अन्तरवार्ता

नेपालले अबको खेल जित्नै पर्ने

पोखरा, ७ साउन

सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप छनौट (एसिया फाइनल) प्रतियोगिता अन्तर्गत पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भएको नेपालले दोस्रो खेल मलेसियासंग खेल्नेछ । नेपाल र मलेसिया बीचको खेल बुधबार इन्डियन एसोसिएसन मैदानमा खेलिनेछ । खेल नेपाली समय ७ः१५ बजे बिहान सुरु हुनेछ ।
मलेसियाले १ खेल खेलीसकेको छ । उसले सोमबार कुवेतलाई ४२ रनले पराजित गरेको थियो । नेपाललाई भने पहिलो खेलमा हार पछि आगामी चरण छनौट हुन बाँकी ३ खेल जित्नु पर्ने दबाब बढेको छ । सहभागी ५ टिमबाट एउटा टिम मात्रै अक्टोबरमा युएईमा आयोजना हुने ग्लोबल क्वालिफायर खेल्न छनौट हुनेछ ।
दोश्रो दिनको खेल सकिंदासम्म सिंगापुर २ खेलमा ३ अंक सहित अंकतालिकाको शीर्षस्थानमा छ । सिंगापुरले एउटा खेलमा जित हात पार्यो भने कुवेतसंगको खेल भने वर्षाको कारण हुन नपाउँदा १÷१ अंक बाँड्न बाध्य रह्यो । कतारले १ जित र १ हार बेहोर्दै २ अंक सहित तेस्रो स्थानमा छ । मलेसिया एउटा जित सहित दोस्रो स्थानमा छ ।
नेपाललाई जित्न पर्ने दबाब
पहिलो खेलमा हारे पछि अब नेपालले विश्वकप ग्लोबल छनौटमा छनौट हुन बाँकी ३ खेलमा जित्नु पर्ने दबाब बढेको छ । बाँकी ३ खेलमा नेपाल जितेमा नेपालको सम्भावना प्रवल हुनेछ । सबै खेल जितेको खण्डमा र अन्य कुनै एउटा टिमले पनि ३ खेलमा जित हात पारे नेट रनरेटको आधारमा उत्कृष्ट टिम चयन हुन सक्ने छ । नेपालले अब जुलाई २४ मा मलेसियासंग, जुलाई २७ मा कुवेतसंग र जुलाई २८ मा सिंगापुरसंग खेल्नेछ ।
मलेसियासंग जित्ने आशा
जारी प्रतियोगिता अघि मलेसियासंग २ वटा खेलको टि–२० सिरिज खेलेको नेपालले दुवै खेलमा जित हाँसिल गरेको थियो। दोश्रो खेलमा नेपालले ६ रनको जित हाँसिल गर्दा पहिलो खेलमा भने ७ विकेटको सहज जित हाँसिल गरेको थियो । प्रतियोगितामा मलेसियाले आफ्नो पहिलो खेलमा कुवेतलाई सहजै पराजित गरेको थियो । पहिले ब्याटिंग गर्दै मलेसियाले १ सय ६२ रन बनाएको थियो र जवाफमा ब्याटिंग गरेको कुवेत १२० रनमा समेटिन पुगेको थियो ।
मलेसियाको ब्याट्सम्यानहरू लयमा आउनु नेपालको लागि खतरा हुन सक्छ । टि–२० सिरिजमा पनि दोस्रो टि–२० मा मलेसियन ब्याट्सम्यानले नेपालको जित खोस्न खोजेका थिए । झनै सिंगापुरको छोटो बाउन्ड्री भएको मैदानमा मलेसियाका ब्याट्सम्यानहरू खतरनाक सावित हुन सक्ने छन् ।
नेपालको भने परम्परानै बनेको ब्याटिंग कमजोरी मलेसियासंग सुधार हुनु पर्नेछ । कतारसंग १२२ रनमा समेटिएपछि अब दोस्रो खेलमा भने ब्याट्सम्यानहरूले गल्ती दोहोर्याउन पाउनेछैनन् । कतारसंग ६ जना बलर लिएर खेलेको नेपाली टिमले पवन सर्राफ, रोहित पौडेलमध्ये १ खेलाडीलाई दोस्रो खेलमा खेलाउन सक्नेछ । मलेसियासंग नेपालले हालसम्म ६ वटा टि–२० खेलेको छ भने २ वटा टि–२० अन्तर्राष्ट्रिय मान्यता पाएको खेल खेलेको छ । त्यसमध्ये एउटा खेलमा बाहेक नेपालले सबै खेलमा जित हाँसिल गरेको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here