अन्तरवार्ता

पोखरा उच्च अदालतका न्यायाधीश बर्खास्त

न्याय परिषदले उच्च अदालतल पोखराका न्यायाधीश नरबहादुर शाहीलाई पदमुक्त गरेको छ।

गोर्खा ब्रुअरीको कर विवादका सम्बन्धमा परेको मुद्दामा ‘क्षेत्राधिकार मिचेर’ आदेश दिएको आरोपमाथि छानबिनपश्चात परिषदले शाहीलाई बर्खास्त गरेको हो।

न्याय परिषदका सूचना अधिकारी टेकनाथ गौतमका अनुसार बिहीबार न्याय परिषदका अध्यक्ष एवम् प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले शाहीलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

‘पद अनुकूलको आचरण गरेको नदेखिँदा निज शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरिएको हो,’ गौतमले नेपालन्युजसँग भने।

यसअघि, गोर्खा ब्रुअरीको मुद्दामा विवादित आदेश दिएका पोखरा उच्च अदालतका न्यायाधीश जीवनहरि अधिकारीले पदबाट राजीनामा दिएका थिए।
आन्तरिक राजस्व कार्यालयले गोर्खा ब्रुअरी विरुद्ध दायर गरेको मुद्दामा विवादित आदेश दिएका न्यायाधीश अधिकारीले भदौ १ गते आइतबार न्याय परिषदमा राजीनामा पत्र बुझाएका थिए।

सर्वोच्च अदालतले क्षेत्राधिकार मिचेर मुद्दाको सुनुवाई गरेको ठहर गर्दै पोखरास्थित उच्च अदालतका तीन न्यायाधीशमाथि कारबाही थाल्न आदेश दिएपछि उनले राजीनामा दिएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलाशले न्यायाधीशहरु जीवनहरि अधिकारी, नरबहादुर शाही र रामचन्द्र यादवमाथि कारबाही थाल्न गत साउनमा आदेश दिएको थियो।

सर्वोच्चले आन्तरिक राजस्व कार्यालयले दायर गरेको रिट निवेदनमाथि भएको आदेशमा उच्च अदालतले दिएको आदेश कार्यान्वयन नगर्न र आदेशको प्रतिलिपि सर्वोच्चमा झिकाउन आदेश दिएको थियो।

पोखरा उच्च अदालतको उक्त आदेशका सम्बन्धमा छानबिन गर्न सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको संयोजकत्वमा समिति बनाइएको थियो। न्यायाधीश अधिकारीले राजीनामा दिएपनि उनीमाथिको छानबिन प्रक्रिया रोकिने थिएन।

यसअघि, क्षेत्राधिकारको विषयलाई लिएर विवादित बनेको गोर्खा ब्रुअरीको मुद्दामा आदेश दिएका पोखरा उच्च अदालतका अर्का न्यायाधीश रामचन्द्र यादवले पनि राजीनामा दिएका थिए।

न्यायाधीश यादवले भदौ ५ गते बिहीबार राजीनामा दिएका थिए। न्यायाधीशहरू जीवनहरि अधिकारी, नरबहादुर शाही र रामचन्द्र यादवमाथि कारबाही थाल्न गत साउनमा आदेश दिएको थियो।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here