राष्ट्रिय

कोरोना संक्रमितको उद्धार अब सिम्रिक एयरबाट, मेडिकल टिमसहित विशेष सुरक्षा

काठमाडौं- सरकारले सिम्रिक एयरलाई कोरोना भाइरस संक्रमितको उद्धार गर्ने अनुमति प्रदान गरेको छ ।

 

निजी क्षेत्रको अग्रेणी हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले विश्‍व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्य मन्‍त्रालयले तोकेका स्वास्थ्य सुरक्षा तथा सावधानीका सबै मापदण्ड पुरा गरेकोले यस्तो अनुमति प्रदान गरिएको हो। नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको हेलिकोप्टरलाई कोरोना भाइरस संक्रमितको उद्धार गर्न सोमबार अनुमति दिएको हो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले स्वास्थ्य डब्लुएचओ र स्वास्थ्य मन्‍त्रालयले तय गरेको कोरोना संक्रमितको उद्धार र उपचारसम्बन्धी प्रोटोकल पुरा गरेकोले सिम्रिक एयरलाई यस्तो अनुमति दिइएको अन्‍नपूर्ण अनलाइनसँग बताए। उनले भने संक्रमितको चाप बढ्दै गएकोले अब हेलिकोप्टर उद्धार केही सहज हुनसक्‍ने बताए।

पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गएको तर हेलिकोप्टर सेवा सहजरुपमा उपलब्ध नहुँदा उनीहरुको आपतकालीन उद्धार र उपचारमा समस्या भएको अवस्थालाई ध्यानमा राख्‍दै सरकारले निजी क्षेत्रको हेलिकोप्टर प्रदायकलाई यस्तो अनुमति दिएको हो।

संक्रमितलाई सुरक्षिता ढंगले राख्‍नका लागि स्ट्रेचरलगायत डब्लुएचओ र स्वास्थ्य मन्‍त्रालयको तोकेको प्रोटोकलअनुसारका अन्य उपकरण जडान गरिएको छ। हेलिकोप्टमा रहने संक्रमितबाट अन्य यात्रुमा भाइरस नसर्ने गरी मेडिकल उपकरण र सुरक्षा सुनिश्‍चित गरिएको सिम्रिकका मुरारीधर जोशीले बताए। हेलिकोप्टरमा आपतकालीन सेवाका लागि मेडिकल टिमसमेत रहनेछ।

कोरोना संक्रमितको उद्धार सेनाको हेलिकोप्टरबाट मात्रै हुँदै आएको थियो। प्राधिकरणले निजी क्षेत्रबाट पहिलोपटक यो संवेदनशील उद्धारका लागि सिम्रिकलाई अनुमति दिएको हो। सिम्रिकको सेवाको गुणस्तर र सुरक्षालाई विश्‍वास गर्दै प्राधिकरणले यस्तो महत्वपूर्ण अनुमति दिएकोमा आभार व्यक्त गर्दै सिम्रिकले उद्धारको संवेदनशिलतालाई मनन गर्दै सुरक्षित रुपमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
हाल सिम्रिकसँग पाँच हेलिकोप्टर संचालनमा छन्। दुईवटा हेलिकोप्टरमा संक्रमितको उद्धारका लागि प्रयोग गरिनेछ। त्यसका लागि दुवै हेलिकोप्टर डब्लुएचओ र स्वास्थ्य मन्‍त्रालयको तोकेको प्रोटोकलअनुसारका तयार गरिएको छ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here