अन्तरवार्ता

श्रीपति कोइरालाको जन्मजयन्ती मनाइयो

पोखरा २७ असार
ज्योतिषी, धर्मात्मा एवं समाजसेवी व्यक्तित्व श्रीपति कोइरालाको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । श्रीपति कोइराला गुठीले एक कार्यक्रम आयोजना गरि श्रीपतिको जन्मजयन्ती मनाइएको हो । उक्त अवसरमा श्रीपतिको व्यक्तित्व र कृतित्वमाथि चर्चा, विद्यार्थीलाई पुरस्कृत, विभिन्न धार्मिक एवं वौद्धिक व्यक्तित्वलाई सम्मान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. दिलबहादुर क्षेत्रीले इतिहास निर्माण गर्नेले लेख्नुपर्ने र यदि लेखिएको छैन भने सन्ततिले लेख्नुपर्नेमा जोड दिए । उनले भने, ‘इतिहास भनको इतिहास नै हो । एकपटक लेखिएको इतिहास कहिल्यै मेटिंदैन ।’
अहिले श्रीपतिका सन्नतिले जुन भूमिका निर्वाह गरेका छन् त्यो सबैलाई शिक्षा हुने उनले बताए । इतिहासविद् समेत रहेका प्रा. डा. क्षेत्रीले कोइरालाहरूको इतिहासबारे समेत चर्चा गरेका थिए ।
गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले श्रीपति कोइरालाको भावना अझै समेटिन नसकेको बताइन् । उनले उहाँको क्रान्तिकारी विचार अझै उजागर गर्न आवश्यक रहेको भन्दै त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
श्रीपतिले २ सय वर्ष अघि देख्नुभएको समृद्धि नेपालमा बल्ल आवश्यक भएको भन्दै श्रीपतिको व्यक्तित्व र कृतित्वको प्रचार प्रसार गरेर समाज रुपान्तरण गर्नुपर्नेमा उनले जोड दिइन् ।
केदारेश्वर महादेवमणि मन्दिरका पिठाधीश डा. लेखनाथ आचार्यले राज्यले संस्कृति शिक्षाको अवमूल्ययन गरेको भन्दै दुःख व्यक्त गरे । नेपाल संस्कृति र संस्कारको धनी मुलुक भनेर विश्वस्तरमै परिचित भए पनि राज्यले चिन्न नसक्नु विडम्वना भएको डा. आचार्यले बताए । उनले नेपालको इतिहास कोर्ने, संस्कार र संस्कृति जगेर्नामा योगदान दिने व्यक्तित्वको मूल्यांकन हुनुपर्ने खाँचो औंल्याए ।
संस्थाका अध्यक्ष मोहननाथ कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रामेश्वर अधिकारी, संस्थाका पूर्व अध्यक्ष हेरम्वराज कोइराला, उपाध्यक्ष रमा कोइराला र सचिव फडिन्द्रराज कोइरालाले पनि बोलेका थिए । श्रीपतिको जीवनीमाथि लक्ष्मण प्रसाद कोइरालाले चर्चा गरेका थिए ।
डा. आचार्य र पं. तिमिल्सिना सम्मानित
श्रीपति जयन्तीको अवसरमा केदारेश्वर महादेवमणि मन्दिरका पिठाधीश डा. लेखनाथ आचार्य र पोखरा चिसाखोला वेद विद्याश्रममा संस्थापक पं. केदारनाथ तिमिल्सिनालाई सम्माान गरिएको छ । नेपालको धर्म संस्कृति संरक्षण र जगेर्नामा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनीहरूलाई सम्मान गरिएको हो ।
डा. आचार्यको जीवनीमाथि रामजीप्रसाद कोइराला र पं. तिमिसिनाको जीवनीमाथि नवराज कोइरालाले प्रकाश पारेका थिए । अर्घाखाँचीमा जन्मिएका डा. आचार्यले काशी वनारस विश्वविद्यालयबाट वेदान्तमा विद्यावारिधि गरेका छन् । उनले वनारसमा रहेर ३० वर्ष अध्ययन र अध्यापन गरे ।
यस्तै नुवाकोट जिल्लामा जन्मिएका पं. तिमिल्सिनाले नेपालमा संस्कृत शिक्षाको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिएका छन् । पोखरा चिसाखोला आश्रम निर्माण र सञ्चालनमा उनको योगदान अझै कायम छ । उनी हाल ९६ वर्षमा चल्दै छन् ।
विभिन्न विद्यार्थी पुरस्कृत
श्रीपति जयन्तीको अवसरमा दर्जन बढी विद्यार्थी पुरस्कृत भएका छन् । यसैक्रममा पोखरा चिसाखोला वेद विद्याश्रममा अध्ययनरत नवराज लम्सालले गरिब जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्राप्त गरे । यसैगरी कुमार बराल, नेहा अग्रहरि, शौरभ देवकोटा, तारा कोइराला, प्रतिक्षा कोइरालाले छात्रवृत्ति प्राप्त गरे ।
यस्तै प्रज्वल कोइराला र ईश्वर कोइराला श्रीपति विद्यापदकबाट विभूषित भए भने मनिषा पोखरेल वस्ताकोटी, विष्णुमाया पौडेल, लोकराज घोडासैनी, सृटता बगाले, गीता पौडेल, रमाकान्त पौडेल, ज्योती सुनार लगायतले श्रीपति सम्मान प्राप्त गरे ।
को हुन् श्रीपति ?
वि.सं. १८६४ असार २७ गते पोखरा ४ गैरापाटनमा जन्मिएका श्रीपतिले वनारसबाट ज्योतिषशास्त्र, धर्मशास्त्र, तन्त्रविद्या, आयुर्वेद र षडशास्त्रको अध्ययन गरेका थिए । अध्ययन पूरा गरी नेपाल फर्किएर उनले सरकारी जागिर हाकिम खरदार भएर काम गरेका थिए । उनी कुशल प्रशासक मात्र होइन कहलिएका ज्योतिषी पनि थिए । उनको विभिन्न स्थानमा पार्टीपौवा, मठ मन्दिर, बाटोघाटो निर्माणमा महत्वपूर्ण योगदान रहेको छ ।
उनले १८९८ र १९०० मा राजकीय सम्मानसहित ५ गाउँ विर्ता प्राप्त गरेका थिए । तत्कालिन समयमा श्रीपति समाजको एक विद्वान, बहुविषयको विज्ञ, सरकारको उच्च पदको कर्मचारी र अब्बल समाजसेवी थिए । उनी आदिकवि भानुभक्त आचार्यका समकालिन थिए । उनको निधन १९२६ सालमा भएको हो ।
श्रीपतिको व्यक्तित्व र कृतित्वका बारेमा महाकाव्यकार रामनाथ अधिकारी संगीले महाकाव्य समेत लेखेका छन् । उनको नाममा गुठी र सहकारी समेत सञ्चालनमा छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here