अन्तरवार्ता

महिलालाई पुरुषले सघाउनुपर्छ : उपमेयर मञ्जु गुरुङ

पोखरा, ११ पुस

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले घर ब्यवहार चलाउने महिलाहरू राष्ट्र चलाउन सक्षम रहेको बताएकी छन् । पोखरा महानगरपालिका–२३ स्थित प्रभावकारी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको १८औं साधारणसभा तथा नवौं अधिवेशनको उद्घाटन गर्दै उनले महिलाले अवसर प्राप्त गरे नेतृत्व गर्न सक्छन् भन्ने प्रमाणित गरेको बताइन् ।
महिलालाई जिम्मेवारी दिए वहन गर्न सक्छन् भन्दै उनले राष्ट्रप्रमुख, प्रधानन्यायाधीश, सभामुख भएर कुशलतापूर्वक महिलाले नेतृत्व गरिरहेको बताइन् ।
‘महिलाहरू कमजोर छैनन् भन्ने पुष्टि गरिसकेका छन्’, उनले थपिन, ‘त्यसैले अव महिलाहरू घरभित्रको काममा सिमित हुनुहुँदैन् । नेतृत्व लिन अग्रसर हुनुपर्छ, त्यसका लागि पुरुषहरूले सहयोग गर्नुपर्छ ।’ उपप्रमुख गुरुङले महिलाहरू सशक्तिकरण हुनुपर्नेमा जोड दिंदै समाज परिर्वतनका लागि महिलालाई अगाडी बढाउने जिम्मेवारी र दायित्व पुरुषको पनि भएको बताइन् ।
उपप्रमुख गुरुङले सहकारीहरूले महिलालाई आर्थिक रुपमा सवल र सक्षम बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले सहकारीहरूले नाफा गर्ने र शेयर बाँडने भन्दा स्वरोजगार बनाउदै उत्पादनतर्फ ध्यान दिनुपर्नेमा जोड दिइन् ।
सहकारीहरू आफनो ऐन कानुन र विधिभित्र रहेर सञ्चालन हुनुपर्नेमा जोड दिंदै उनले सहकारी अर्थतन्त्रको आधारस्तम्भ भएको बताइन् । पोखरा महानगरले सहकारीसंग सहकार्य गरेर जान १ सहकारी १ उत्पादनको अवधारणा ल्याएको उपप्रमुख गुरुङको भनाइ थियो ।
प्रभावकारी महिला सहकारीका अध्यक्ष लोककुमारी क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २३ का वडा सदस्य भरतराज भण्डारी, जिल्ला सहकारी संघका सदस्य अम्विका कुँवर, नेकपा वडाकमिटी २३ का अध्यक्ष चेतबहादुर क्षेत्री, सहकारीका पूर्वअध्यक्ष दोपलीदेवी पराजुली, शेयर सदस्य रिता सुनार, धनबहादुर गुरुङ, लेखबहादुर क्षेत्री, अमित क्षेत्री लगायतले बोलेका थिए । कार्यक्रममा सहकारीका ज्येष्ठ सदस्य बसन्धरी पराजुली, उत्कृष्ट बचतकर्ता जगमाया गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here