अन्तरवार्ता

आज विश्वकर्मा पूजा

पोखरा, ३१ भदौ

आज असोज १ गते विश्वकर्मा पूजा गर्ने दिन सामान्यतया भगवान् विश्वकर्मालाई हामी इन्धन, साधन, कलाकारिता तथा औजारका देवताका रूपमा हेर्छौं, पूजा गर्दछौं तर पौराणिक तथा प्रामाणिक (वैज्ञानिक) दृष्टिकोणमा विश्वकर्मालाई अनेक रूपका भगवान् मानिएको पाइन्छ ।
वेदमा उल्लेख गरिएका वेदका अष्टवसुमध्ये प्रभाव वसुका पुत्र भगवान् विश्वकर्मा प्रथमतः वेदज्ञ, ज्योतिषज्ञ, वास्तुविद् तथा हरेक शास्त्रहरूका ज्ञाता भएकाले सर्वज्ञ मानिएको छ भने शिल्पकला, वास्तुकला, मूर्तिकला, हस्तकला, काष्ठकला आदिका प्रवर्तक नै मानिन्छन्। विश्वकर्माको जन्म विषयमा विद्वान्हरूमा अनेक मत पाइन्छ ।
१. अङ्गिरापुत्र सुधन्वालाई विश्वकर्मा ।
२. भुवन पुत्र भौवन विश्वकर्मालाई विश्वकर्मा ।
३. अष्टवसुमध्ये प्रभास वसु पुत्र विश्वकर्मा ।
वेदमा उल्लेख भएका अष्टवसुहरू विभिन्न कलाहरूका ज्ञाता थिए । कोही अग्नि कलाका ज्ञाता थिए भने कोही यातायात, कोही वायव्यास्त्रआदि प्रवर्तक थिए भने कोही विभिन्न इन्धनादिका । ती अष्टवसुमध्ये प्रभास वसु आग्नेय कुशलताका धनी थिए । उनका पुत्रविश्वकर्माले पिताको कलालाई ग्रहण मात्र गरेनन् काका, ठूलो बुबाहरूका शिल्पकलाका अनेक भेदलाई पनि सही ढङ्गबाट उतारी प्रवर्तकका रूपमा स्थापित भए । उनै विश्वकर्मा आदि विश्वकर्मा हुन् ।
त्यस्तै, स्कन्द पुराणको प्रभात खण्डमा विश्वकर्माको जन्म अर्थात् विश्वकर्मा को हुन् भन्ने विषयमा स्पष्ट भनिएको छ, त्यसैगरी अन्य पुराणले पनि यसै कुरालाई अनुसरण गरेको पाइन्छ ।
विश्वकर्माको जन्मको विषयमा स्कन्द पुराणहरूको मत, विश्वकर्मा बृहस्पतिको भुवना नाम गरेकी बहिनी प्रभास वसुलाई विवाह गरी दिए पछि शिल्पकर्ता विश्वकर्माको जन्म भएको हो । विश्वकर्माको आमाको नाम भुवना थियो भने अन्य पुराणहरूमा भुवनाको अन्य नाम जस्तै योगसिद्धा, वरस्त्री आदि नाम पनि लेखिएको पाइन्छ ।
प्राचीन ग्रन्थको मनन–अनुशीलनबाट यो थाहा पाइन्छ कि जहाँ ब्रह्मा, विष्णु र महेश्वरको पूजा–अर्चना हुन्छ त्यहाँ भगवान् विश्वकर्माको पनि स्मरण तथा पूजन गरिन्छ । सृष्टि र कर्म व्यापार हो उनै विश्वकर्मा हुन् । उनै विश्वकर्माद्वारा नै विश्वको रचना भएको हो । विश्वकर्मालाई विश्वकृत, विश्वकर्मा, त्वष्टा, भूर्भुवः भुवनेश, स्वर्गदेव आदि नामले चिनिन्छ ।
विश्वकर्माको स्वरूप
भगवान् विश्वकर्माले एक हातमा नाप्ने फित्ता (गज), दोस्रो हातमा डोरी, तेस्रो हातमा कमण्डलु चौथो हातमा पुस्तक वा ज्ञानसूत्र धारण गरेका छन् । हाँसमाथि विराजमान विश्वकर्माका तीन नेत्र सुशोभित छन् भने उनले शिरभागमा सुन्दर मुकुट धारण गरेका छन् । सबै प्रकारले वृद्ध शरीर भएका विश्वकर्मा तीनै लोकका सबै प्रकारका देवघर, राजघर, मनुष्यघर आदि सुन्दर घरहरूको रचना कर्ता तथा यो जगत्को हितकर्ता, सृष्टिकर्ता र सूत्रधार नै हुन् ।
त्यस्तै, महाओजस्वी, तेजोमय स्वरूप, चतुर्भुज, ब्रह्मतेजबाट तताएर सुन जस्तो वर्ण, कानमा दिव्य कुण्डल, ठूलो निधार जसमा ज्ञानचक्षु र शिरमा चन्द्रमाको दिव्यता झल्किरहेको यस्तो सुख मुद्रामा भगवान् विश्वकर्मा ज्ञानप्रदाता, मोक्षप्रदाता र विश्वका दुःखको निवारण कर्ता तथा सृष्टिकर्ताको रूपमा विराजमान छन् । भगवान् विश्वकर्माको स्वरूप वास्तवमै अत्यन्तै मनोहर र सुन्दर छ ।
विश्व रचयिता
पृथ्वीको पहिलो राजा पृथुले उबड–खाबड अवस्थामा रहेको संसारलाई सम्म पारेर भगवान् विश्वकर्मालाई बोलाएर संसारको भौगोलिक व्यवस्था मिलाउन लगाए । अनि भगवान् विश्वकर्माले ब्रह्माको आज्ञाबाट बसोबास योग्य भवन स्थलहरू निर्माण गर्नुभयो र मानवजातिलाई व्यवस्थितता प्रदान गरे ।
विश्वकर्माद्वारा नै विश्वको अर्थात् सम्पूर्ण संसारको सिर्जना भएको हो त्यस्तै, विश्वकर्माद्वारा नै सूर्यको गोलाकार, ताप पृथ्वीमा झर्ने दिशा, सूर्य रहने, घुम्ने दिशा, सूर्यको आकार–प्रकार आदि सबै निर्णय भयो, चन्द्रको बिम्ब, चन्द्रको आकार–प्रकार, वनस्पतिको उल्लेखता, यथायोग्य वनस्पतिका क्रमहरू, पशुपंक्षी अनुसारको वनस्पति निर्माण स्थानहरू आदि इत्यादि विश्वका सम्पूर्ण उपयोग्य प्रकृतिमय वातावरण पनि विश्वकर्माद्वारा निर्माण भएको हो भन्ने विद्धानको मत रहेको छ ।
विश्वकर्माले नै संसारको सृष्टिलाई रचना गर्नुभएको कुरा स्वयं ब्रह्माजी भन्नुहुन्छ, अर्थात् सम्पूर्ण संसारलाई महाप्राज्ञ विश्वकर्मा बनाउँछन् । हे पृथु ! उनले देवराज इन्द्रको अमरावती निर्माण गरे, राजाहरूको धेरै मनोरम शहरहरू पनि उनले नै निर्माण गरे, तिमीले सेवा गर्न लायक बनाएको यस पृथ्वीमा विश्वकर्माले अवश्य पनि शहर, गाउँ, नगरहरूका सुन्दर, सुन्दर स्थानहरू बनाउँछन् ।
विश्वकर्माको विषयमा वेदमा पनि यसरी वर्णन भएको पाइन्छ । वेदले उनको सर्वव्यापकता, सर्वज्ञता, शक्ति(सम्पन्नता र अनन्ततालाई राम्रोसँग देखाएको छ ।वशिष्ट पुराणमा पनि भगवान् विश्वकर्माको वर्णन गरिएको छ, अर्थात् धर्मशास्त्रमा पनि माघ शुक्ल त्रयोदशीलाई विश्वकर्मा जयन्तिको रूपमा लिइन्छ ।
तर, शास्त्रले बताए अनुसार विश्वकर्मा जयन्ती मनाउनु अनुचित हो । तर, पूजा–आजा भने अवश्य पनि गर्नुपर्दछ । वर्षमा कयौं दिन विश्वकर्माको पूजा अर्चना गरिन्छ । त्यसमा पनि कन्या संक्रान्ति अर्थात् आश्विन १ गतेका दिन विशेष गरी भगवान् विश्वकर्माको पूजा–अर्चना गर्ने गरिन्छ । त्यसैगरी कार्तिक शुक्ल प्रतिपदा (गोवर्धन पूजा) र भाद्र शुक्ल पञ्चमीका दिन पनि विश्वकर्माको पूजा गर्ने परम्परा उत्तरी भारततर्फ छ ।
नेपालमा भने विश्वकर्मा पूजा आश्विन १ गतेका दिन नै गर्ने गरिन्छ । कतिपय स्थितिमा खड्गपूजा, साधनपूजा गर्नुपर्दा पनि भगवान् विश्वकर्मालाई स्मरण गर्ने प्रचलन रहिआएको पाइन्छ । प्रत्येक प्राणीले आफ्नो उन्नति, प्रगति, धन, धान्य, समृद्धि, पुत्र, पौत्र, शिल्प, कलाकारिता, बुद्धि, विवेक आदिका प्राप्तिका लागि विवाह, यज्ञ, गृह प्रवेश आदि हरेक कार्यमा विश्वकर्माको पूजा–आजा गर्नु अति राम्रो मानिन्छ । किनकि विश्वकर्मालाई वेदले पनि भगवान् प्रजापतिको विशेषणका रूपमा प्रयोग गरेका छन्, ‘प्रजापति विश्वकर्मा विसुचित ।’
वास्तु शास्त्रका १८ उपदेशकमध्ये विश्वकर्मा प्रमुख मानिन्छन् । किनकि, गृहवास्तुका लागि अन्य उपदेशकहरूको पूजा–आजा, स्मरण, अर्चना गरिंदैन । अरू सबै उपदेशक मात्र हुन् तर विश्वकर्मा गृहवास्तुका भगवान् नै हुन् । वास्तुस्थिति मिलाउनका लागि विश्वकर्माद्वारा रचना गरिएको वास्तुशास्त्रका सिद्धान्तहरू जति महत्वपूर्ण र उपयोगी अरू कुनै प्रकार हुन सक्दैन ।
सर्वप्रथम ब्रह्माको आज्ञाबाट संसारको भौगोलिक अवस्थालाई महाराज पृथुले मिलाएपछि विश्वकर्माले वास्तुसिद्धान्तमा रहेर संसारको सिर्जना गर्नुभयो । सोभन्दा अगाडि इन्द्रादि देवताको महल भएको शहर अमरावती नगरीको निर्माण गर्नुभएको थियो । त्यसपछि इन्द्रवन, स्वर्णमयी लङ्का, द्वारिका, हस्तिनापुर आदि उत्कृष्ट शैलीका दरबारहरूको रचना गरी कलाकारिता, शिल्पकारिताको बेजोड उदाहरण प्रस्तुत गरेका हुन् ।
विश्वकर्माकै देनले गर्दा यन्त्रको विकास हुन पायो । अहिले हामी मानवजाति बिहान उठेदेखि बेलुका सुतुञ्जेलसम्म यन्त्रको प्रयोग गर्दछौं, जस्तै ः मोबाइल फोन, बिजुली आदि । त्यसैगरी उनैको शिल्पकारिताको प्रयोग गर्दछौं, जस्तै ः काठ, घर, मन्दिर, भवन आदि ।
विश्वकर्माको शिल्पकारिता, आग्नेय कुशलता, ओजस्विता आदिको गहकिलो अध्ययन गरेर नाट्यशास्त्रका रचयिता भरतमुनि आचार्यले आफ्नो ‘नाट्यशास्त्रम्’ नामक कृतिमा पनि भगवान् विश्वकर्माद्वारा रचना गरिएको अमरावती, द्वारिका आदिको यथोक्त वर्णन गरेका छन् । विश्वकर्मीयशिल्पका विषयमा विभिन्न पुस्तकहरूको रचना पनि भइसकेको पाइन्छ । उनको शिल्पकारितालाई सम्पूर्ण मानव जातिले नै प्रशंसा गरेको पाइन्छ ।
भगवान् विश्वकर्माले विश्वरचना गर्ने ब्रह्माको कल्पनालाई साकारता प्रदान गर्ने कार्य गरे । जसअन्तर्गत भगवान्का रथदेखि अमरावती शहरसम्म र स–साना यन्त्रदेखि घर, भवन, महल, पुल, अत्याधुनिक कल–कारखानासम्म निर्माण गर्ने भगवान् विश्वकर्माको प्रभावका कारण अहिले मानव जाति यस अवस्थासम्म आइपुग्न सकेका छन् ।
त्रिनेत्रधारी शिवझैं विश्वकर्मा पनि त्रिनेत्रधारी हुन् । सम्पूर्ण जगत्को सृष्टि गर्ने विश्वकर्माले नक्षत्रदेखि सूर्यसम्मको वास्तुस्थिति मिलाए, पृथ्वीको वास्तु मिलाए, हरेक वस्तु, प्राणीका लागि उपयोग्य वातावरणको वास्तुस्थिति मिलाए र देवलोकको वास्तुसिद्धान्तलाई संसारमा मानव कल्याणार्थ उतारी हरेक प्राणीको मनको वास्तु मिलाए । त्यसैले आश्विन १ गते आजको दिन भगवान् विश्वकर्माको पूजा–अर्चना हामी आफ्नो मनैदेखि गर्दछौं, प्रत्येक यन्त्रलाई विश्वकर्माको प्रतीक मानेर पूज्दछौं, भगवान् विश्वकर्माको कथा गाउँछौं, भजन गर्दछौं ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here