अन्तरवार्ता

शुद्ध पानी नपाउनु विडम्वना ः मन्त्री मगर

 

पोखरेलीलाई शुद्ध पिउने पानी २ वर्षपछि
पोखरा, २८ जेठ

अबको २ बर्षपछि भने पोखरेलीले स्वच्छ पानी पिउन पाउने भएका छन् । जापान सहयोग नियोग (जाईका) को ४ अर्ब ८१ करोड ३० लाख अनुदान सहयोगमा अब पोखरेलीले फिल्टेशन गरेको पानी पिउन पाउने भएका हुन् । मंगलबार खोलाको पानी छान्ने पोखरी (स्लो स्याण्ड फिल्टर) को पोखरा–१९ स्थित पुरनचौरमा खानेपानी मन्त्री विना मगर र नेपालका लागि जापानी राजदूत मासामिची सैगोले संयुक्तरुपमा शिलन्यास गरे ।
मर्दी खोलाको पानी पहिलो चरणमा छान्ने काम हुन्छ, त्यसपछि ३२ इन्चको पाइपबाट करिब ३ किलोमिटरको दुरीमा पुरुञ्चौरस्थित स्लो स्याण्ड फिल्टरबाट पानी सिधैँ पिउन मिल्छ । पुरुञ्चौरमा रहेको स्याण्ड फिल्टरले दैनिक साढे ४ करोड लिटर प्रशोधन गर्छ । पुरुञ्चौरबाट शुद्धिकरण गरिएपछि २० इन्चको ४ वटा पाइपबाट पोखरामा रहेका रिजर्भायर ट्यांकीमा पठाइने छ ।
पानी छान्नका लागि संस्थानले पुरुञ्चौरमा १ सय ३१ रोपनी जग्गा अधिग्रहण गरेको छ । यस अघि नै रहँदै आएको पोखरा–२, विन्ध्यवासिनीमा ४० लाख लिटर क्षमताको ट्याङ्की यथावत छ । अब मालेपाटन, फूलवारी र कोलपाटनमा २० लाख लिटर क्षमताको नयाँ ट्याङ्की बनाउने र पोखरेलीलाई शुद्ध पानी वितराण गरिने छ । पोखरामा पानी वितरणका लागि १ सय १० किलोमिटर पाइपलाइन बिछ्याइने पोखरास्थित खानेपानी संस्थानले जनाएको छ ।
स्लोे स्याण्ड फिल्टर पोखरी शिलन्यास अवसरमा मन्त्री विना मगरले आगामी २ वर्षपछि पोखरेलीले धमिलो पानी पिउनु नपर्ने उद्घोष गरिन् । ‘नेपालका संविधानले प्रत्येक नागरिकले शद्ध पिउने पानी पाउनु पर्ने अधिकार छ, सन् २०३० सम्म सबै नेपालीले शद्ध पानी पिउन सक्ने गरी सरकार अगाडि बढेका छौं’ उनले भनिन् ।
शुद्ध पानीसंगै पोखरेलीको स्वास्थ्यमा पनि सुधार ल्याउने उनले दावी गरिन् । आयु बढाउनुको साथै सरसफाईमा समेत शुद्ध पानीले सुधार ल्याउने मन्त्री पुनले दावी गरिन् । उनले भनिन्, ‘जलस्रोतमा विश्वकै दोस्रो धनी देश नेपाल हो । विडम्वना नेपालीले अझै शद्ध पानी पिउन पाएका छैनन । नेपालका केही प्रतिशत जनता अझै खोला र कुवाको पानी पिउन बाध्य छन्, कति महिला पानीकै लागि घण्टौं लाइनमा बस्नु पर्ने बाध्य छन् ।’
‘पानी शद्ध पिउन नपाएकै कारण देशमा महामारीका रोगहरू हैजा, झाडापखाला, रुवाखोकी, र टाइफाइट जस्ता रोग फैलिने गरेका छन् । अब नेपालका प्रत्येक घरमा धारा पु¥याएर त्यस्ता रोगबाट बचाउने र नेपालीलाई निरोगी बनाउने कार्यमा संघीय सरकार लाग्छ’, उनले भनिन, ‘प्रदेश र स्थानीय सरकारले पनि खानेपानीलाई पहिलो प्राथामिकतामा राख्नु होस ।’
नेपालका लागि जापानी राजदूत मासामिची सैगोले पर्यटकीय क्षेत्र पोखरामा शुद्ध खानेपानी उपलब्ध गराउन जापान सरकारले अनुदान सहयोग प्रदान गरेको बताए । जाइका नेपाल अफिसका प्रमुख प्रतिनिधि युमिको आशाकुमा नेपाल र जापानको सम्वन्ध सधै गाढा रहने बताइन् ।
स्लोे स्याण्ड फिल्टर पोखरी निर्माणका कामका लागि जापानिज कम्पनी हाजमा एन्दो कपोर्रेसनले निर्माणको ठेक्का पाएको छ । जापानले दिएको कुल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियो । हाजमा ले ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । अब कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा काम सक्नुपर्ने भएको छ । ३ वर्षमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य छ ।
आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्रभित्रका साढे ४ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने छन् । खानेपानी संस्थान पोखराका प्रमुख तथा आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर नीरन महर्जनले पानी अशुद्ध र अपुग भएपछि संस्थानले ट्रिटमेण्ट प्लाण्ट बनाउन लागेको हो । ठेकेदार कम्पनीले अप्रिल १५ तारिखदेखि नै काम थालिसकेको छ । विसं २०८० देखि प्रतिवर्ष १६ करोड रुपैयाँका दरले संस्थानले ऋण फिर्ता गर्नुपर्ने छ । समयमै आयोजना सम्पन्न नभए ब्ययभार बढ्दै जाने छ । खानेपानी मुहानका स्थानीयले सडक, नदी कटान नियन्त्रण, वृक्षरोपण लगायतका माग राखेका छन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here