अन्तरवार्ता

कांग्रेसको महाधिवेशन मिति तोकिएला ?

काठमाडौं, २० असार

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार पार्टी मुख्यालयमा सुरु हुँदैछ । यो बैठकबाट निस्कने निर्णयका लागि कांग्रेस नेता तथा कार्यकर्ता आतुर भएर पर्खिरहेका छन् । यो बैठकले लिने निर्णयबाटै कांग्रेसको आगामी दिशा तय हुने निश्चित छ । कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतका अनुसार बैठकमा नियमावली पारित गर्ने, संघीय संरचना अनुसार रोडम्याप तय गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

त्यसैगरी भ्रातृ संघहरुको कार्यसमितिको समय सकिइसकेकाले त्यसलाई पुनजीर्वित पार्नेबारेमा विशेष निर्णय आउन सक्ने देखिन्छ । सहमहामन्त्री महतले कांग्रेसले जारी राखेको राष्ट्रिय जागरण अभियानका बारेमा पनि छलफल हुने बताएका छन् ।
कांग्रेस केन्द्रीय समितिको म्याद आगामी फागुनमा सकिँदै गर्दा आगामी महाधिवेशनका लागि मित तय गर्ने विषयमा पनि मुद्दा उठ्ने देखिएको छ । यसबारेमा भने संस्थापन पक्षका सहमहामन्त्री डा महतले विधानको व्यवस्था अनुसार नै महाधिवेशन हुने दावी गरेका छन् ।
महाधिवेशनको मिति तोक्छ त ?
कांग्रेसले आइतबार बस्ने बैठकले महाधिवेशनको मिति तोक्ने सम्भावना छैन । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पहिले संघीय संरचना बनेपछिमात्र महाधिवेशनको कुरा आउँछ । अहिलेसम्म संघीय संरचना नै बन्न सकेको छैन । त्यसका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने प्रवक्ता शर्माले बताएका छन् । शर्माले पनि पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समीक्षा हुने बताएका छन् । यसबाट स्पष्टै छ कि यसपटक राष्ट्रिय जागरण अभियानले निकै स्थान पाउने छ ।
कति समय चल्ला बैठक ?
कांग्रेसमा गुट उपगुट हावी छ । यसले गर्दा पनि पार्टीभित्र आरोप प्रत्यारोप चल्ने गरेको छ । एकले बोलेको विषयलाई प्रतिवाद गर्ने र आफ्नो वादलाई अगाडि बढाउनका लागि पनि बैठक लम्बिने निश्चित छ । प्रवक्ता शर्मा भन्छन्, ‘केन्द्रीय सदस्य ज्यूहरुले बोल्ने इच्छा कत्तिको व्यक्त गर्नुहुन्छ त्यही अनुसार बैठक लम्बिने छ । मलाई लाग्छ कम्तीमा ४–५ दिन त बैठक बस्छ नै ।’ राष्ट्रिय जागरण अभियानका क्रममा कार्यकर्तालाई विधानका बारेमा जानकारी गराउने नीति थियो ।
तर विधानमै असन्तुष्टि देखिएपछि त्यही विषयलाई मुद्दा बनाएर लैजाने सभापति शेरबहादुर देउवा इतर पक्षले जनाएको थियो । त्यसैगरी संस्थापन पक्षले अहिले आपसमा अल्झिने बेला नभएकाले कांग्रेसलाई संगठित बनाएर जाने बेला भएको बताउँदै आएको थियो । सोही समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाई दुःख दिइरहेका बेलामा एकाएक मुद्दा त्यतातिर पनि मोडियो ।
र, पनि गुटकै रुपमा अधिकांश राष्ट्रिय जागरण अभियान संचालन भयो । यसकारण त्यसकै समीक्षा गर्नका खातिर पनि केन्द्रीय सदस्यहरुले समय बढी लिने देखिन्छ । प्रवक्ता शर्माले भने जस्तै कम्तीमा ४–५ दिन र बढीमा १० दिनसम्म यो बैठक चल्न सक्नेछ ।
संघीय संरचनामा लफडा
संघीय संरचनामा लफडा यद्यपि छ । पुसमा भएको महासमिति बैठकले पार्टी केन्द्रीय समितिलाई निर्वाचित संघीय संरचना निर्माणसंगै केन्द्रमा आउने सबै स्थानीय तहदेखि नै निर्वा्चित भएर आउनु पर्ने गरी विधान बनाउने म्यान्डेट दिएका थिए । त्यो म्यान्डेट केन्द्रीय समितिले पूरा गरेन । संस्थापन पक्षले बहुमतले यो विषयलाई रोक्यो । तर संस्थापन इतर पक्ष अहिले पनि निर्वा्चित भएरै आउनु पर्ने पक्षमा छ ।
संघीय संरचनामा पनि समस्या छ । तदर्थ समिति बनाएर अगाडि बढ्ने भन्दै देउवा पक्ष लागिरेका बेलामा त्यसलाई रोक्दै बिहीबार संवोधन हुने गरी विज्ञप्ति निकाली सभापति देउवा ब्याक भएका छन् । यो निर्णयले वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका पक्षलाई केही राहत दिएको अनुभूति भइरहेको बुझ्न सकिन्छ । तर यो संगसंगै सभापति देउवाले आफ्नो कार्यकाल थप्ने देखिन्छ । महाधिवेशन गर्ने समय लम्ब्याउने बारेमा स्पष्ट कुरा नआए पनि यदि संघीय संरचनामा निर्वाचन हुने हो भने महाविधेशन केही समय लम्ब्याउन सहमत हुने लक्षण नेता सिटौलाले ल्याएका छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here