अन्तरवार्ता

निगमको ‘सेफ्टी अडिट’ गरिंदै

 

काठमाडौं, २५ असार

चीनको ग्वान्झाउ सहरमा उडानका लागि अनुमति प्रक्रिया शुरु गरेको नेपाल वायुसेवा निगमको ‘सेफ्टी अडिट’ अर्थात् सेवाप्रदायक कम्पनीको विभिन्न सुरक्षा, व्यवस्थापनलगायतको सुपरिवेक्षण हुने भएको छ । चीनको नागरिक उड्डयन संस्थाले निगमको सुरक्षा अवस्थाको जाँचबुझ गरेपछि मात्र उडान अनुमति दिनेरनदिनेबारे निर्णय लिने जवाफ पठाएको निगमले जनाएको छ ।

अनुमति प्रक्रियाका क्रममा निगमले पठाएका कागजातमा चित्त नबुझाएर चीनले आफ्नो एक अडिट टोली नेपाल पठाउन लागेको निगमले जनाएको छ । यससम्बन्धी पत्र यही जुलाई ५ तारिखमा निगमले प्राप्त गरिसकेको छ। निगमले व्यवस्थापन टोली गठन गरी उनीहरूलाई सहजीकरण गर्ने जानकारी दिएको छ ।

चीनले वायुसेवा निगममा पत्र पठाउँदै टोली ‘सेफ्टी अडिट’का लागि नेपाल आउन लागेको जानकारी दिएको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार अडिटका लागि आउने टोलीको नामावली प्राप्त भइसकेको छ । जुनशेंग शीले निगमलाई पठाएको पत्रअनुसार चिनियाँ संस्थाको इन्स्पेक्टर वांगको नेतृत्वमा अडिटिङ टोली काठमाडौं आउन लागेको हो ।

धेरैजसो चासो नेपाल वायुसेवा निगमसँग भन्दा बढी नेपाली वायुसेवा उद्योगका सम्बन्धमा रहेको र इयूले उठाइरहेकै विषयलाई उनीहरूले पनि चासोका रुपमा हेरेको कार्यकारी अध्यक्ष खरेलले जानकारी दिए । अडिट प्रतिवेदन आउन बढीमा ९० दिन लाग्ने नेपाल वायुसेवा निगमले बताएको छ । यसले गर्दा चीन उडान केही ढिलो हुने भएको छ । युरोपियन युनियनको सेफ्टी लिस्टलाइ लिएर चिनियाँ पक्षले चासो देखाउँदै आएको छ ।

नेपाल र चीनबीच सन् २००४ मा भएको १० बुँदे दुईपक्षीय हवाइ सेवा सम्झौता भएको थियो । १५ वर्षअघि भएको सम्झौतामा नेपालले चीनका बेइजिङ, छेन्दु, ग्वान्झाउ, सांघाई, ल्हासा, कुन्मिङ र सियानमा उडान भर्न पाउने उल्लेख छ ।

सम्झौता भएको लामो अवधिसम्म पनि चीनले नेपाली हवाइ सेवा प्रदायकलाई अनुमति नदिँदा विभिन्न टिका टिप्पणी भइरहेका छन् । सन् २०१४ मा निगमले चीनसँग ग्वान्झाउका लागि उडान अनुमति मागेको थियो ।

ग्वान्झाउमा उडान सुरु भएसँगै अन्य ६ वटा सहरमा पनि उडान अनुमति माग्ने निगमको तयारी छ । व्यापारिक र पर्यटकीय महत्वका चिनियाँ सहरहरू बेइजिङ, सांघाई, ग्वान्झाउ र ल्हासालाई नेपालले उडानको पहिलो प्राथमिकतामा राखेको छ । नेपाली वायुसेवाले चीनका सहरमा उडान नगरे पनि चिनियाँ वायुसेवाका उडान काठमाडौंमा बाक्लै भइरहेका छन् । नेपालमा हाल चिनियाँ वायुसेवाले सातामा ७० वटा उडानसम्म गरिरहेका छन् ।

सम्झौतामा २ देशले बराबर उडान गर्न पाउने उल्लेख भए पनि चिनियाँ कम्पनीले एकतर्फी उडान गरिरहेका छन् भने नेपाली कम्पनीलाई चीनमा उडान भर्न अनुमति दिइएको छैन ।

१५ वर्षअघिको सम्झौताअनुसार नेपालले चिनियाँ सहरमा सातामा १४ उडान गर्न पाउँछ । चीनका ५ वटा एयरलाइन्सहरू चाइना साउदर्न, एयर चाइना, चाइना इस्टर्न, तिब्बत एयरलाइन्स, ड्रागन एयर (हङकङ) र सिचुवान एयरलाइन्सले नेपालमा उडान गर्दै आएका छन् । एयर चाइनाले सातामा तीनवटा काठमाडौँ– छेदुङ, ३ वटा काठमाडौँ–ल्हासामा उडान गरिरहेको छ । चाइना साउदर्नले क्वाङ्ची–काठमाडौँ सातामा ९ वटा उडान गरिरहेको छ  चाइना इस्टर्नले कुन्मिङ–काठमाडौँ सातामा १४ वटा, सिचुवान एयरलाइन्सले छुदुङ–काठमाडौँ सातामा ७ वटा उडान गरिरहेको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here