असोज २२, २०७६
काठमाडौं – चिनियाँ राष्ट्रपति शी चिनफिङ असोज २५ गते शनिवार नेपाल आउने पक्का भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपतिले १२ र १३ अक्टोबर (असोज २५–२६) गते नेपाल भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ ।
राष्ट्रपति शीले नेपाल आएर समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।
त्यसपछि शीसहित चिनियाँ प्रतिनिधिमण्डलका लागि राष्ट्रपति भण्डारीले दिवा भोजको आयोजना गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपति शी र प्रधानमन्त्री ओलीको उपस्थितिमा नेपाल–चीन द्विपक्षीय सम्झौतामा हस्ताक्षर समेत हुनेछ ।
भ्रमणका क्रममा राष्ट्रपति शीले प्रधानमन्त्री केपी शर्मा ओली तथा शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्नेछन् ।
सुरक्षा व्यवस्था कडा
करिब २२ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपालीले तयारी तीब्र बनाएको छ । काठमाडौंका सडकहरु सिघाँरिएका छन् भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन् । उनलाई सरकारीले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने तयारी गरेको छ ।
यो तहको सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ ।
यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डो सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुन्छन् भने टोलीका सदस्य अत्याधुनिक हातहतियार र सञ्चार उपकरणले सुसज्जित हुनेछन् ।
सीले चीनबाटै पनि सुरक्षाकर्मी ल्याउनेछन् ।
Leave a Reply