अन्तरवार्ता

एमसीसीद्वारा मुख्यमन्त्री–११ पराजित

पोखरा, २६ कात्तिक
इंग्ल्याण्डको मेरिलेबन क्रिकेट क्लब (एमसीसी) को नेपाल भ्रमण अन्तर्गत पोखरामा मंगलबार सम्पन्न टि–२० मा एमसीसीले मुख्यमन्त्री–११ टिमलाई रोमाञ्चक खेलमा ४ विकेटले पराजित गरेको छ । पोखरा भ्रमण अन्तर्गत एमसीसीले सोमबार स्थानीय टिम पोखरा–११ लाई ४२ रनले पराजित गरेको थियो । पोखरा रंगाशाला स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गर्दै एमसीसीले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा मुख्य मन्त्री–११ ले २० ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाएर १ सय ३८ रन बनाए पछि थोरै अन्तरको हार बेहोर्यो ।
लक्ष्य पछ्याउने क्रममा स्थानीय टिमका अनिल गुरुङले सर्वाधिक ४० रन बनाए जुनक्रममा ३६ बलमा ८ चौका प्रहार गरे । यस्तै विशाल पौडेलले अविजित २६, गोविन्द प्रधानले २४ तथा बिपिन खत्रीले अविजित १६ रन बनाए । विशालले १४ बलमा २ चौका र २ छक्का तथा बिपिनले १३ बलमा १ चौका र १ छक्का प्रहार गरेता पनि जित दिलाउन सकेनन् ।
एमसीसीका देब्रे हाते स्पिनर एड योङ्गले सर्वा्धिक ४ विकेट लिंदा ४ ओभरमा मात्र १४ रन खर्चंदै जितमा अहम योगदान दिए । टम विस्लेले २ तथा माइल्स ह्यामन्डले १ विकेट लिए । योङनै खेलको प्लेयर अफ द म्याच चुनिए ।
यस अघि टस हारेर ब्याटिंग गरेको एमसीसीले २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनाएको थियो। उसको लागि पूर्व पाकिस्तान राष्ट्रिय क्रिकेटर समेत रहेका यासिर अराफातले सर्वाधिक ५६ रन बनाए । उनले मात्र २८ बलमा ३ चौका र ५ चक्का प्रहार गरे। यस्तै विल भान्डरस्परले २०, एड योङ्गले २० तथा ओलिभन हानोनले १७ रन बनाए । मुख्यमन्त्री ११ को बलिङ्गमा बिशाल पौडेल, अमृत गुरुङ, सुबास भण्डारी, किशोर महतो, बिपिन खत्री र दिपेश श्रेष्ठले समान १÷१ विकेट लिए ।
एमसीसीले नेपाल भ्रमण अन्तर्गत काठमाडौँमा नेपाली अन्डर–१९ र नेपाली सिनियर टिमसंग ४ वटा खेलहरु खेलेर पोखरा प्रस्थान गरेको हो। नेपाली यु १९ टिमलाई ३८ रनले पराजित गरेको एमसीसीले नेपाली सिनियर टिमसंग एकदिवसीयमा ५ विकेटको हार बेहोरेको थियो । त्यसपछि नेपाललाई तिन दिवसीय प्रथम श्रेणी खेलमा २०८ रनले पराजित गरेको एमसीसीले शनिवार सम्पन्न अन्तिम खेलमा नेपाल यु–१९ र सिनियर खेलाडी मिश्रित टिमलाई १ सय १३ रनले पराजित गरेको थियो ।
पोखरामा २ वटा खेल पछि एमसिसीले पोखरा स्थित केही विद्यालयहरुमा पुगेर क्रिकेट खेलको प्रचार समेत गर्ने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । मुख्यमन्त्री ११ को टिम व्यवस्थापन सम्हालेका चन्द्र गुरुङ (जिम्मी)ले टिमले उत्कृष्ट रुपमा जवाफी व्याटिङ गरेको प्रतिक्रिया दिए । उनले ‘हाम्रा बलर समेत हामी उत्कृष्ट छौं भन्ने प्रदर्शित गरे तर अन्तिम २ ओभरमा एमसीसीले रन जोड्न सफल भयो, हाम्रो टार्गेट १ सय २० रनमा रोक्ने थियो तर सफल भएनौ र झिने रनले हार्यौं ।’

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here