अन्तरवार्ता

संग्रहालयमा नवनिर्मित प्रदर्शनी कक्ष

पोखरा, २३ साउन
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पोखरा–९ स्थित गण्डकी प्रदेश संग्रहालयमा नवनिर्मित प्रदर्शनी कक्षको समारोहबीच उद्घाटन गरे ।
पुरातत्व विभागद्वारा निर्मित सो प्रदर्शनी कक्षमा विष्णु, भीमसेन, तिब्बती कलाशैलीको लामा धर्म गुरु र हिमाली लामाको मूर्तिलगायत १८ औँ शताब्दीका मूर्तिहरू राखिएको छ । साथै तमु समुदाय अर्थात् गुरुङको ३ पुरोहित क्रमशः पच्यू, कलेप्री र वोन्पोलामका मूर्ति पनि प्रदर्शनी कक्षमा राखिएको छ ।
यस्तै पर्यटकहरूलाई २ सय पुरानो नेपालको संस्कृतिलगायतका विषयमा जानकारी गराउनका लागि दमाहाजस्तै सानो आकारको एकनाले बाजा ट्र्याम्पो, गन्धर्व जातिको लोकबाजा, ढ्यांग्रोलाई गजाको सहायताले बजाउने बाजा, ढोलक, डम्पूm र मादललगायतका पुरातात्विक वस्तुहरूसमेत प्रदर्शनी कक्षमा राखिएको गण्डकी प्रदेश संग्रहालयको कार्यालयले जनाएको छ ।
सो अवसरमा मन्त्री पुनले प्रदेश संग्रहालयलाई नमूनाको सङ्ग्रहालय बनाउनका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै प्रदर्शनी कक्षलाई आयआर्जनका साथै अध्ययनको थलोका रूपमा विकास गर्नुपर्ने र यसका लागि प्रदेश सरकारको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।
संग्रहालयले संस्कृति, संस्कार, जीवनपद्धति र कलाको प्रतिनिधित्व गर्ने गरेकाले यसको संरक्षण एवं संवद्र्धन हुनुपर्नेमा उनले जोड दिए ।
मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले चालू आवमा प्रदेश संग्रहालयका लागि रु १ करोड विनियोजन गरिएको जानकारी दिदैं ३५ वर्ष पुरानो संग्रहालय भए पनि सो अनुरुप प्रगति गर्न नसकेको बताए ।
प्रदेश संग्रहालय कार्यालयका प्रमुख करुणा राईले संग्रहालयको विकास, विस्तार, उपयोगिता र संरक्षणका विविधपक्षमाथि प्रकाश पारे । कार्यक्रममा तमु पेलु संघका अध्यक्ष ओमबहादुर गुरुङ, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका प्रबन्ध निर्देशक शंकरबहादुर गौतम, वडा नं ९ का अध्यक्ष रामराज लामिछानेले सं्रहालयको संरक्षण तथा सरसफाइमा जोड दिनुपर्ने बताउँदै यसको विकास तथा विस्तारका लागि प्रचारप्रसारको खाँचो देखिएको बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here