकार्य भइरहेको छ ।’ स्थानीय तह निर्वाचनको मिति आयोगसँग समन्वय गरी सरकारले तोक्छ भने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति आयोगले सरकारसँग समन्वय गरी तोक्ने कानुनी व्यवस्था छ ।
जसमा प्रतिनिधिसभातर्फ १, प्रदेशसभातर्फ ३ सांसद, उपमहानगरपालिकाको १ प्रमुख , ३ गाउँपािलका प्रमुख, १ उपप्रमुख र ३८ वडा अध्यक्षका लागि निर्वाचन गर्नुपर्नेछ । निर्वाचन आयोगसँग भएको तथ्यांकअनुसार ती स्थानमा ०७४ सालको निर्वाचनमा ४ लाख २५ हजार ७४ मतदाता रहेका थिए । २४१ स्थानमा मतदान केन्द्र रहनेछ ।
आयोगले कात्तिक मसान्तभित्र उपनिर्वाचन गराउने तयारी थालेको छ । उपनिर्वाचनका लागि आवश्यक सामग्रीको तथ्यांक संकलन, बजेटको आँकलन र कार्य्विधिको विषयमा आयोगले आन्तरिक गृहकार्य गरिरहेको सहसचिव खरेलले बताए । आयोगले उपनिर्वाचनका लागि मतदाता नामावली संकलनको काम पनि अघि बढाएको छ । उपनिर्वाचन हुने क्षेत्रमा मिति तोकिएपछि सो क्षेत्रको नामावली संकलन र अद्यावधिक हुनेछैन ।
आयोगले त्यसअघि नै छुट भएकाहरुको नामावली संकलन गर्नेगरी काम गरिरहेको उनले जानकारी दिए । नामावली अद्यावधिक र संशोधन गर्नुपर्ने भए मिति तोक्नुअघि नै दर्ता गरिसक्न पनि आग्रह गरेको छ । उपनिर्वाचन हुने आफ्नो जिल्लास्थित जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र केही स्थानमा इलाका तहमा नामावली दर्ताको काम भइरहेको छ ।

कहाँ कहाँ हुनेछ निर्वाचन ?
१ प्रतिनिधिसभा सदस्य, ३ प्रदेशसभा सदस्य, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र अरु वडा अध्यक्षका लागि उपनिर्वाचन हुनेछ । पर्यटनमन्त्री समेत रहेका कास्की–२ का सांसद रवीन्द्र अधिकारीको ताप्लेजुङको पाथीभरामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भयो । अधिकारीको निधनसँगै सो क्षेत्र रिक्त छ ।
यस्तै, ३ वटा प्रदेशसभा सांसदहरुको पनि निधन भएपछि स्थान रिक्त छ । भक्तपुर प्रदेशसभा १ को (क) का सांसद हरिशरण लामिछानेको २०७५ वैशाख ३ गते निधन भएको थियो । त्यस्तै, बाग्लुङ प्रदेशसभा २ को (ख)का सांसद टेकबहादुर घर्तीमगर र दाङ प्रदेशसभा ३ को (ख) का सांसद उत्तर कुमार वलीको पनि निधन भएपछि सो क्षेत्र रिक्त छ ।
त्यस्तै, स्थानीय तहतर्फ धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, पाँचथर फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङ र महोत्तरी पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवालको निधन भएपछि सो स्थानमा उपनिर्वाचन हुनेछ ।
त्यस्तै, संखुवासभा खाँदबारी नगरपालिका ३ नम्बर वडाध्यक्ष तोयानाथ ढुंगाना चेलबेटी बेचविखनको मुद्दामा जेल परेका थिए । उनको २०७४ फागुनमा जेलमै मृत्यु भएको थियो । महोत्तरी मटिहानी नगरपालिका वडा ६ का अध्यक्ष सञ्जयकुमार मण्डलले २०७४ माघमा राजीनामा दिएका थिए । ६ जना वडाध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित भएका कारण ती वडा रिक्त छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here