अन्तरवार्ता

बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो

पोखरा, २४ साउन
धादिङको बेनिघाटरोराङ गाउँपालिका–३, सलाङघाटमा शुक्रबार बिहान भएको यात्रु बस दुर्घटनामा मृतकको संख्या ५ पुगेको छ । मोडमा पुगेपछि सिधै त्रिशूली नदीमा खसेको बस सडकबाट करीब १ सय मिटर तल पानीमा डुबेर दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा सर्लाही जिल्ला निवासी ३५ वर्षीय अजय दास, २५ वर्षीय विजय कुर्मी र नाम वतन नखुलेको १ जना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।
यसैगरी नदीले बगाएर लगेको अवस्थामा मुग्लिन नजीकैबाट २ जनाको लास प्राप्त भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा १६ जना घाइते भएकाले उपचार भइरहेको छ । घाइतेको राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, राजमार्ग सामुदायिक अस्पताल गजुरी र ट्रमा सेन्टर काठमाडाँैमा उपचार भइरहेको छ ।
गजुरी अस्पताल धादिङमा उपचारपश्चात् डिस्चार्ज भएका घाइतेहरू सर्लाही जिल्ला गमहरिया नपा–८ बस्ने ३६ वर्षीय दिनेश ठाकुर, सर्लाही जिल्ला हरिपुर–७ बस्ने ३४ वर्षीय भोगेन्द्र चौधरी, सर्लाही जिल्ला औरही गापा–७ बस्ने १५ वर्षीय राहुल महत्तो मध्यम, सर्लाही जिल्ल्ला हरिपुर नपा–९ बस्ने अमृत लामा, सर्लाही जिल्ला कबिलासी लाठी गापा–६ बस्ने ३१ वर्षीय भुपेन्द्रकुमार यादव, सर्लाही जिल्ला कविलासी गापा–४ बस्ने ३३ वर्षीय विजय राय यादव, भारत विहार सीतामणि पनौलीथाना–४ बस्ने ४२ वर्षीय भिरेन्द्र ठाकुर छन् ।
काठमाडौँ ट्रमा सेन्टरमा उपचार भइरहेको घाइतेहरू भारत सीतामणि घर हुने ४० वर्षीय धिरेन्द्र ठाकुर, जिल्ला सर्लाही कविलास गापा–४ बस्ने अं ३२ वर्षीय विजय यादव, जिल्ला सर्लाही हरिपुर गापा–४ बस्ने २८ वर्षीय प्रमोद कुँवर, सहचालक सर्लाही जिल्ला मलङ्गवा नपा–११ बस्ने १६ वर्षीय सिकिन्द्रकुमार महतो, सर्लाही जिल्ला विष्णु गापा–५ बस्ने २१ वर्षीय कुश रन्जम महतो, सर्लाही जिल्ला ब्रह्मपुरी बस्ने १६ वर्षीया श्वेता रौनियार, सर्लाही जिल्ला हरिपुर घर हुने बस चालक ४० वर्षीय जीवन विक, सर्लाही जिल्ला ब्रह्मपुरी–६ बस्ने २२ वर्षीय राकेश बैठा र अन्य २ जनाको नाम खुलेको छैन ।
ना६ख ७४६९ नंको बस शुक्रबार बिहान ३ बजेको समयमा नदीमा खसेपछि केही व्यक्ति पौडेर ज्यान बचाएका थिए । राति पौडेर ज्यान बचाए पनि बिहान ७ बजे मात्र २ जनाको नदी किनारको खाँेचबाट उद्धार गरिएको थियो ।
यात्रु बसमा मलङ्गवाबाट ३९ यात्रु र हरिपुरबाट २ यात्रु चढेको यातायात समितिले जनाएको छ । सोही गाडीमा सवार बी १६ नं सिटका यात्रु समिमराज अन्सारीका अनुसार सबै सिट भरिएर ४ जना मानिस मुढामा बसेको र सवारी चालक दलका सदस्यबाहेक क्याबिनमा अन्य ४ जना रहेका थिए । उनीहरू सबैको टिकट नभएको बताइएको छ । यातायात समितिले ३८ जनाको चलानी गरी पठाइएको स्पष्ट पारेको छ ।
उनीहरू सबैको उद्धार नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र रेडक्रसका स्वयंसेवक राजमार्ग उद्धारकर्ताहरूले गरेका थिए । रातिको समय भएकाले उद्धारमा समस्या आएको थियो । प्रहरीले चालक निदाएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ ।

शोकमा डुब्यो परिवार
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवन नगरकी ४३ वर्षीया उषादेवी रौनियार शुक्रबार बिहानदेखि बेहोस छिन् । बेहोसीमै उनी छोरा, छोरी, जेठानी र जेठाजुको नाम लिएर बर्बराउँछिन् । उनका आँखाबाट आँसु थामिएको छैन । पति चन्देश्वरप्रसाद रौनियारको अवस्था उस्तै छ । आफूलाई केही सम्हालिएको जस्तो देखाउँछन् तर छिनमै आँखा रसाइहाल्छ ।
शुक्रबार बिहान धादिङस्थित त्रिशूलीमा खस्दा चन्देश्वरका दाइ राजनारायण, भाउजु शोभा र छोरा शौरभ बेपत्ता छन् । छोरी श्वेताको काठमाडौंमा उपचार भइरहेको छ । दुर्घटनाको खबर सुनेपछि रौनियार परिवारमा भुइँचालो गएको छ । परिवारको अन्य सदस्य विक्षिप्त छन् ।
४० वर्षदेखि राजनारायण काठमाडौंमा व्यापार गरेर बस्दै आएका थिए । उनले भतिज शौरभ र भतिजी श्वेतालाई सँगै राखेर पढाइरहेका थिए । शौरभ काकाको घरमा बसेर मेडिकलको तयारी गरिरहेका थिए भने श्वेताले भर्खरै कक्षा १२ पास गरेकी थिइन् । उनीहरू साउनी घडी पर्व मान्न मंगलबार मात्र घर आएका थिए । बुधबारको पर्व सकाएर बिहीबार रात्रिबस चढेका थिए ।
शौरभ र श्वेता १–२ दिन घरै बस्ने मनस्थितिमा थिए । काका–काकी काठमाडौं फर्किने भएपछि सँगै निस्किएका थिए । सानैदेखि काठमाडौंमा पढेका शौरभ जेहेन्दार विद्यार्थी थिए । उनले मेडिकल पढेर समाजमा सेवा गर्ने सोच बनाएका थिए । ‘मेरो बच्चाहरू सानैदेखि जेहेन्दार थिए’, गहभरि आँसु पार्दै चन्दे्रश्वरले भने, ‘छोराले मेडिकल पढेर समाज सेवा गर्छु भनेको थियो । यस्तो विपत्ति आइलाग्यो ।’ घटनापछि उनको घरमा आफन्त र गाउँलेको भीड छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here