अन्तरवार्ता

क्रिकेटलाई सधैं विवादमा राख्नेहरू अपराधी हुन् ः सिलवाल

पोखरा आवाज
पोखरा, २८ असार

राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले नेपाल क्रिकेट संघ (क्यान) को विवाद एक सातामै सुल्झिने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार भेटघाटमा क्रिकेटको विवाद समाधान गर्न ५ सदस्यीय कमिटी रहेको स्पष्ट पार्दै उनले भने, ‘क्रिकेट विवाद १ हप्तामा चुरोमा पुग्छ ।’
क्रिकेटमा विवाद गर्ने र समाधान हुन नदिने भए थरी समूह रहेको भन्दै उनले समाधान गर्न नचाहनेलाई विगार्ने अधिकार पनि नभएको स्पष्ट पारे । उनले भने, ‘क्रिकेटलाई सधैं विवादमा राख्नेहरू अपराधी हुन् ।’ उनले आइसिसीकै कार्यालयमा पुगेर भए पनि कुरा राख्ने र विवाद समाधान गर्ने स्पष्ट पारे । उनले थपे, ‘त्यहाँबाट भएन भने आइसिसीकै अफिसमा गएर पनि समस्या समाधान गर्छु ।’
‘हामीले नै आइसिसीलाई निलम्बनको मौका दिएका हौं । हाम्रो अदालत पनि दोषी छ,’ उनले भने । ‘समयमै अदालतले निर्णय नगर्दा समस्या भयो’, उनले भने, ‘ढिलो न्याय दिनु पनि अन्याय हो ।’
उनी स्वयं तदर्थ समिति संयोजक हुँदा नेपाल क्रिकेट संघको विवाद उत्कर्षमा पुगेको थियो । निर्वाचित क्यानलाई तत्कालीन सदस्यसचिव केशवकुमार विष्टले मान्यता नदिई सिलवालको नेतृत्वमा तदर्थ समिति बनाएका थिए । त्यसपछि निर्वाचित क्यानले अदालतमा मुद्दा हाल्यो । लगत्तै आइसिसीले क्यानको सदस्यता निलम्बन गरिदियो, जुन अहिलेसम्म जारी छ ।
सदस्य सचिव सिलवालले समस्या समाधानका लागि ५ सदस्यीय कमिटीसँग छलफलको मिति तय गरेको बताउँदै छलफलपछि १ साताभित्र समाधान गर्न पहल गर्ने बताए । ‘क्रिकेटमा केही मान्छे यस्ता छन, उनीहरूको जिन्दगी भाँड्नमै व्यस्त छ । उनीहलाई म सार्वजनिक रूपमै अपराधी हुन् भनी घोषणा गर्छु’, सिलवालले भने, ‘खेललाई सपार्न जो आए पनि हुन्छ । कसैलाई पनि खेलाडी र खेलको भविष्य विगार्ने अधिकार छैन ।’
‘साग समयमै गर्न नसके राजीनामा’
सदस्यसचिव सिलवालले १३औं दक्षिण एसियाली खेलकुद (साग) तोकिएको मितिमा गर्न नसके राजीनामा दिने समेत बताए । उनले तोकिएको मितिमा साग र नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रमुख चुनौती रहेको भन्दै प्रतियोगिता तोकिएको मितिमा गर्न नसके राजीनामा दिने स्पष्ट पारे । उनले भने, ‘जे कामको निम्ति आएको हुँ । त्यो गर्न नसके, म मेरो पदमा बस्नुको कुनै अर्थ हँुदैन । मेरो हनीमुन पिरियडमा धेरै काम गरेर देखाउनुपर्छ । मलाई पूर्ण रुपमा खेलकुदमा सहयोग प्राप्त छ, साग सम्पन्न गर्न चुनौती पूर्ण छ र जिम्मेवारी अनि दायित्व छ यी सबैलाई सन्तुल मिलाएर अघि बढछु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सदस्य सचिवमा नियुक्तिको प्रस्ताव गरेसंगै चुनौतीको सामना गर्न आफू अघि सरेको उनले स्पष्ट पारे । १३ औं साग डिसेम्बर १ देखि ९ तारिखसम्म नेपालमा हुने र त्यसका लागि धेरै चुनौती थाहा भएरै सामना गर्न तयार भएर आएको उनले बताए । ‘हामीसंग समय धेरै छैन । मलाई २वटा चुनौंती छन्, एउटा भौतिक संरचना निर्माण गर्न जुन आधारभूत कुरा हो र अर्काे भनेको खेलाडीको तयारी ।’
मैदान विना र खेलाडीलाई समयमै प्रशिक्षण गर्न नसके नतिजा हाम्रो पक्षमा नआउने हुँदा त्यसतर्फ गम्भिर भएको राखेप सदस्य सचिव शिलवालले बताए । उनले भने, ‘म नियुक्ति भएदेखि यसमा लागेको छु । म प्रायः सुतेकै छैन । हरेक दिन हरेक छिन, सबै क्षेत्रमा गएर काम गरेको छु । अर्को चुनौती पनि छ मलाई, धेरै रिवन काट्न नपठाइ दिनुहोस् भन्ने हो । एक दिन पोखरा बसाईमा पनि समयको सदुपयोग गरेको छु ।’
पैसाको कारणले साग र त्यसका लागि आवश्यक भौतिक संरचना निर्माणमा कुनै असर नपर्ने उहाँको भनाई छ । उनले भने, ‘प्रधानमन्त्रीले मलाई ४ महिना भित्र साग गर्नुपर्छ भन्ने निर्देशन दिनु भएकोले त्यस अनुरुप म लागेको छु ।’ सदस्य सचिव सिलवालले भने, ‘प्रधानमन्त्रीले मलाई बजेटको चिन्ता नलिनुहोस् बजेट निकासा नभए म कहाँ सिधै आउनुहोस म निकासा गरिदिन्छु भन्नु भएको छ । अब हामीले कुनै बाहना गर्न मिल्दैन् तोकिएकै मितिमा गर्नैपर्छ । गर्न नसके नेपालको अन्तर्राष्ट्रिय बेइज्जत हुन्छ ।’
मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजाराम पौडेलले गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here