अन्तरवार्ता

बाल तथा महिला सशक्तिकरणको बीसौं वार्षिक साधारण सभा

पोखरा,२८ भदौ ।

बाल तथा महिला सशक्तिकरण समाज नेपाल (सिडब्लुइएस)को बीसौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । समाजमा पछाडि पारिएका महिला तथा बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, आर्थिक अवस्थालाई सुदृढ गरी सामाजिक अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ विंसं २०५५ सालमा विभिन्न क्षेत्रका महिलाहरुले सिडब्लुइएस स्थापना गरेका थिए ।

वार्षिक साधारण सभाको उद्दघाटन पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य तथा वडा नं ५ की सदस्य हरिमाया वि.क.ले गरेकी थिइ । संस्थाको पूर्वसचिव समेत रहेकी वि.क.ले सिडब्लुइएसमा संलग्न भएर क्षमता अभिवृद्धि गर्न सफल भएको भन्दै कार्यक्रममा विभिन्न अनुभव समेत सुनाएकी थिइन् । बालबालिका तथा महिलाहरुको अधिकार संरक्षणका क्षेत्रमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले आगामी दिनमा पनि अझ सशक्त भएर संस्थालाई अगाडि बढाउन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा विशेष अतिथिको मन्तव्य व्यक्त गर्दै गैरसरकारी संस्था महासंघ कास्की शाखाका कार्य समिति सदस्य केशु भूजेलले अत्यन्त जोखिमपूर्ण क्षेत्रमा काम गरिरहेको भन्दै संस्थाको प्रशंसा गरिन् । संस्थापक, संरक्षक तथा सल्लाहकार विष्णुकला भण्डारीले महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थामा रुपान्तरण गर्ने भनेर स्थापना गरिएको संस्था त्यस कुरामा निरन्तर लागिरहेको बताइन् । सिडब्लुइएसले समाजमा ऐतिहासिक भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले संस्थागत विकासको लागि सशक्त भएर अगाडि बढ्न जरुरी रहेको धारणा राखिन् ।

निर्वतमान अध्यक्ष रजनी कोइरालाले सामुहिक प्रयासमा स्थापना भएको यो संस्थाले समाज परिवर्तनका क्षेत्रमा अझै धेरै कामहरु गर्नु पर्नेमा जोड दिइन् । पूर्वअध्यक्ष सीता भट्टराईले बाल तथा महिलाहरु आँफैमा पछाडि परेको वर्ग भएका कारण उनीहरुको हकहितका लागि काम गर्न भनेर स्थापना गरिएको संस्था महिलाहरुको एउटा प्रयास भएको बताइन् ।

कार्यक्रममा संस्थाकी पूर्वअध्यक्ष इन्द्रकुमारी अधिकारी र पोखरा आवाज राष्ट्रिय दैनिकका सम्पादक अनुप प्रकाश पौडेलले मन्तव्य राखेका थिए । संस्थाकी उपाध्यक्ष मीना पाण्डेले स्वागत मन्तव्य, सचिव जमुना शर्माले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मिना लिगलले आर्थिक प्रतिवेदन कोषाध्यक्ष मिना प्रस्तुत गरेका थिए । संस्थाले समाजमा पछाडि पारिएका महिलाहरुको शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँच र महिलाहरुको आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनैतिक अधिकार सुनिश्चितताका लागि सशक्तिकरण गर्ने एवम् बालबालिकाहरुको गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच तथा मर्यादापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

सो संस्थाले गत वर्ष विभिन्न कार्यक्रम आयोजना गरेको तथा अन्य विभिन्न क्रियाकलापमा संस्थागत सहभागीता जनाएकोे पनि जानकारी दिएको छ । पछिल्लो समयमा विकसित व्यस्त जीवन शैलीका कारण व्यक्तिले आफ्नो मानसिक, शारिरीक स्वस्थ्यलाई ध्यान दिन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै  तनाव रहित स्वस्थ जिवनयापनको लागि एक्सन एड नेपालका पूर्वकन्ट्रि डाईरेक्टर विमल फूयालबाट जीवन पर्यन्त सिकाईहरु विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको थियो । त्यसैगरी महिलाहिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा पोखरा गैह्रापाटन स्थित नविन माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई हिंसा विरुद्धको सचेतना कार्यक्रम, पोखरा गैह्रापाटनकै सिद्धार्थ आमा समूहलाई कानुनी सचेतना कार्यक्रम, संस्थाकै आजीवन, साधारण सदस्य, कार्य समितिका पदाधिकारीहरु र कर्मचारीहरुलाई कानुनी सचेतना तथा मनोसामाजिक परामर्श, रामकृष्ण टोल मिसा पुचमा मनोसामाजिक सुरक्षा तथा सहयोग सम्बन्धि अभिमुखिकरण तालिम गरेको थियो । आगामी दिनमा त्यसलाई निरन्तरता दिँदै अरु कार्यक्रमहरु पनि गर्ने लक्ष्य राखिएको पनि जनाइएको छ । त्यसका लागि संस्थागत कोष अभिबृद्धिका गर्न च्यारिटी शो र देउसी भैलो कार्यक्रम, स्थानीय तह तथा प्रदेश सरकारसंग समन्वय, आत्मरक्षा सम्बन्धि तालिम गर्ने लगायतका लक्ष्य निर्धारण गरिएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here