अन्तरवार्ता

कमजोर जगमा उभिएको मित्रता

 यति बेला हलमा दुई नेपाली चलचित्र चलिरहेका छन्, ‘वीरविक्रम–२’ र ‘जात्रै जात्रा’। यी दुवै फिल्म अघिल्लो फिल्मका स्क्विेल र सिरिज हुन्। यी फिल्मलाई अघिल्ला कथासँग तुलना गरिने छ। वीरविक्रमभन्दा वीरविक्रम–२ राम्रो बनेको छ। फिल्मका पात्रदेखि प्राकृतिक सौन्दर्य, कथा बुन्ने शैली र वीरविक्रमको दमदार मित्रताले फिल्म लायक बनाएको छ। यति हुँदाहुँदै पनि फिल्मको कथावस्तु निकै खल्लो प्रतीत हुन्छ।

अप्पर मुस्ताङको कुन्जो गाउँबाट कथा सुरु हुन्छ। त्यही गाउँका दुई साथी हुन्छन् वीर (पल शाह) र विक्रम (नाजिर हुसेन)। उनीहरूको मित्रता पूरै गाउँमा चर्चित छ। उनीहरूको स्वभावप्रति पनि गाउँले परिचित छन्। तर सानैमा गाउँ छोडेर हिँडेका यी दुई रोजगारीका लागि कतारसम्म पुगेका हुन्छन्।

एक दिन छुट्टीको समय गाउँ फर्कंदा उनीहरूको भेट बादल (वर्षा सिवाकोटी)कमजोर जगमा उभिएको मित्रता सँग हुन्छ। वीर र विक्रम दुवैको मन बादलमाथि पोखिन्छ। गाउँमा बाघबहादुर (बुद्धि तामाङ) पनि छ। उसले याकमा सिन्डिकेट लगाएको छ। बाघबहादुर पनि सानैदेखि बादललाई मन पराउँछ। तर बादलले कसलाई चुन्छिन् त ? फिल्म यसैको वरिपरि घुमेको छ।

गाउँले परिवेश र प्राकृतिक सौन्दर्यलाई फिल्मले प्राथमिकता दिएको छ। प्रत्येक सट्मा लोकेसनको ख्याल गरिएको छ। यो फिल्मको राम्रो पक्ष हो। क्यारेक्टरलाई कसरी डेभलप गर्ने भन्ने कुरामा ध्यान दिइएको छ। फिल्मका चारैजना कलाकारलाई आफ्नो भूमिकाको औचित्य साबित गर्न प्रशस्त समय दिइएको छ। दुई घण्टा १० मिनेटको फिल्म हेरुन्जेल दर्शकले झिँजो मान्ने ठाउँ छैन। यद्यपि फिल्मको इन्डिङलाई आवश्यकभन्दा ज्यादा तन्काइएको छ।

नायक पल शाहको भूमिका हेर्ने हो भने उनी निकै राम्रो रूपमा प्रस्तुत भएका छन्। फिल्मका लागि पलभन्दा पहिले अनुबन्धित भएका नायक आकाश श्रेष्ठले फिल्म नछोडेको भए राम्रो हुन्थ्यो। कागजपत्रमा राम्रो भूमिका नपाएका नायक नाजिर हुसेनलाई वीरविक्रममा निकै राम्रो स्थान दिइएको छ। उनले आफूलाई हिरोको रूपमा फेरि एकपटक साबित गरेका छन्।

नायिका वर्षा सिवाकोटी फिल्मभरि नै छाएकी छन्। उनको बोल्ड क्यारेक्टरले दर्शकको मन छुन सक्छ। बुद्धि तामाङको भूमिका पनि कम छैन। पहिलो पटक खलनायक बनेका उनले आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गरेका छन्।

गीतसंगीत उत्कृष्ट छ। पाश्र्व ध्वनिले फिल्मलाई निरन्तर मनोरञ्जन दिइरहन्छ। यति हुँदाहुँदै पनि फिल्ममा टन्नै कमीकमजोरी छन्। सबैभन्दा पहिले त वीरविक्रमको गहिरो दोस्तीको कारण नै खुल्न सकेको छैन। बच्पन र युवा अवस्थासम्मको मित्रताबीच ठूलो ग्याप हुँदा उनीहरूको मित्रता खल्लो लाग्छ।

समाजका तथाकथित विसंगतिका घटना वीर र विक्रमको मित्रताभन्दा उँचो तवरमा प्रस्तुत भएको छ। हँसिया, ब्लाइन्ड रक्स, लिलिबिलीजस्ता चलचित्र निर्देशन गरेका मिलन चाम्सले निर्देशन गरेको वीरविक्रम–२ अघिल्लो फिल्मको सिक्वेल होइन। तर फिल्मले पुरानै कथावस्तुको धार समातेको छ। वीर र विक्रमको बिलियो मित्रता कमजोर कथावस्तुको जगमाथि उभिएको छ। कथा वाचनमा नेपाली फिल्ममा अझै पछौटेपन छ भन्ने कुरा वीरविक्रम हेरेपछि थाहा हुन्छ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here