अन्तरवार्ता

एनआएनएको युवा संयोजकमा पोखराका गुरुङ विजयी

पोखरा, १ कात्तिक
गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनका काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनबाट कुमार पन्त अध्यक्षमा निर्वाचित भएक छन् । यसैगरी पोखराका हिमाल गुरुङ पनि एनआएनए अन्तर्राष्ट्रिय समन्वय समितिको युवा संयोजकमा निर्वाचित भएका छन् ।
हिमालले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र प्रताप खनाल र सुदीप कार्कीलाई पराजित गरेका हुन् । विजयी हिमालले ७ सय ६८ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी प्रत्यासी स्वतन्त्रले ७ सय ३३ र अर्का प्रत्यासी सुदीपले ६ सय ५५ मत प्राप्त गरे ।
संयोजकमा विजयी हिमालले एनआरएनए नेदरल्याण्डको नेतृत्व समेत सम्हालिसकेका छन् । आफ्नो कार्यकालमा सबैभन्दा कान्छा अध्यक्ष रहेका गुरुङ नेदरल्याण्ड्समा गैरआवासीय नेपाली संघको अध्यक्ष हुँदा गरेका विभिन्न सामाजिक कामका कारण चर्चित छन् । उनी अघिल्लो कार्यकालमा समितिको सदस्य थिए ।
उनले यसअघि नेपालको महाभूकम्प र वाढीपीडितका लागि सहयोग संकलन गरी नेपालको विभिन्न क्षेत्रमा सहयोग गरेका थिए । उनले नेपालको ग्रामिण भेगमा रहेको विभिन्न समेत विद्यालयमा सहयोग गरेका छन् ।
विजयी भएपछि संयोजक हिमालले आफूलाई विजयी गराउन सहयोग गर्ने सबैप्रति आभार र धन्यवाद प्रकट गरेका छन् । उनले दोस्रो पुस्ताका एनआरएनलाई एनआरएन अभियानको मूलप्रवाहमा समाहित गराउने आफ्नो मुख्य एजेण्डा रहेको बताए ।
यसैगरी विदेशमा कमाएको शिप र पुँजीलाई स्वदेशमा लगानी गरी समृद्ध नेपाल निर्माणमा भूमिका खेल्ने, विदेशमा रहेको सबै नेपाली युवाबीच आपसी भाइचरा विस्तार र बलियो सम्बन्ध स्थापित गर्न पहल गर्ने नेपालमा आइपरेको विपत्तिमा विदेशस्थित विभिन्न संघसंस्थासंग समन्वय गरी सहयोग भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
नेपालको संसदमा विचाराधीन नागरिकता ऐन अघि बढाउन पहल गर्ने नेपालका सामुदायिक विद्यालयको स्तरोन्नति, गुणस्तरीय शिक्षाका साथै भौतिक संरचना निर्माणका लागि आवश्यक समन्यवकारी भूमिका खेल्ने समेत उनको लक्ष्य छ ।
यसैगरी विदेशस्थित नेपाली नयाँ युवा पिंढीमा नेपालबारे भावना जागृत गराएर स्वदेश फर्काउन समन्वयकारी भूमिका खेल्ने, नेपालको खेलकुदका साथै विभिन्न आयोजना निर्माणमा लगानी भित्र्याउन पहल गर्ने गुरुङको लक्ष्य छ ।
सञ्चार तथा प्रविधिमा दोस्रो पुस्ताका एनआरएनले आर्जेको सीप तथा नेपालमा सदुपयोग तथा परिचालन गरी समृद्ध नेपालको यात्रामा सहयोग पुर्याउने समेत आफ्नो लक्ष्य रहेको उनले बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here