अन्तरवार्ता

रक्तदान नै महत्वपूर्ण धर्म ः मन्त्री लम्साल

 

पोखरा,२१ असार

गण्डकी प्रदेशका पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले मानिसले गर्ने सबैभन्दा महत्वपूर्ण धर्म रक्तदान भएको बताएका छन् । उनले धर्म कमाउन मन्दिरमा दान र पूजा पाठ होइन स्वस्थ भएर रक्तदान गरे हुने बताए ।
धादिङ–पोखरा सम्पर्क समाजद्वारा आयोजित १६औं खुला रक्तदान कार्यक्रम उद्घाटन गर्दै मन्त्री लम्सालले धादिङ समाजले सामाजिक क्षेत्रमा निकै सराहनीय काम गरेको आफूले बुझेको बताए । मन्त्री लम्सालले धादिङ समाज र धादिङवासीको समस्यामा आफूले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा १ सय १३ युनिट रगत संकलन भएको । उक्त अवसरमा मन्त्री लम्सालले पनि रक्तदान गरेर अन्य रक्तदातालाई हौसला प्रदान गरेका थिए ।
अन्तरसमाज महासंघ राष्ट्रिय समिति नेपालकी अध्यक्ष मञ्जु पौडेल भट्टराईले धादिङ समाजको सक्रियता कामबाट अन्य संघसंस्था र समाजले पाठ सिक्नुपर्नेमा जोड दिइन् । उनले धादिङ समाजबाट धेरै शिक्षा र प्रेरणा पाएको भन्दै महासंघमा पनि धादिङ समाजको भूमिका महत्वपूर्ण रहेको बताइन् ।
समाजको कार्यक्रमसहित ६६ औं पटक रक्तदान गरेका नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष जितेन्द्रमान शाक्यले रक्तदान गरेर कोही कमजोर नहुने स्पष्ट पारे । निरोगी मानिसले मात्र रक्तदान गर्न मिल्ने भन्दै उनले रक्तदानबाट झनै निरोगी हुने बताए । रक्तदान लगत्तै उनले ५० किमि साइकल यात्रामा निस्किएर तनहूँ पुगेका थिए । साइकलमार्फत करिब ३ घण्टामा उनी तनहूँको दमौली पुगेका थिए ।
कार्यक्रममा समाजका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ, सल्लाहकार गोकर्ण लम्साल, सचिव सरस्वती श्रेष्ठ, कार्यक्रम संयोजक कमल सापकोटा, कार्यसमिति सदस्य माधव लम्साल लगायतले बोलेका थिए । समाजका अध्यक्ष कृष्णबहादुर लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मोहन पण्डितले स्वागत र महासचिव रामप्रसाद पाण्डेले सञ्चालन गरेका थिए । कार्यक्रम पञ्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको हो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here