अन्तरवार्ता

‘पुष्पलालका विचार अझैै सान्दर्भिक’

पोखरा, ७ साउन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुष्पलालका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । पोखरा महानगरपालिका–२१ फेदीपाटनस्थित पुष्पलाल अध्ययन प्रतिष्ठान परिसरमा निर्मित पुष्पलालको अर्धकदको सालिक अनावरण गर्दै उनले पुष्पलालले अघि सार्नुभएको विचारकै जगमा नेपाली कम्युनिष्ट आन्दोलन वर्तमानसम्म आइपुगेको बताए ।
नेपाली कम्युनिष्ट आन्दोलनलाई वैचारिक नेतृत्व दिएर पुष्पलालले अतुलनीय योगदान गर्नुभएको स्मरण गर्दै मुख्यमन्त्री गुरुङले तिनै विचार र सिद्धान्तलाई आत्मसात् गर्न सके उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।
नेकपालाई कमजोर बनाउन विभिन्न रुपमा षडयन्त्र भइरहेको चर्चा गर्दै उहाँले अवसरवादी सोच र प्रवृत्तिलाई निरुत्साहित गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । उक्त अवसरमा मुख्यमन्त्री गुरुङले प्रतिष्ठानको हातामा निर्माण गरिएको कम्युनिष्ट नेता बलराम उपाध्यायको अर्धकदको सालिककोसमेत अनावरण गरेका थिए ।
युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले नेपाली समाजको रुपान्तरणमा पुष्पलालको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रतिष्ठानलाई कम्युनिष्ट पार्टीको अध्ययन अनुसन्धानको थलोका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । उनले मुलुकमा राजनीतिक उपलब्धिसँगै समृद्धिको आन्दोलनमा लाग्नुपर्ने आजको आवश्यकता भएको बताए ।
पुष्पलाल अध्ययन प्रतिष्ठानका अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य खगराज अधिकारीले विभिन्न संघसंस्था र व्यक्तिको आर्थिक सहयोगमा निर्माण गरिएको प्रतिष्ठानको ३ तल्ले पक्की भवन निर्माण भइरहेको बताउँदै नेपालको कम्युनिष्ट आन्दोलन र पुष्पलाललाई नजीकबाट चिन्न र बुझ्न सकिने गरी काम गरिने जानकारी दिए ।
नेकपा कास्कीका अध्यक्ष तथा प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले मुलुकमा प्राप्त उपलब्धिको रक्षा गर्दै जनताको बृहत् हितमा काम गरिनुपर्ने बताए ।
नेकपा केन्द्रीय सदस्य एवं पुष्पलाल अध्ययन प्रतिष्ठान भवन निर्माण समितिका अध्यक्ष भीम कार्कीले प्रतिष्ठानले नेपालको कम्युनिष्ट आन्दोलन संगठित र सशक्त बनाउन कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।
यता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक सामन्तवाद अवशेषको अन्त्य गर्ने चरणमा पुगेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४१औँ स्मृति दिवसको अवसरमा पोखरा–७, मासवारस्थित पुष्पलालको सालिकमा माल्यार्पण गर्दै उनले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व पुष्पलालको विचारको जगमा देश वर्तमान अवस्थासम्म आइपुगेको बताए ।
नेपाली कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गर्दै राष्ट्रकै नेतृत्व गरिरहेको उल्लेख गर्दै उनले समाजवादोन्मुख हाम्रो देशलाई विकास र समृद्धिको मार्गमा लैजाने गहन जिम्मेवारीलाई वहन गर्नु वर्तमानको आवश्यकता रहेको औँल्याए ।
नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली जनताले विश्वास गरेर वर्तमान अवस्थामा पु¥याएको बताउँदै मुख्यमन्त्री गुरुङले अब देश र जनतालाई योगदान दिन सकेमा नै पुष्पलालप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गरे ।
पार्टीको गण्डकी प्रदेश इन्चार्जसमेत रहनुभएका गुरुङले समाजवादमा आधारित भएर उत्पादनमा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिए । नेकपा कास्कीका अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण थापाले पुष्पलाल स्मृति उद्यानलाई व्यवस्थित बनाउन पार्टी कार्यकर्ता, जनप्रतिनिधि, समाजसेवी एवं सर्वसाधारणको महत्वपूर्ण सहयोग रहँदै आएको जानकारी दिए ।
कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी (प्यासी), केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज राजकाजी गुरुङलगायत पार्टीका केन्द्र र जिल्लास्तरका नेता तथा कार्यकर्ताले पुष्पलालको सालिकमा माल्यार्पण गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here