जीवन शैली

डाक्टरको लापरवाही कि बिचौलियाको बिजनेस ?

घटना १:  डाक्टरको लापरवाहीको कारण गलत रगत चढाएपछि ५ वर्षीया बालिकाको मृत्यु ! दुई साताअघि गंगालाल हृदय रोग केन्द्रलाई लागेको गम्भीर आरोप हो यो । यही घटनाले अस्पताल केही दिन तनावग्रस्त बन्यो । दुई पक्षवीचको आरोप प्रत्यारोपको लफडा अझै सकिएको छैन् । मृतकका परिवार उजुरी दिन विभिन्न निकाय धाइरहेका छन् ।

मृत्यु हुने बालिका सर्लाहीकी आकृति साह थिइन् । मुटुमा समस्या देखिएपछि उनलाई गंगालाल लगिएको थियो । बालिकाको रक्त समूह ‘ओ पोजेटिभ’ भएपनि ‘ए पोजेटिभ’ समूहको रगत चढाइयो । बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि रिपोर्टमा केरकार गरिएको र डाक्टरको लापरवाहीका कारणले अकालमै मृत्यु भएको परिवारको दाबी छ ।

तर, अस्पतालले परिवारको आरोपलाई स्वीकार गरेको छैन । अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले साह परिवारलाई बिचौलियाले प्रयोग गरेको दाबी गर्छन् । उनको तर्क छ, ‘अस्पताल बदनाम गर्ने बिचौलियाहरु सक्रिय भए । अस्पतालमा मृत्यु हुने सबै केस लापरवाहीका हुन्न ।’

घटना २: पेट दुखेर मनमोहन अस्पताल गएका शिव रिमालको स्वास्थ्य परीक्षणपछि ०७४ जेठ १२ गते पत्थरीको अपरेशन भयो । पत्थरीको अपरेशन गर्दा मिर्गौला निकालियो । मिर्गौला निकालेको थाहा पाएपछि रिमालकी श्रीमती रन्जुसँग ६ बुँदे सहमति भयो ।

अस्पतालसँग गरेको ६ बुँदे सहमति शिवलाई मान्य भएन । उनले अस्पतालसँग २ वटा नयाँ माग थपिन्- पहिलो- मिर्गौला किन निकालियो उपयुक्त कारण प्रस्तुत गर्नुपर्छ । र, दोस्रो- ५० लाखको जीवन बीमा गरिदिनुपर्छ ।

तर, मनमोहन अस्पतालले ज्यान बचाउनकै लागि मिर्गौला निकालिएको दाबी गर्दै नयाँ माग पूरा गर्न नसक्ने बतायो । त्यसपछि अस्पतालसँग उनको विवाद सुरु भयो । विवाद मिडिया हुँदै सामाजिक सञ्जालभरि फैलियो । संसदमा पनि यही विषयमा हंगामा भयो ।

तर, अस्पतालले आफ्नो अडान छोडेन ।  सामान्य घटनालाई राजनीतिक रंग दिएको भन्दै अस्पतालले प्रेस विज्ञप्ति नै निकाल्यो । अस्पतालमा लासको व्यापार गर्ने विचौलियाले अस्पताल बदनाम गर्न चलाएको चाल भन्दै कानुनी लडाई लड्न तयार रहेको अभिव्यक्ति दियो ।

रिमालले पनि कानुनी उपचारको बाटो रोजे । स्वास्थ्य मन्त्रालयले छानविन समिति गठन गर्‍यो । छानविन समितिले अस्पताल र बिरामी दुवै पक्षका तीनवटा कमजोरी देखाइदियो ।

पहिलो- अस्पतालको नियत मिर्गौला तस्करी गर्नु होइन तर, विरामीसँग मिर्गौला झिक्नुअघि कागजी सम्झौता गरिएन । दोस्रो- विरामी डिस्चार्ज हुदाँसम्म मिर्गौला झिकिएको नबताउनू । र,  तेस्रो-विरामीलाई नबताई श्रीमतीसँग सम्झौता गरेर घटना लुकाउन खोज्नू ।

छानविन समितिका अनुसार घटनामा परिवारको पनि कमजोरी देखियो । विरामीलाई मिर्गौला झिकेको नबताउनु, सम्झौतापछि अस्पतालमा अरू मानिस ल्याएर विवाद गर्नु र अस्पतालमा हुँदासम्म राम्रो भएको सम्वन्ध घर गएपछि विग्रनु परिवारको कमजोरी रह्यो ।

त्यसपछि यो घटना त्यतिकै सेलायो ।

घटना  नर्भिक अस्पतालमा ०७४ भदौ १२ गते १६ महिने बालिका भिक्टोरिया आचार्यको निमोनियाको उपचारका क्रममा मृत्यु भयो । बालिकाको मृत्युपछि आफन्तले अस्पतालमा तोडफोड गरे । घटनाबारे छानविन गर्न स्वास्थ्य मन्त्रालयले कमिटी बनायो । कमिटीले डाक्टरको लापरवाहीले मृत्यु नभएको गलत ठहर गर्यो । तर, मृतकका पिता आफैं डाक्टर भएकाले चिकित्सककै लापरवाहीले छोरीको मृत्यु भएको ठोकुवा गरे ।

नर्भिकले अस्पताल बदनाम गराउन बिचौलियाले चलेको चाल भन्दै अभिव्यक्ति दियो । र, यो घटना पनि त्यतिमै सेलायो ।

घटना ४: गत २९ भदौमा चाबहिलको ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा बुटवलकी कमला भट्टको निधन भयो । डाक्टर समयमै अस्पतालमा नआएर नर्सहरुले गलत औषधि चलाएको कारण भट्टको मृत्यु भएको उनका आफन्तहरुले आरोप लगाए । अस्पतालले भने बिरामी डिस्चार्ज हुने बेला अचानक हर्टअट्याक भएर मृत्यु भएको बतायो ।

सामान्य अवस्थामा अस्पताल पुगेकी भट्ट अहेव थिइन् । भट्टको निधनपछि उनका आफन्तहरुले अस्पताल तोडफोड गरे । डाक्टरलाई कारबाही गर्नुपर्ने माग राखेर अस्पतालमा धर्ना दिए । आकस्मिक बाहेक अस्पतालको अन्य सेवा केही दिन बन्द भयो ।

अस्पतालले सुरक्षाकर्मी गुहार्यो तर, प्रहरी परिचालन गर्दा पनि अस्पतालको तनाव कम भएन । डाक्टरलाई कारबाही नगरी शव नउठाउने भनेर धर्ना दिएका आफन्तले एकाएक पछि हटे ।

बिरामीका आफन्तलाई पैसा दिएर घटना साम्य पारेको चर्चा चले पनि दुबै पक्षले केही बताउन चाहेनन् ।

****

यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । पछिल्लो समय उपचारका क्रममा चिकित्सकले लापरवाही गरेको आरोप लाग्ने मात्र होइन, अस्पतालमा तोडफोड हुने घटना बढ्दो छ ।

पछिल्ला पाँच वर्षमा ४० वटा ठूला लापरवाहीका घटना बाहिर आए । काठमाडौं र अन्य शहरका अस्पतालहरूमा चिकित्सकीय त्रुटी भएको भनिएकामध्ये १५ वटा घटना मात्रै कानूनी प्रक्रियामा गएका छन् । बाँकी घटनामा कुनै कानूनी उपचार खोजिएन । अस्पताल पैसा दिएर घटना साम्य पार्न राजी भयो । पीडितहरु पैसामा चित्त बुझाउन तयार भए ।

ओम अस्पताल चावहिलमा मात्र ५ भन्दा बढी घटना चिकित्सकको लापरवाही भएको आरोप लाग्यो । नर्भिक अस्पतालको अवस्था पनि ओम अस्पतालको भन्दा कम रहेन । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा २ जना बिरामीको ज्यान जाँदा डाक्टरकै लापरवाही भनियो ।

वयोधा,  मनमोहन, मिडाट, केएमसी र गंगालाल हृदयरोग केन्द्रमा बिरामीको मृत्यु हुँदा परिवारले दोष डाक्टरकै थाप्लोमा थोपरे । उपत्यका बाहिर पनि यस्ता घटना बढ्दो छ । यसबाट बाहिर नआएका घटनाहरुको सूची लामो भएको अनुमान लगाउन सकिन्छ ।

यस्ता घटनाहरुको एउटै समानता हुन्छ, ‘लापरवाहीको आरोप लगाउँदै अस्पताल तोडफोड गरिन्छ । अस्पतालले शव मोलमोलाई गर्ने बिचौलियाको कारण सामान्य घटनाले ठुलो रुप लिएको अभिव्यक्ति दिन्छ र केही समयपछि घटना गुपचुप मिलाइन्छ ।’

के अस्पतालले भनेजस्तै शवको मोलमोलाई गर्ने गिरोह सक्रिय छ त ?

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. कालुसिंह खत्री लापरवाही भनिएका अधिकांश घटनामा ‘मानविय तथा मेशिन’को त्रुटी भेटिने बताउँछन् । अधिकांश घटनामा चिकित्सकको लापरवाही नभए पनि बिचौलियाको कारण तनाव सिर्जना भएको उनको तर्क छ ।

राजनीतिक संरक्षणमा रहेका संगठित गिरोहहरू नै रहेको उनको दाबी छ। ‘अधिकाशं घटनामा गुण्डाहरु आएर बिरामी पक्षलाई आधा रकम दिने भन्दै अस्पतालसँग लाखौंको बार्गेनिङ गर्छन्,’ खत्री भन्छन्, ‘पचासौं जना आएर तोडफोड गरेपछि अस्पताल पैसा दिन बाध्य हुन्छ ।’

नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्की पनि संगठित गिरोहकै कारण अस्पतालमा तोडफोड हुने दाबीसँग सहमत छन् । ‘भएको केही हुन्न तोडफोड भइहाल्छ । एकैछिनमा मा दर्जनौं मानिस आउँछन् । त्यति धेरै मृतकका आफन्त कहाँबाट आइपुग्छन् ?’  कार्की प्रश्न गर्छन् । यस्तै गिरोहकै कारण डाक्टरले लापरवाही गरेर बिरामी मार्ने गलत सन्देश दिएको दाबी गर्छन् । उनको प्रश्न छ, ‘ यदि गिरोह सक्रिय नहुने भए किन अधिकांश घटना कानूनी प्रकियामा नगई सहमतिमा किन टुंगिन्छ ?’

यो दाबीलाई मान्ने हो भने पनि प्रश्न उठ्छ-शोकमा रहेका परिवार कसरी बिचौलियाको सम्पर्कमा पुग्छन् ?

डा. कार्कीका अनुसार उपचारका क्रममा बिरामीको मृत्यु भएको खबर निकै छिटो बिचौलियासम्म पुग्छ । बिचौलिया आएर मृतकका आफन्तसँग सम्पर्क गर्छन् र अस्पतालमा तोडफोड गर्न थाल्छन् । उनीहरुको नियत नै अस्पतालमा भाडभैलो मच्चाउने र ‘बार्गेनिङ’ गर्ने हुन्छ ।

‘अस्पताल तोडफोड र डाक्टर कुटपिट भएपछि कुनै विकल्प हुन्न्’, कार्कीले भने, ‘उनीहरु कानुनी प्रकियामा जान तयार नभएपछि अस्पताल पैसा दिएर घटना मिलाउन बाध्य हुन्छ ।’

गल्ती नगरेको भए अस्पताल किन कानुनी प्रकियामा जाँदैन ?

डा. कार्की यसका दुईवटा कारण दिन्छन् : पहिलो- डर । दोस्रो- करोड बचाउन लाख खर्च ।

बिचौलियाका कारण थुप्रै घटना लेनदेनमा मिल्ने गरेको आफूले देखेको दाबी गर्ने कार्की अस्पतालहरू सधैं कानुनी प्रकियामा जान तयार रहेको बताउँछन् । तर,  धम्की, दबाव र इमोशनल ब्लायक मेलिङका कारण अधिकाशं घटना कानुनी प्रकियामा नगएको तर्क गर्दै भन्छन्, ‘अस्पताल तोडफोड गर्दा करौडौं क्षति हुन्छ । डाक्टरको ज्यानको खतरा पनि हुन्छ । त्यसैले करोड बचाउन अस्पतालले लाख खर्च गर्छन् ।’

मेडिकल काउन्सिलका सदस्य कार्की पनि राज्यले सुरक्षाको प्रत्याभूति दिएमा अस्पताल तोडफोड हुने घटना न्यून हुने दाबी गर्छन् । ‘५० जना आएर तोडफोड गर्न थालेपछि प्रहरीहरुले सुरक्षा दिन सक्दैनन्,’  उनी भन्छन्, ‘ राज्यले सुरक्षा दिने हो भने अस्पतालले एक सुक्को खर्च गर्दैन् । कानुनी प्रकिया अपनाउँछ । गल्ती प्रमाणित भए जेल पनि जान्छ ।’

लापरवाही पनि हुन्छ, तर अस्पतालले लुकाउँछ

अधिकांश घटनामा अस्पतालले सम्झौता गर्नुका कारणहरु धेरै भए पनि मुख्य कारण डर नै भएको कार्की सुनाउँछन् । तर, कतिपय अवस्थामा भने अस्पताल तथा डाक्टरको पनि लापरवाही भएको उनी स्वीकार्छन् ।

लापरवाही भएका घटनामा पनि सम्बधित डाक्टर तथा अस्पताललाई कारवाही हुँदैन । बद्नामी कमाउने डरले अस्पताल पनि कमजोरी स्वीकार गर्नुभन्दा आर्थिक प्रलोभनमा घटना लुकाउन चाहन्छ ।यसले पनि हरेक घटनामा चिकित्सकको लापरवाही भनिदिने र पाएसम्म बार्गेनिङ गर्ने क्रम बढ्दो छ ।

चिकित्सक संघका महासचिव डा. कार्की डाक्टरको लापरवाही भए नभएको छुट्याउन नपाउँदै तोडपोड र हात हालाहालको स्थिति बन्ने बताउँछन् ।  उनी प्रश्न गर्छन्, ‘लापरवाही भएको छुट्याउने निकाय होला,  त्यसका लागि समय लाग्ला ।  तर, यहाँ त बिचौलिया आएर डाक्टरले लापरवाही गर्यो भनेर भाडभैलो गर्छन् । उनीहरुले चाहेको गर्नु बाहेक विकल्प हुन्न् ।’

मेडिकल काउन्सिलका सदस्य खत्री पनि कार्कीको कुरामा सहमत छन् । उनी भन्छन्, ‘जुन दिनसम्म राज्यले अस्पतालमा शवको व्यापार गर्ने गिरोहलाई कारवाही गर्दैन्, तबसम्म यस्ता घटना भइरहन्छन् ।’

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here