अन्तरवार्ता

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उँडुस र उपियाँ आतंक

पोखरा, १ साउन
गण्डकी प्रदेशको सबै भन्दा ठूलो सरकारी स्वास्थ्य संस्था पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा यतिवेला उँडुस आतङ्क छ । अस्पतालको प्रसुति वार्ड लगायत अन्य वार्डमा उडुस आतङ्क भएपछि विरामी र तिनका कुरुवा उडुसले टोकेर हैरान परेका छन् ।
अस्पतालमा उँडुससँगै उपियाँ, साङ्ला र लामखुट्टेले समेत हैरान पारेको विरामी र तिनका कुरुवाको गुनासो छ । गर्मीसंगै अस्पतालमा उँडुस जन्य किराको प्रकोप बढे पनि अस्पताल प्रशासनले समयमा समस्याप्रति चासो दिएको छैन ।
अस्पतालको शौचालय र आसपासमा पनि फोहोर भएपछि दुर्गन्धित छ । अस्पतालको भएको वेथितिको वारेमा अस्पतालमा पटक–पटक जानकारी गराउँदा समेत अस्पताल प्रशासनले वेवास्ता गरेको सामाजिक अगुवा भवसागर बरालले बताए ।
अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले अस्पतालमा विगतदेखि नै उँडुस जन्य किराहरू रहेको बताउँदै बुधवार विषादी छर्किएको बताए । ‘हामीसँग पुराना बेडहरू छन् तिनमा उडुस बस्दो रहेछ’, उनले भने ।
केही दिनमा उँडुस उपियाँ जन्य सबै किराहरु मरिसक्ने उनले दावी गरे । अस्पतालले पुराना कवाडी सामान टेण्डरको प्रक्रियामा लैजान नसक्दा समस्या आएको उनले स्पष्ट पारे ।
कूल ५ सय वेड स्वीकृति पाएको गण्डकी अस्पताल अर्थात् गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले ३ सय ८० वेड सञ्चालनमा आएका छन् । अस्पतालमा ६ सय १ जना कर्मचारीको दरवन्दी छ ।
जसमध्ये १ सय सरकारी डाक्टर, ४५ जना विकास समिति अन्तर्गतका डाक्टर गरी १ सय ४५ जना डाक्टर कार्यरत छन् । त्यसैगरी १ सय जना सरकारी नर्स र ७० जना विकास समितिले थप गरेका नर्स गरी नर्सको संख्या १ सय ७० जना छ । अस्पतालमा अन्य सवै अरु कर्मचारी रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा दैनिक १ हजार ४ सय वढी विरामी आउने गरेका छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here