काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद डा.मिनेन्द्र रिजालमाथि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् । तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि भएका नेता रिजालमाथि जिल्ला सदरमुकाम दमौलीबाट रिसिङ जाँदै गर्दा नेकपाका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका हुन् । उद्घाटन कार्यक्रममा जान नदिन नेकपाका कार्यकर्ताहरुले बाटोमा रुख ढाल्नुका साथै ढुंगा राखेर अवरोध सिर्जना गरेको बताइएको छ ।
यता, नेता रिजालले आफूमाथि नेकपा कार्यकर्ताद्वारा हतियार र लाठीले आक्रमण गर्न प्रयास भएको बताएका छन् । ‘हतियार, ढुंगा, लाठीसहित आक्रमण गरे । साथीहरुले जोगाउनुभयो र बचियो । प्रहरी प्रशासनको आडमा उनीहरु आक्रमणमा उत्रिएको पाइयो ।’ नेकपाका कार्यकर्ताको अवरोधका बीच काँग्रेस बका स्थानीय नेता–कार्यकर्ताको साथ कार्यक्रममा पुगेको उनले बताए । गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट भवनको उद्घाटन काँग्रेस नेता रिजालबाट गराउने निर्णय गरेको थियो । गाउँपालिकाको निर्णयका विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी रहेको बताइएको छ । यसैबीच काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरेर गाउँपालिका भवन उद्घाटनका लागि अतिथिलाई कुरेर बसेका लाखौ जनतामाथि अपमान गर्दै नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीमा रिजाललाई अवरोध गरेको बताएका छन् ।
‘पञ्चायतका मण्डलेहरुको शैली अनुसरण गर्दै नेकपाका नेता–कार्यकर्ता फाँसीवादी र अधिनायकवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु,’ नेता पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् । सरकारको मण्डले शैलीमाविरुद्ध लोकतन्त्र जोगाउनका काँग्रेस आन्दोलनमा उत्रिन बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
Leave a Reply