अन्तरवार्ता

मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध

 

पोखरा आवाज
काठमाडौँ, ४ असोज

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमविविएसको अध्ययनका लागि चितवन मेडिकल कलेज एण्ड साइन्सेज, भरतपुरलाई सरकारले तोकेकोभन्दा बढी लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ ।
त्रिविले विज्ञप्ति जारी गर्दै एमविविएस अध्ययनका लागि कलेजलाई २०७५ असोज २८ गते मन्त्रिपरिषद्ले तोकेको शुल्क लिन अनुरोध गरिएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । “कलेजले विद्यार्थी भर्ना गर्दा बढी शुल्क लिएको भनि विद्यार्थीले कलेजको पठनपाठन र अस्पतालको सेवासमेत ठप्प परेकाप्रति विश्वविद्यालयको ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।
सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिन नपाइने कुरा मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भएको अवस्थामा विद्यार्थीले राखेका मागका बारेमा कलेज सञ्चालक र सम्बन्धित पक्षले विद्यार्थीसँग वार्ता तथा संवाद गरी शुल्क बढी लिएको भए सो शुल्क फिर्ता गर्न विज्ञप्तिमा भनिएको छ ।
त्रिविले आन्दोलनबाट समस्याको समाधान नहुने हुँदा कलेजमा अध्ययरत विद्यार्थीलाई कलेजले आह्वान गरेको वार्ता र संवादमा सहभागी हुन आग्रह गरेको छ । त्रिविले विद्यार्थीको पठनपाठन र जनताको स्वास्थ्योपचार प्राप्त गर्ने अस्पताल जस्तो अति संवेदनशील स्थानमा बाधा अवरोध सिर्जना गर्ने गराउन कार्य नगर्नसमेत सम्बन्धित सबै पक्षसँग अनुरोध गरेको छ ।
यता कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संसद्ले बनाएका कानून पालना गर्न र गराउन सरकार कठोर हुने बताएका छन् । संविधान दिवसका अवसरमा आज यहाँ आयोजित वृक्षरोपण तथा वृक्षसिञ्चन कार्यक्रममा मन्त्री ढकालले सार्वभौम सम्पन्न संसद्ले निर्माण गरेको संविधानअनुसार सबै प्रक्रियामा सहभागी भई संविधान दिवस नमनाउने राजनीतिक दलमाथि जनताले प्रश्न उठाउने बताए ।
हालसम्म ३३६ कानून निर्माण भएको बताउँदै उनले मौलिक हकमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न अधिकारको व्यवस्था गरिएको जानकारी गराए ।
सांसद राजेन्द्र केसीले विभिन्न कालखण्डमा संविधान निर्माण गरिएको भए पनि त्यसले जनअधिकार संरक्षण गर्न नसकेका कारण जनप्रतिनिधिले बनाएको संविधान ल्याउनु परेको विचार व्यक्त गरे ।
अर्का सांसद कृष्णगोपाल श्रेष्ठले संविधान दिवस नमान्ने दल नैतिकरूपमा सरकारबाट अलग हुनुपर्ने बताउँदै त्यस्ता नेताले सरकारी भत्ता लिन नहुने बताए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मुलुकलाई समृद्ध बनाउन महानगरपालिकाले कृषि, पर्यटन, पूर्वाधार विकासलगायत क्षेत्रमा कार्यक्रम ल्याउन लागेको बताए ।
काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर वैद्य, नेपाली काङ्ग्रेस निकट ट्रेड युनियन सङ्गठनका कोषाध्यक्ष मोहन बस्नेतले बल्खुदेखि कीर्तिपुर गेटसम्म रोपिएका बिरुवाले हरियाली र स्वच्छ वातावरण कायम गर्ने विश्वास व्यक्त गरे । नागरिक लगानी कोष, लक्ष्मी बैंक र सिद्धार्थ बैंकको आर्थिक सहयोगमा ती बिरुवा रोपिएको हो ।

 

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here