अन्तरवार्ता

ओलीसँगको सहमतिमै भारतले नयाँ नक्सा सार्वजनिक गरेको हो: देउवा

sher b deuwa

पोखरा, मंसिर ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सहमतिमै भारतले नयाँ नक्सा जारी गरेको आरोप लगाएका छन्।

शनिबार पोखराको बाटुलेचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले नेपाली भू-भाग कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतमा गाभ्नेगरी ओलीले नै सहमति गरेको दाबी गरेका हुन्। ‘ओलीले भारतसँग सहमति गरेर नेपाली भू-भागसहित भारतले नयाँ नक्सा सार्वजनिक गरेको हुन सक्छ’ देउवाले भने, ‘अहिले नेपाली सिमा मिचिदा पनि सरकारले कुनै उच्चस्तरीय कूटनीतिक पहल नगरेर सहमतिमा नक्सा जारी भएको पुष्टि गरेको छ।’

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले वर्तमान सरकारले जनतालाई अनावश्यक कर थुपार्ने र भ्रष्टाचार बाहेक केही गर्न नसकेको पनि आरोप लगाए। ‘यो सरकारले कर बढाउने र भ्रष्टाचार गर्ने बाहेक केही गर्न सकेको छैन’ देउवाले भने,‘उपनिर्वाचन सरकारका यस्तै जनविरोधी गतिविधि विपरीतको जनमत बन्नुपर्छ।’

देउवाले सरकारले विभिन्न क्षेत्रमा उपभोक्ता समितिको नाममा पनि करोडौं भ्रष्टाचार गरेको आरोप लगाए। सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न खोज्नु, प्रदेशको नामाकरण नगर्नु लगायतका गतिविधिले संविधानको मुल मर्ममै प्रहार गर्न खोजेको पनि देउवाको भनाइ थियो।

देउवाले कास्की–२ का उम्मेदवार खेमराज पौडेलको जित कास्कीका जनताको जित हुने पनि बताए। ‘५० वर्षदेखि कास्कीका जनताको सेवा गरेका खेमराजजी अहिले तपाईँहरुको उम्मेदवार बन्नु भएको छ’ देउवाले भने, ‘मलाई विश्वास छ तपाईँहरुको मत मनबाटै उहाँलाई हुनेछ।’

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here