अन्तरवार्ता

वार्षिक नीति तथा कार्यक्रमकै आधारमा बजेट

पोखरा, ९ असार‘

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएको बजेट वार्षिक नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकताका आधारमा नै भएको बताएका छन् ।
गण्डकी प्रदेशसभाको सोमबारको बैठकमा प्रतिपक्षका तर्फबाट बजेट सम्बन्धमा उठाइएका जिज्ञासाबारे बोल्दै उनले सिद्धान्त, विचार र प्राथमिकताका हिसाबले बजेट तल–माथि नभएको स्पष्ट पारे ।
अघिल्लो वर्षको बजेट धेरैजसो अबण्डायुक्त भए पनि यस वर्षको बजेट त्यस्तो नरहेको स्पष्ट पार्दै उनले विषय एवं शीर्षकगत रुपमा बजेट छुट्याइएको बताएका थिए । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलगायतमा प्रत्यक्ष र समानुपातिक दुवै सदस्यको समान सहभागिता रहने मुख्यमन्त्री गुरुङले जानकारी दिए ।
यसअघि प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नीति तथा कार्यक्रमअनुसार बजेट नआएको, सरकारले प्रस्तुत गरेको ‘रेडबुक’ त्रुटिपूर्ण रहेकोलगायत विषय सच्याउन माग गर्दै गत शुक्रबारदेखि प्रदेशसभा अवरुद्ध गर्दै आएको थियो ।
बैठक शुरु हुनासाथ प्रतिपक्षी काङ्ग्रेसका सदस्य उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई बोल्न समय दिएका थिए । सभामा नेता नेपालीले रातो किताबमा प्रदेशसभाका भावना नसमेटिएका कारण त्यसलाई आफूहरूले सच्याउन माग गरेको बताए ।
बजेट विनियोजन समानताका आधारमा हुनुपर्ने भए पनि कुनै ठाउँमा आवश्यक योजनामा समेत बजेट नपरेको उनले धारणा राखेका थिए । सरकारले बजेट विनियोजन गर्दा गल्ती गरे पनि त्यसलाई स्वीकार्न नचाहेका कारण आफूहरूले प्रदेशसभा अवरुद्ध गर्नुपरेको उनले बताए ।
गण्डकी प्रदेशसभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालय सम्बन्धमा छलफल भएको हो । बैठकमा सदस्यहरूले अन्य मन्त्रालयका तुलनामा आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बजेट कम विनियोजन भएको बताए ।
प्रदेशसभा सदस्य राजीव पहारीले पछिल्ला समयमा बढ्दै आपराधिक गतिविधिमा नयाँनयाँ प्रयोग बढिरहेको बताउँदै त्यसको न्यूनीकरणमा सचेत बन्नुपर्ने बताए । अर्का सदस्य मणिभद्र शर्माले पछिल्ला समयमा युवामा कुलत गाउँ गाउँमा बढ्दै गएकोप्रति सचेत बन्नुपर्ने धारणा राखे ।
सदस्य मेखलाल श्रेष्ठले भौतिक योजना मात्रले समृद्धि र विकास असम्भव भएको बताउँदै सबै क्षेत्रलाई समेटेर जानुपर्ने बताए । विपद् व्यवस्थापन एवं तत्काल राहत तथा उद्धारका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयको महत्वपूर्ण भूमिका हुने उनले बताए । अर्का सदस्य कृष्ण थापाले सञ्चार क्षेत्रको बजेट विशेष गरी राजधानी केन्द्रित बनेको बताए ।
बैठकमा प्रदेशसभा सदस्य मीनबहादुर गुरुङ, पुष्पा केसी भण्डारी र सावित्रा रानाले विपद् व्यवस्थापन, अपराध नियन्त्रणजस्ता विषयलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए
यसैवीच प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीन तहका सरकारले एक्लाएक्लै हिँडे समृद्धि सम्भव नहुने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौडामा आयोजित पाँचौँ नगरसभालाई सम्बोधन गर्दै उनले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
उनले तीन तहका सरकारको लक्ष्य र उद्देश्य एउटै भएकोले सबै सरकारहरु एउटै दिशामा हिँड्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री गुरुङले भने, “प्रधानमन्त्री केपी ओली, सात वटा मुख्यमन्त्री र ७५३ वटा स्थानीय तहका प्रमुख एउटै डुङ्गामा सवार छाँै, सबैको सहकार्य भए मात्रै डुङ्गा पार लगाउन सक्छौँ, विकासका सवालमा पनि सबै एक हुन आवश्यक छ ।” उनले तीन तहका सरकारको कदम एउटै भए अबका दश वर्ष्भित्र मुलुकमा चमत्कार हुने दाबी गरे ।
उनले नीति तथा कार्यक्रममा आधारित भएर बजेट ल्याउनुपर्नेमा जोड दिँदै धेरै स्थानीय तहले नीति र बजेट एकसाथ पेश गरेको गुनासो गरे । उनले भने, “पहिला नीति तथा कार्यक्रम ल्याउने, त्यसमाथि छलफल गर्ने र नीति तथा कार्यक्रम पारित भएपछि बजेट ल्याउने पद्धति हो । तर केही स्थानीय तहहरुले पद्धति अनुसरण गर्न सकेनन् ।”
केन्द्र सरकारको भर पर्नुभन्दा स्थानीय तहले आम्दानीको स्रोत बढाउनुपर्नेमा सुझाव दिँदै मुख्यमन्त्री गुरुङले त्यसका लागि करको दायरालाई फराकिलो बनाउनुपर्ने बताए । प्रदेश सांसद आशा कोइरालाले गरीबी र बेरोजगारी विकासको बाधक रहेकोले स्थानीय तहहरुले गरीबी र बेरोजगारी निवारणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा नगरपालिकाका उपप्रमुख सविता रसाइलीले आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । प्रत्येक वडाका टोलमा पुगेर जनताका आवश्यकता र मागलाई प्राथमिकतामा राखेर योजना छनौट गरिएको उपप्रमुख रसाइलीले जानकारी दिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here