अन्तरवार्ता

पोखरा विश्वविद्यालय २३ औं वर्षमा

पोखरा, ३१ असार
पोखरा विश्वविद्यालय २३ औं वर्षमा प्रवेश गरेको छ । विश्वविद्यालय ऐन २०५३ अन्तरगत वि.सं. २०५४ साल श्रावण १ गतेदेखि पोखरा विश्वविद्यालय सञ्चालनमा आएको हो । २३ औं खुट्किलोसम्म आउँदा विश्वविद्यालयले देशको १ नम्बर प्रदेशमा १ वटा, ३ नम्बर प्रदेशमा ३८ वटा, ४ नम्बर प्रदेशमा १० वटा, ५ नम्बर प्रदेशमा १३ वटा र ७ नम्बर प्रदेशमा ४ वटा गरी कुल ६६ वटा महाविद्यालयहरू सञ्चालन गरिरहेको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार यसले ४ वटा आंगिक, ४ वटा संयुक्त आंगिक तथा ५८ वटा सम्बन्धनप्राप्त महाविद्यालयहरूमा ६२ वटा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । विश्वविद्यालयमा हाल ३२ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययरत छन् ।
पोखरा विश्वविद्यालय नेपालको त्रिभुवन विश्वविद्यालपछिको दोस्रो ठूलो विश्वविद्यालय हो । यसले सञ्चालन गरेको शिक्षापद्धति तथा कार्यक्रम समय सापेक्ष, बजार र रोजगारीमुखी रहेको छन् भने यसले देशको लागि आवश्यक हजारौं जनशक्ति आपूर्तिपनि गरिरहेको छ ।
वर्षेनी एक हजारभन्दा बढी विद्यार्थीहरूलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्ने यो नेपालकै एकमात्र विश्वविद्यालय पनि हो । राम्रा र स्तरीय कार्यक्रम, छात्रवृत्ति अवसर, दक्ष जनशक्तिको उत्पादनको नमूनाको रूपमा स्थापित हुँदै आएको पोखरा विश्वविद्यालयमा विगत केही वर्षदेखि बेतिथि र अराजकताले प्रशय पाउँदै आएको छ ।
यसको मूल जरो भनेको चरम राजनीति नै हो । अध्ययन अध्यापनलाई भन्दा शक्ति र पदका लागि लिगलिगे दौडमा रहने मानसिकताले विश्वविद्यालयको छविलाई निस्तेज पार्दै लगेको छ ।
विश्वविद्यालयका उपकुलपति र रजिष्टारको पद सकिन दुई महिनामात्रै बाँकी छ । गण्डकी विश्वविद्यालय, पृथ्वीनारायण विश्वविद्यालय खोल्ने पहलकदमी भन्दा ४ नम्बर प्रदेशको एउटा उत्कृष्ट र नमूना विश्वविद्यालयको रूपमा पोखरा विश्वविद्यालयलाई स्थापित गर्न स्थानीयबासी, उद्योगी, समाजसेवी आदि अझै लाग्नुपर्ने देखिएको छ ।
विश्वविद्यालयको आगामी नेतृत्व कुशल, दुरदर्शी, सक्षम र निर्भिक ल्याउन सबैले पहल कदमी गर्नुपर्ने देखिएको छ । विश्वविद्यालयमा हुने राजनीतिलाई सधैका लागि अन्त्य गरी विश्वविद्यालयलाई बन्दमुक्त र विशुद्ध शैक्षिक केन्द्रको रूपमा हाक्ने नेतृत्व विश्वविद्यालयले खोजिरहेको उनले बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here