पर्यटनराष्ट्रिय

एबिसीमा पुनर्निर्माणले गति लियो

Image result for annapurna base campवासुदेव पौडेल
पोखरा, ७ जेठ
अन्नपूर्ण आधार शिविर (एबिसी)मा गत फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यले गति लिएको छ । प्राकृतिक विपद्बाट ठूलो क्षति भएका संरचनाहरूको पुनर्निर्माणमा स्थानीयवासी जुटेका हुन् । गत फागुन दोस्रो सातापछि पनि पटकपटक हिमपात परेका कारण स्थानीयवासीले अपेक्षाकृत पुनर्निर्माण कार्यलाई चाँडो गर्न नसकेको स्थानीय समाजसेवी एवम् अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव २०७६ का संयोजक ललित गुरुङले जानकारी दिए । अकल्पनीय रूपमा आधार शिविर क्षेत्रमा आएको हिमआँधीका कारण यहाँका होटेलका छाना उडाउनाका साथै ठूलो मात्रामा भौतिक क्षति भएको थियो ।
हिमआँधीको समयमा उक्त स्थानमा कुनै मानिस नरहेका कारण मानवीय क्षति भने भएको थिएन । गुरुङका अनुसार क्षतिग्रस्त संरचनालाई पूर्णरूपमा निर्माण गरी पूर्ववत् अवस्थामा ल्याउन करीब रु १२ करोड लाग्ने अनुमान गरिएको छ । क्षति लगत्तै पुनर्निर्माण गर्न खोजिए पनि चैतको अन्तिमसम्म नै पटक पटक हिमपात भएपछि अपेक्षित पुनर्निर्माणले गति लिन सकेको थिएन । यस क्षेत्रमा पदयात्रा पर्यटनको दोस्रो याम मार्चदेखि मे महीनाको समयमा अन्नपूर्ण आधार शिविरमा भएको क्षतिले पर्यटक समस्यामा परे पनि अर्को याम शुरु हुँदासम्म सम्पूर्ण पुनर्निर्माण सक्ने लक्ष्य राखिएको छ ।
‘यस याममा अन्नपूर्ण आधार शिविरमा पर्यटकले रात बिताउन नपाए पनि स्थानीय पर्यटन व्यवसायीले दिउँसो करीब डेढ घण्टाको हाइकिङ गराई पर्यटकलाई माछापुच्छ«े आधार शिविरमा ल्याएर बस्ने व्यवस्था मिलाएका छन्’, संयोजक गुरुङले भने । अर्को याममा भने पर्यटक अन्नपूर्ण आधार शिविरमा नै बस्ने गरी व्यवस्था मिलाइने उनको भनाइ छ ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेञ्जिङ नोर्गे र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।
अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्व प्रख्यात पदयात्री एरिक सिप्टनले समुद्री सतहदेखि ४ हजार १३० मिटरको उचाइमा रहेका अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रूपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए ।
करीब ४ दशकअघि सम्म एबिसी जाने पर्यटक यहाँका भेडीगोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा नै पर्यटक बस्ने गर्दथे । विसं २०३८ देखि यस ठाउँमा सुविधा सम्पन्न होटल सञ्चालन शुरु गरिएको स्थानीयवासी बताउँछन् । यहाँस्थित होटललाई क्रमशः सुविधा सम्पन्न बनाउने लक्ष्यअनुरूप बर्सेनी पूर्वाधार थप हुँदै गएसँगै करीब १ सय जनाभन्दा बढी बस्न सक्ने व्यवस्था मिलाइएको थियो । पदयात्रा पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा रहेको अन्नपूर्ण आधार शिविर जाने बाटोका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ«े आधार शिविरमा अन्नपूर्ण आधार शिविरका चार वटा होटेलसहित कूल २६ वटा सञ्चालनमा छन् ।
अन्नपूर्ण आधार शिविर क्षेत्रमा क्षति भएसँगै अन्नपूर्ण गाउँपालिका कास्कीले स्थलगत अध्ययन गरी रु ३ करोड ५६ लाख नोक्सान भएको यकिन गरी क्षतिपूर्तिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए । हिमपातसँगै पदमार्ग क्षेत्रका २ वटा पुल भत्केका कारण सो स्थानमा रु ५–५ लाखको लागतमा फलामे पुल निर्माण गर्न लागिएको उनले बताए ।
अन्नपूर्ण आधार शिविरसहित यस क्षेत्रको पर्यटकीय आकर्षणको प्रचारप्रसार गर्ने उद्देश्यका साथ यही जेठ १७ देखि २० गतेसम्म अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव हुने भएको प्रचारप्रसार समितिका संयोजक टङ्कराज अधिकारीले जानकारी दिए । महोत्सवको अन्तिम दिन जेठ २० (अन्नपूर्ण आरोहण दिवस) का दिन अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन हुने उनले बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here