अन्तरवार्ता

रंगशाला कार्तिक १५ मा सक्न निर्देशन

पोखरा, २७ असार
नवनियुक्त राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले पोखराको फुटबल स्टेडियम निर्माण आगामी कार्तिक १५ गतेसम्म सकेर हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । उनले शुक्रबार निर्माणाधिन प्यारापिटसहितको फुटबल मैदान निरिक्षण गर्दै निर्माण कम्पनीलाई राष्ट्रिय गौरवको योजनालाई ढिला नगरी कार्तिक १५ सम्ममा तयार पार्न निर्देशन दिए ।
‘कार्तिक १५ गतेसम्मको मिति दिन्छु । त्यो दिनसम्म काम सम्पन्न गर्नुहोस । यो राष्ट्रिय गौरवको योजना हो त्यसैले ढिला गर्नुहुदैन् ।’ सदस्य सचिव सिलवालले भने–‘पेमेन्टले रोकिदैन् । कहाँ अडकियो त्यो भन्नोस ।’ उनले ट्रयाक एण्ड फिल्डको कामपछि तत्कालै मैदानमा दुवो रोप्न सुझाव दिए । ‘प्राकृतिक मैदान बनाउनुपर्छ । हरियाली ठाँउमा कृत्रिम मैदान बनाउने होईन् ।’
उनले भने,‘आर्टिफियलमा जानु हुँदैन् । नेचुरल नै बनाउनुपर्छ । यो मेरो व्यक्तिगत विचार हो । सम्झौतामा कसरी भएको छ त्यो हेर्नुपर्छ ।’ उनले तोकिएकै समयसीमा भित्र पूर्वाधार तयार नभएको अवस्थामा साग नहुने दावी गरे । ‘पुर्वाधार निर्माण समय सक्ने गरी कमिटमेन्ट भएन भने साग हँुदैन्’, उनको भनाई थियो ।
प्यारापिटसहित ट्रयाक एण्ड फिल्ड बनाउन आवश्यक डिजाईन फाईनल नहुदाँ काममा ढिलाई हुदैं गएको छ । ‘पहिला डिजाईन फाईनल गर्नोस ।’ सदस्य सचिव सिलवालले भने, ‘डिजाईन फाईनल नहुदाँ काम समयमै सकिन्छ भन्ने विश्वास स्थानीयले गरेका छैनन् ।’
फाईनल डिजाईनका लागि साउन १ गते निर्माण कम्पनी, कन्सल्टेण्ट तथा राखेपका पदाधिकारी र इन्जिनियरको संयुक्त बैठकले टुग्याउने निर्णय समेत गरिएको छ । पोखरा रंगशाला फुटबल स्टेडियम निर्माणको लागि भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)सँग सम्झौता गरिएको हो । कम्पनीका प्रोजेक्ट प्रबन्धक हरिबावु न्यौपानेका अनुसार केही अप्ठ्यारालाई समाधान गरिदिए समयमै काम सकिन्छ ।
‘निर्णय गर्ने पाटोबाट हुने ढिलाईले काम गर्न हामीलाई अप्सट्याकल्सहरू छन् । त्यो छिटो निर्णय भईदिए सहज हुने थियो’, प्रोजेक्ट प्रबन्धक न्यौपानले भने, ‘निर्णय हुन्छ भन्ने आशावादी छौं । काम गर्न आएका हौं, सकेर जाँउ भन्ने हो ।’
न्यौपानेले रंगशालाको ट्रयाकका लागि आवश्यक सामान जर्मनबाट नेपालको लागि कन्टेनरमा लोड हुने अवस्थामा रहेको जानकारी दिए । ‘कन्टेनरमा लोड हुदैं छ । लोड भएपछि ४५ दिनभित्रमा फिल्डमा आईपुग्छ’, उनको भनाई थियो ।
सिन्थेटिक ट्रयाक जर्मनबाट र प्यारापिटको सामान भने फ्रान्सबाट आउने छ । ‘हामीले स्टिल फाउण्डेशन गरिदिनोस भन्ने हो’, उनले भने, ‘आईसोलेटेट फाउण्डेशन बनाउने परिषदको योजना हो ।’
राष्ट्रिय खेलकुद परिषदले भने फुटबल स्टेडियमका लागि आवश्यक बजेटमध्ये ५३ करोड समेत विनियोजन गरेको हो । नयाँ आर्थिक वर्षको लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
स्थलगत निरिक्षण गर्न सदस्य सचिवसहित राखेपका बोर्ड सदस्य राजेश गुरुङ, राखेपका इन्जिनियर अरुण उपाध्याय, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, समितिका उपनिर्देशक कृष्ण तिमिल्सिना, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदार, इन्जियिनर प्रनिस ताम्राकार लगायत सहभागी थिए । पोखखरा फुटबल मैदानका लागि १ अर्ब २८ करोड रुपैयाको लागत अनुमान गरिएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here