राष्ट्रिय

आज राति लाग्दैछ खण्डग्रास चन्द्रग्रहण

उत्तरषाढा नक्षत्र, धनु र मकर राशिलाई अतिकष्ट
हरि पन्त
ग्रहण ः ग्रहण एउटा विलक्षण खगोलीय घटना हो । ज्योतिष विज्ञानमा ग्रहणको अति महत्व छ । यसको सिधा प्रभाव समस्त जीवमा पर्छ । चन्द्रमा पृथ्वीबाट नजिक भएकाले यसको गुरुत्वाकर्षण प्रभाव बढी पर्दछ । यस कारण पूर्णिमाको दिनमा समुद्रमा रातिपख ज्वारभाटा आउँछ र यसको प्रभाव ग्रहणको दिनमा झन् बढी हुन्छ ।
भूकम्पको मुख्य कारण पनि ग्रहण हो । सौर्यमण्डलमा सूर्य एउटा प्रकाश पिण्ड हो । सूर्यको किरणले जति भाग प्रकाशित भएको हुन्छ, त्यो प्रकाशमान र अप्रकाशित भाग अन्धकारमय देखिन्छ । प्रकाशमान वस्तुबाट गएको प्रकाश समूहलाई जब कुनै अपार वस्तुहरूले छेक्छ त्यसपछि प्रकाशित वस्तुको विपरीत दिशामा छायाँ उत्पन्न हुन्छ । त्यो छायाँ प्रकाश ढाक्ने वस्तुको अनुपातमा सानो वा ठूलो आकारको हुन्छ ।
पूर्णिमा तिथिमा सूर्य–चन्द्र ६ राशि अर्थात् १ सय ८० डिग्रीको अन्तर भई शरको अभाव भई दुबै विम्बको बीचमा पृथ्वी पर्न आएमा सूर्यकिरण पृथ्वीको कारणबाट अवरुद्ध हुन्छन्, यसै छायाँलाई भू–छायाँ वा भूभा भनिन्छ । चन्द्र ग्रहणमा चन्द्रमा यसै छायाँमा प्रवेश गर्दछ । र, क्रमशः ढाकिँदै जान्छ ।
आकाशमा सूर्य क्रान्ति वृत्तमा र चन्द्रमा विमण्डलमा आ–आफ्नै गतिमा भ्रमण गर्दछ । क्रान्ति वृत्तमा रहेको सूर्य विम्ब र विमण्डल वृत्तमा रहेको चन्द्र विम्बको दक्षिणोत्तर अन्तरलाई शर भनिन्छ । यो शर १४ अंशभन्दा कम भएमा चन्द्र ग्रहण र क्रान्ति अक्षांश एवं नति–लम्बनसमेत संस्कार गरिएको सम्पात सूर्यको भूजांश ७ भन्दा कम भएमा सूर्य ग्रहणको सम्भावना हुन जान्छ । यस प्रकार पूर्णिमाका दिन चन्द्र ग्रहण र आंैसीका दिन सूर्य ग्रहणको सम्भावना हुन्छ ।
सामान्य रूपमा सूर्य र चन्द्र गरी २ प्रकारको ग्रहणहरूको चर्चा बढी गरिन्छ । तर सूर्य ग्रहण लागेको बेलामा चन्द्रलोकबाट पृथ्वीतर्फ हेर्दा पृथ्वीमा पनि ग्रहण लागेको देखिन्छ । अर्थात् यसलाई भू–ग्रहण पनि भनिन्छ ।
यसवर्ष
यही २०७६ आषाढ ३१ गते राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण २ घण्टा ५९ मिनेट अवधिको हुनेछ । राति १ बजेर ४६ मिनेटमा स्पर्श हुने चन्द्रग्रहण ३ बजेर १५ मिनेटमा मध्य र ४ बजेर ४५ मिनेटमा मोक्ष अर्थात सकिने छ । चन्द्रग्रहणको दिन दिउँसो ४ बजेर ४६ मिनेटदेखि नै सूतक लाग्ने भएकाले बालबच्चा, वृद्ध, अशक्त, बिरामी बाहेकका लाई भोजन निषेध छ ।
यस पटकको चन्द्रग्रहणले उत्तरषाढा नक्षत्र, धनु र मकर राशि भएका व्यक्तिहरूलाई अतिकष्टको योग छ । यी २ राशिले ग्रहण हेर्नु हुँदैन । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्नु हुँदैन । कर्कट, तुला, कुम्भ र मीन राशि भएकाले भने ग्रहण हेर्न हुन्छ ।
यसैगरी चन्द्रग्रहणको प्रभाव मेष राशिका लागि माननाश अर्थात मानहानीको योग छ । यस्तै वृष राशि भएका मानिसका लागि शारीरिक एवं मानसिक कष्ट, मिथुन राशि भएका मानिसका लागि स्त्री पीडा, कर्कट राशिका लागि सौख्यम अर्थात सुख प्राप्त चन्द्रग्रहणको प्रभावले हुनेछ ।
यसैगरी चन्द्रग्रहणको प्रभावले सिंह राशिका लागि चिन्ता, कन्या राशिका लागि व्यथा अर्थात नयाँखालको रोग देखा पर्नेछ भने तुला राशिका लागि श्रीप्राप्ति अर्थात धन प्राप्तिको योग देखा पर्नेछ ।
यस्तै वृश्चिक राशि भएका मानिसका लागि यो चन्द्रग्रहणको प्रभावले क्षति हुनेछ, धनु राशिका लागि घात, मकर राशिका लागि व्यय अर्थात धन खर्च हुने छ भने कुम्भ राशिका लागि लाभ र मीन राशिका लागि सुख प्राप्त हुनेछ ।
साथै ग्रहणको समयमा यस धर्तीको सम्पूर्ण जीवजन्तु र वनस्पतिलाई सीधा प्रभाव पार्दछ । ग्रहणको सुतक कालमा तीर्थस्थल, दान, जप, पाठ, मन्त्रतन्त्र, अनुष्ठान ध्यान, जीवन आदि शुभ कृत्यको सम्पादन गर्नु राम्रो हुन्छ । निर्णय सिन्धुमा लेखिएको छ, ‘ग्रहणको समयमा श्राद्ध गर्नु अति पुण्यदायी छ । चन्द्र ग्रहणको समयमा राहुका लागि वस्तु दान र जप गर्नुपर्दछ ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
ग्रहणअघि सुतक लागेपछि ध्यान राख्नुपर्ने कुरा
१. ग्रहणको समयमा गर्भवती महिलाले तरकारी काट्ने वा कपडा सिलाउने जस्ता काम गर्नुहुँदैन । यस किसिमको कामले गर्भमा हुर्किँदै गरेको बच्चामा शारीरिक दोष हुने आशंका हुन्छ ।
२. सुतक कालमा खाना पकाउने, खाने, श्रृङ्गार गर्ने र सुत्न पनि वर्जित मानिएको छ ।
३. ग्रहण सकिएपछि गर्भवती महिलाले स्नान नगरे बच्चामा चर्मरोग देखिन सक्छ ।
४. ग्रहणको समयमा कुनै शुभ वा नवीन कार्य गर्नुहुँदैन । यो कार्य पूरा हुने सम्भावना कम हुन्छ ।
५. ग्रहणको समयमा आफ्ना आराध्य देवको नाम स्मरण गर्नु राम्रो मानिन्छ । यो क्रममा कुनै देवी–देवताको मूर्ति वा तस्वीर, तुलसी र शमीको बिरुवालाई छुनुहुँदैन ।
६. ग्रहण सकिएपछि स्नान गरेर स्वच्छ वस्त्र लगाउनुपर्छ । ग्रहणको समयमा लगाएको वस्त्र नुहाएपछि लगाउनु हुँदैन ।
७. पौराणिक मान्यताअनुसार ग्रहणको क्रममा अन्नको जति दाना खाइन्छ, त्यति वर्षसम्म व्यक्तिले नरकको कष्ट भोग्नुपर्छ ।
ग्रहणकालमा कुशको महत्व
कुश अति पवित्र र प्रसिद्ध घाँस हो । हिन्दूहरू कुशलाई भगवान् विष्णुको रूप मान्छन् । सत्य युगमा भगवान् विष्णुले जालन्धरकी स्त्री वृन्दाको प्रतिबता धर्म नष्ट गरेकाले वृन्दाले भगवान् नारायणलाई श्राप दिएकी थिइन् । ती श्राप हुन, घाँस, झार, कल्पवृक्ष र ढुंगा । घाँस भनेकै कुश हो ।
कुश यस्तो घाँस हो जस्को प्रयोग देवता, पितृ र प्रेतसम्मको पूजापाठ, संस्कार, दान, धर्म आदिमा प्रयोग गरिन्छ । ग्रहणमा घरमा रहेको अन्न पानीको ट्यांकीमा कुश राख्ने गरिन्छ । ग्रहणको बेला निस्कने विकिरणले कुश राखेको ठाउँमा कुनै असर पार्न सक्दैन भन्ने निर्णय सिन्धु र श्रीमद्भागवत गीताको छैटौँ अध्यायको ११ श्लोकमा स्पष्ट गरिएको छ । कुशको आसनमा बस्दा विकिरणको प्रभाव पर्दैन र मन र वुद्धि शुद्ध रहन्छ ।
ग्रहणसम्बन्धी मान्यताहरू
हिन्दूहरूको श्रीभद्भागवत पुराणको अष्टम् स्कन्धको नवम् अध्यायमा २४ श्लोकदेखि २६ श्लोकहरूमा ग्रहणका बारेमा यसरी चर्चा गरिएको छ, ‘सत्य युगमा देवता र दानव मिलेर समुद्र मन्थन गर्दा निस्केको अमृतपान गराउन भगवान् विष्णुले मोहनी रूप धारण गरेका थिए ।
मोहनी रूपी भगवान् विष्णुले देवताहरूलाई अमृतपान गराएको दानवमध्ये १ जनाले थाह पाएर त्यो दानव देवताको रूप लिई देवताहरूकै समूहमा बसेर अमृतपान गरे । यो कुरा सूर्य र चन्द्रले थाह पाई भगवान् विष्णुलाई सूचना गरे । सो सूचनाको आधारमा विष्णु अति क्रोधित भई सुदर्शन चक्र प्रहार गरे । सुदर्शन चक्रले दानवको शिर छेदन त भयो तर अमृतपान गरेकाले त्यो दानवको मृत्यु त भएन र त्यो दानवको मस्तक राहु र शरीर केतुमा परिणत भई बसे । भगवान्ले पछि राहु र केतुलाई पनि सौर्य परिवारमा सम्मिलित गराए ।’
सूर्य र चन्द्रले ती २ राहु र केतु सौर्य परिवारमा बसेर अमृतपान गरेको सूचना भगवान् विष्णुलाई दिएका कारणले राहु ग्रहले औंशीको दिनमा सूर्यलाई र पूर्णिमाको दिनमा चन्द्रमालाई सताउँछ । यसैलाई पुराणहरूमा ग्रहण भनी वर्णन गरिएको छ । नेपालको उत्तरतिरको छिमेकी राष्ट्रमा पनि ग्रहणको मान्यता यस प्रकारको छ, आकाशको दुवै शिरमा ड्रागन दैव्य परिवारको बास छ ।
जब सूर्य र चन्द्रमाको परिभ्रमण गर्दै जाँदा ती दानवको सम्मुख पर्दा सूर्य र चन्द्रलाई ग्रसित पार्छन् वा निल्न खोज्छन् । तर मृत्युमण्डलका मानिसहरूको चर्को स्वर सुनेपछि ती दानवले चन्द्र सूर्यलाई मुखबाट उक्लेर भाग्ने गर्छन् । ग्रहणावधिमा मृत्युमण्डलका मानिसहरू विचित्रको आवाज निकालेर कराउने प्रचलन रहेको छ ।
युनानीहरूले पनि ग्रहणलाई दैत्यको आक्रमण भनी मान्छन् । अमेरिकन रेड इन्डिएन र अफ्रिकीहरू ग्रहणलाई चन्द्र सूर्य बिरामी परेको भन्ने किंम्बदन्तीमा विश्वास गर्छन् । यसको अतिरिक्त अन्य देशहरूमा ग्रहणलाई भेडा, कुकुर, बाघ र साँपको आक्रमण मानिन्छ । प्रशान्त महासागर नजिकका वासिन्दाहरूको कल्पना अरूको भन्दा बेग्लै छ । उनीहरूले सूर्यलाई प्रेमी र चन्द्रमालाई प्रेमिकाको रूपमा मान्छन् । यी दुवैको मधुर मिलनलाई नै ग्रहण मानिन्छ । उनीहरू त्यो दृश्यलाई हेर्न लजाउँछन् र अनि मुख छोप्छन् । फलित ज्योतिषले ग्रहण धर्तीको प्राणी तथा वनस्पतिहरूका लागि अनिष्ट कारक मान्छ । यही आधारमा विकृतिको आंकलन गरिन्छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here