अन्तरवार्ता

वामदेव गौतम उपाध्यक्षमा सिफारिस

काठमाडौं, ३१ साउन
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षमा वामदेव गौतम सिफारिस भएका छन् । शुक्रबार बसेको पार्टी सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष प्रस्ताव गरेर अनुमोदनका लागि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा पठाउने निर्णय भएको वरिष्ठ नेता झलनाथ खनालले बताए ।
गौतमको उपाध्यक्ष सिफारिस भने विधानसंगत छैन । विधानको दफा १८ मा २ अध्यक्ष, २ वरिष्ठ नेता, १ प्रवक्ता र १ महासचिवमात्रै रहने व्यवस्था गरिएको छ । तर, नेकपाको सचिवालयले विधानको प्रावधान विपरीत गौतमलाई उपाध्यक्ष प्रस्ताव गरेको हो । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले विधानमा पछि व्यवस्था गर्ने बताए । उनको संकेत विधान संशोधनतर्फ थियो ।
सचिवालयको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई उपाध्यक्ष बनाउने पर्ने प्रस्ताव अघि सारेका थिए । ओलीको प्रस्तावमा कसैले विमति नजनाएको खनालको भनाइ छ । पछिल्लो समय वामदेव ओली नजिक छन् । पार्टी एकता हुनुअघिदेखि नै असन्तुष्ट रहँदै आएका वामदेव पुनः ओलीसँग नजिकिएको चर्चा चलिरहेका बेला उपाध्यक्ष प्रस्तावित भएका हुन् ।
बर्दिया–१ मा प्रतिनिधिसभामा पराजित भएपछि उनी भूमिकाविहीन जस्तै छन् । राष्ट्रिय पूर्वाधार विकास प्राधिकरण गठन गरेर प्रमुख बन्ने आकांक्षा पालेका गौतम प्रतिनिधिसभाको उपनिर्वाचन लड्न ठाउँ खोज्दै पनि हिँडेका थिए । तर, ओलीसँग मत नमिलेपछि उनको सपना अधुरै रहेको थियो ।
स्रोतका अनुसार अध्यक्ष ओलीले गौतमलाई कास्की–२ को उपचुनाव लड्न पनि आग्रह गरेका छन् । तर, गौतमले यसमा भने रुची नदेखाएको उनी निकट स्रोत बताउँछ । गौतम यसअघि पूर्वएमालेमा उपाध्यक्षकै भूमिकामा थिए । आठौँ र नवौँ महाधिवेशनमा उनी उपाध्यक्ष निर्वा्चित भएका हुन् । विधानको दफा६६ अनुसार केन्द्रीय कमिटीको बहुमत सदस्यलेमात्रै विधान संशोधन गर्न सक्नेछन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here