अन्तरवार्ता

सवारी दुर्घनटनामा मृत्यु हुनेको संख्या घट्यो

पोखरा, १० साउन

कास्कीमा आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आर्थिक वर्ष २०७५÷७६ मा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीको तथ्यांकअनुसार गत आवमा ज्यान गुमाउनेको संख्या ३१ रहेको छ । अघिल्लो आवमा सवारी दुर्घटनाबाट ४७ जनाले ज्यान गुमाएका थिए ।
आव २०७५÷७६ मा ८२ दुर्घटनामा ८० जना घाइते भएका थिए । अघिल्लो आवमा ७९ दुर्घटना भएकोमा ८८ घाइते भएका थिए । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधानको संख्या भने बढेको छ । गत आवमा ट्राफिक नियम उल्लंघन गर्ने ६४ हजार २ सय सवारी कारवाहीमा परेका थिए ।
तर अघिल्लो आवमा ५१ हजार ५ सय १ सवारी कारवाहीमा परेको तथ्यांक छ । ट्राफिक नियम मिच्ने, कमजोर सडक संरचना, सीमित क्षेत्रमा बढ्दो सवारी चापनै दुर्घटना बढ्नुको कारण भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब निरीक्षक जितजंग कार्की बताउँछन् ।
उनी भन्छन्, ‘दुर्घटना न्यूनीकरणका लागि विद्यालय र समुदायमा पुगेर सचेतना जगाइरहेका छौं, मादक पदार्थ सेवन (मापसे) मा कडाइ गरेका छौं र जथाभावी ‘ओभर टेक’ गर्नेलाई कारवाही गरेका छौं ।’
दुर्घटना केवल ट्राफिक प्रहरीको मात्र विषय नभएर चालक पनि जिम्मेवार हुनुपर्ने र सडक संरचनाको स्तरोन्नति अर्को महत्वपूर्ण पाटो भएको उनको भनाइ थियो ।
कार्कीका अनुसार एक वर्षको अवधिमा जथाभावी पार्किङ गर्ने २ हजार ९ सय सवारीसाधनमा ‘ह्वील’ तथा ‘चेन लक’ लगाइएको थियो । गत आवमा नियम विपरीतका सवारी चलाएवापत रु चार करोड ४७ लाख ३७ हजार ५ सय राजश्व संकलन भएको थियो ।
पर्यटकीय शहर पोखरामा बढ्दो सवारी चापले गर्दा ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको सरोकारवालको भनाइ छ । जिल्लामा जम्मा ८८ जना ट्राफिक जनशक्ति रहेको छ ।
१ जना ट्राफिकले २ हजार ४ सय ७७ वटा सवारी साधन व्यवस्थापनमा गर्नुपर्ने अवस्था छ । कास्कीमा १ हजार ७ सय ८० किलोमिटर सडक छ । जिल्लामा हालसम्म दर्ता भएका सवारी साधनको संख्या २ लाख ५ हजारमाथि छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here