अन्तरवार्ता

नेकपाले तोक्यो जिल्ला इन्चार्ज र सहइन्चार्ज

पोखरा, ५ साउन

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा ले ७७ भूगोलसहित ८३ जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको छ । महानगरपालिकालाई समेत नेकपाले जिल्ला कमिटी सरहको मान्यता दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालयको बैठकले ७७ वटा जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यताप्राप्त छ महानगरपालिकाका इन्चार्ज र सहइन्चार्ज टुङ्गो लगाएको हो ।
नेकपा महासचिव विष्णुप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार महानगरपालिकालाई एक जिल्लासरह मानी नेपालका ६ महानगरपालिका भएका जिल्लामा एकभन्दा बढी इन्चार्ज रहेका छन् । यस्तै केही जिल्लामा इन्चार्ज मात्रै तोकिएको छ । लामो कसरतपछि नेकपाले जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेर पार्टी एकताको कामलाई पूर्णता दिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकता भएको १४ महीनापछि जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गरेको हो । तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) बीच २०७५ जेठ ३ गते एकता भएको थियो । नेकपाले यसअघि नै जिल्ला अध्यक्ष तथा सचिव तोकिसकेको छ । काठमाडौँ, ललितपुर, कास्की, चितवन, पर्सा, मोरङको इन्चार्ज तथा सहइन्चार्ज तोकिएको छ ।
नेकपाले सङ्घीय सरकारका मन्त्री तथा प्रदेश सरकारका मुख्यमन्त्री एवम् मन्त्रीलाई समेत जिल्ला इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा काभ्रेपलाञ्चोक जिल्लाको इन्चार्ज तोकिएका छन् । यस्तै भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल स्याङ्जा जिल्ला इन्चार्ज तोकिएका छन् ।
यस्तै कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी सुनसरीको सहइन्चार्ज तोकिएका छन् । यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोट जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । सोही प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी जुम्लाको सहइन्चार्ज तोकिएका छन् ।
प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल धादिङ इन्चार्ज तोकिँदा प्रदेश नं १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्वोले पाँचथर इन्चार्जको भूमिका पाएका छन् । यस्तै भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी पनि इन्चार्ज तोकिएका छन् ।
नेकपाले पन्ध्र जिल्ला र छ महानगरमा इन्चार्ज मात्रै तोकेको छ । त्यसमा ताप्लेजुङ भाष्कर काफ्ले, इलाम धीरेन्द्र शर्मा, नुवाकोट महेन्द्रबहादुर पाण्डे, काभ्रेपलाञ्चोक बाँस्कोटा, म्याग्दी भुपेन्द्रबहादुर थापा, मुस्ताङ श्रीमाया थकाली, नवलपरासी पश्चिम वैजनाथ चौधरी, गुल्मी दिनेश पन्थी, प्यूठान कृष्णध्वज खड्का, कालीकोट शाही, हुम्ला विजय भण्डारी, डोल्पा हंसबहादुर शाही, दार्चुला गणेश ठगुन्ना, सप्तरी रामप्रीत पासवान र ओखलढुङ्गामा यज्ञराज सुनवारले इन्चार्जको जिम्मेवारी पाएका छन् ।
यस्तै महानगरपालिकाहरु वीरगञ्जमा दिनेश राई, भरतपुरमा रेणु दाहाल, ललितपुरमा सुुशीला नेपाल, काठमाडौँमा जीवनराम श्रेष्ठ, पोखरामा मानबहादुर जिसी र विराटनगरमा इन्चार्जका रुपमा शिवकुमार मण्डल तोकिएका छन् ।
नेकपाले २२ जिल्लामा तीनभन्दा बढी सहइन्चार्ज तोकिएको छ । सिरहामा सबैभन्दा बढी १० जना सहइन्चार्ज तोकिएको छ । काठमाडौँ, धनुषा र दाङमा नौ÷नौ जना सहइन्चार्ज रहेका छन् । कैलालीमा सात, महोत्तरीमा छ, कञ्चनपुर र सुनसरीमा पाँच÷पाँच तथा कास्की र सर्लाहीमा चार÷चार जना सहइन्चार्ज छन् । यस्तै झापा, मोरङ, खोटाङ, रौतहट, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, तनहुँ, रुपन्देही, बाँके र जाजरकोटमा तीन÷तीन जना सहइन्चार्ज तोकिएको छ ।
नेकपाले सात जिल्लामा महिला इन्चार्ज तोकेको छ । छमध्ये दुई महानगरपालिकाले महिला इन्चार्ज पायो । दोलखामा भने इन्चार्ज र सहइन्चार्ज दुवै महिला छन् ।
दोलखामा, देवी खड्का इन्चार्ज र रचना खड्का सहइन्चार्ज हुनुहुन्छ । यस्तै रसुवामा विमला सुवेदी, काठमाडौँमा सावित्रा भुसाल, स्याङ्जामा अर्याल, बाग्लुङमा वलावती शर्मा, मुस्ताङमा श्रीमाया थकाली र कैलालीमा रुपा चौधरी इन्चार्ज तोकिएका छन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले साङ्गठनिक एकीकरणका बाँकी कामलाई पूर्णता दिने विषयमा भएको छलफलमा ७७ जिल्ला भूगोल र जिल्ला कमिटीकै मान्यताप्राप्त छ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज टुङ्गो लागेको जानकारी दिए ।
उनले आउँदो मङ्गलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा बस्ने सचिवालयको बैठकले बाँकी विभाग, आयोग, अन्य केन्द्रीय निकाय र प्रवास सङ्गठनको एकीकरणको टुङ्गो लगाइने जानकारी दिए ।
सङ्गठन विभागको विषयमा पत्रकारले सोधेको जिज्ञासामा प्रवक्ता श्रेष्ठले भने, “यसअघि कुनै विभाग टुङ्याएको भन्ने कुरा अपूर्ण हो, गृहकार्य चाहिँ अध्यक्षद्वयले गरेका हुन्, गृहकार्य भनेको निर्णय होइन, आज गृहकार्यपश्चात् पहिलो पटक सचिवालयको बैठक बसेको हो, सचिवालयले जे टुङ्गो लगायो त्यही पार्टीको आधिकारिक निर्णय हो ।” उक्त विषय स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा समेत प्रस्तुत गरिने जानकारी दिए । उनले दुई साबिक पार्टीको इन्चार्जहरुकै आधारमा इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाइएको उल्लेख गरे । राजनीतिक प्रतिवेदन भने प्रकाशनका लागि प्रेसमा गइसकेको प्रवक्ता श्रेष्ठको भनाइ छ । छलफलपछि पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै सचिवालय सदस्य बामदेव गौतमले कतिपय जिल्लामा इन्चार्ज र सहइन्चार्ज, कतिपय जिल्लामा इन्चार्ज मात्रै र कतिपय जिल्लामा १० जनासम्म इन्चार्ज र सहइन्चार्ज तोकिएको जानकारी दिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here