राष्ट्रिय

नेपाल विद्यार्थी संघसँगको अपेक्षा

Nsu flag
एनपी सावद नेपाल विद्यार्थी संघका सभापति भएका बेला नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सरकार गठन भएको थियो । मनमोहन अधिकारीको प्रधानमन्त्रित्वको सरकारले केही महिनामात्र देश चलाएको थियो । मनमोहन त सज्जन थिए तर उनका मन्त्रिपरिषद्मा रहेकाहरूले गरेका भ्रष्टाचार र अन्य क्रियाकलापले ज्यादतीको सीमा नाघ्न थालेको थियो । एकदिन काठमाडौं उपत्यकाभित्रका स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरू र नेपाल विद्यार्थी संघका एकाइ अध्यक्षहरूलाई नेविसंघको कार्यालयमा बोलाएर सभापति सावदले भने कम्युनिस्ट आतंकले सीमा नाघी सक्यो, हामी चुपचाप छौँ, के यसैगरी चल्छ ? त्यसपछि उपत्यका बन्दको योजना बन्यो । तीनधारा संस्कृत छात्रावासमा मसालहरू बनाइए ।
उपत्यका बन्दको अघिल्लो दिन मसाल जुलुस भयो । भोलिपल्ट उपत्यका ठप्प भयो । सयौं विद्यार्थी गिरफ्तार गरिए । बन्द आह्वान गर्दै हिँडेकालाई ५ दिनसम्म थुनेर राखेको घटना त लोकतान्त्रिक शासनमा त्यही नै पहिलो तथा अन्तिम होला । त्यसको केही महिनापछि नेपाल बन्दको आयोजना भएको थियो । त्यस्तै आन्दोलनहरूका कारण ९ महिनामै त्यो शासन सत्ता ढलेको थियो ।
मुख्यतः विद्यार्थीको काम पढ्ने नै हो । पढाइबाहेक पनि विद्यार्थीका जिम्मेवारी हुन्छन् । मुलुक गतिहीन भएको अवस्थामा मुलुकलाई चलायमान गराउन सक्ने शक्ति, जोस र जाँगर विद्यार्थीमै हुन्छ । आफ्ना अग्रजले स्थापना गरेका जनताको चाहनाबमोजिमको लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै भविष्यका कर्णाधारहरूको सुगम भविष्य निर्माणमा पनि विद्यार्थी शक्तिको महत्त्वपूर्ण भूमिका हुन्छ । सबै भूमिकालाई निर्वाह गर्दै आफ्नो पढाइलाई पनि गति दिनु सचेत विद्यार्थीको कर्तव्य नै हो ।
यतिखेर कांग्रेसमा त्यस्तो आन्दोलन गर्ने कुनै शक्ति थिएन । महिनौँ अघिदेखि नेविसंघका विद्यार्थीहरू नेतृत्व विहीन थिए । लोकतान्त्रिक प्रक्रियाबाट आएको भए पनि कम्युनिस्ट नाम लिएर आएको वर्तमान सरकार जुन संविधान अन्तर्गत आयो त्यही संंविधानलाई धुजाधुजा पार्ने काममा सक्रिय भइरहँदा समेत सडकमा उत्रने जमातको नेतृत्व गर्ने पदाधिकारी नै थिएनन् । ढिलै गरेर भए पनि सहमतिका नाममा भर्खरै नेविसंघमा तीन जना पदाधिकारी तोकिएका छन् ।
कुनै बेलाको सबैभन्दा सशक्त र ठूलो पार्टी नेपाली कांग्रेस सेलाएको लामो समय भएको छ । जनताका माझमा र मत प्रतिशतका हिसाबले त्यति धेरै तल नझरेको भए पनि सदनमा संख्याका हिसाबले निकै सानो आकारमा खुम्चिनु पर्दा जुँघाको लडाइँ लडेरै रमाउने नेताभन्दा कार्यकर्ताहरू पीडा बोकेर हिँडेको अनुभव गर्न सकिन्छ । नेताहरूकहाँ कार्यकर्ताको जमघट भइरहन्छ । ढोकामा धाउनेहरूले ‘‘हजुर त एकदम ठीक, त्यो अर्को नेताले पूरै पार्टी सखाप पार्ने भयो’’ भनेको सुनेर मख्ख पर्नमै नेतागण व्यस्त देखिन्छन् । जमिनमा कम्युनिस्ट कार्यकर्ताहरूसँग प्रतिस्पर्धा गरेर कांग्रेसलाई पुनर्जीवन दिन कस्सिएकाहरूलाई भने निकै अप्ठेरो परेको देखिएको छ ।
यही अप्ठेरोबीच कांग्रेसका नेताहरूका माझ केही सन्दर्भमा तालमेल भएर नेपाल विद्यार्थी संघको पुनर्गठन हुनपुगेको छ । कांग्रेसभित्र आन्तरिकरुपमा समाधान हुनुपर्ने विषय अझै धेरै छन् । एउटा विद्यार्थी संगठनको सन्दर्भले मात्रै तदर्थरुपमा समाधान पाएको छ । अधिवेशन पश्चात् चार जनामा सीमित तरुण दलको समयावधि त्यत्तिकै सकियो । अधिवेशन सम्पन्न गर्न नसकेका अन्य भ्रातृ तथा शुभेच्छुक संस्था दर्जनौँ छन् । यद्यपि, सहमतिको सुरुआतले कांग्रेसजनमा केही आशाको पालुवा पलाएको भने देख्न थालिएको छ ।
निश्चय नै नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको जरा हो । जरा बलियो नभई रुख ठूलो र बलियो हुने सम्भावना कदापि रहन्न । कांग्रेसको इतिहासलाई गर्विलो बनाउने काम नेविसंघले नै गरेको थियोे । पञ्चायतकालभरका सबै आन्दोलन र जनआन्दोलन एवं संघर्षहरूमा अग्र पंक्तिमा रहेर निरंकुश शासनको सत्तालाई कमजोर तुल्याउने नेविसंघ नै थियो । तीस वर्षे पञ्चायती शासन ढलाउने संगठनहरूको मूल्यांकन गर्ने हो भने नेविसंघ पहिलो नम्बरमा पर्छ ।
यसका प्रथम अध्यक्ष कुसमयमा पञ्चायत प्रवेश गरेका कारण डुबे । त्यसपछिका शेरबहादुर देउवा अहिले कांग्रेसका सभापति छन् । उनीदेखिका सबै अध्यक्षहरू कि त सांसद्, कि पूर्वमन्त्री कि केन्द्रीय सदस्य या कुनै न कुनै रुपमा पार्टी र सत्ताको बागडोर समातेरै बसेका छन् । नेविसंघका पूर्व अध्यक्ष तथा पूर्व महामन्त्रीहरू वर्तमानमा आफूले प्राप्त गरेका पदभन्दा आफ्नो विद्यार्थी जीवनको त्यही इतिहासलाई नै वर्णन गर्न रुचाउँछन् । यस्तो संगठन यसैका दोस्रा अध्यक्ष पार्टी सभापति रहेका बेला महिनौसम्म नेतृत्व विहीन भएर रहनु पर्दा कांग्रेसजनलाई ठूलै पीडा थियो ।
संगठन निर्माण नहुँदा एउटा चर्चा थियो भने संगठन निर्माण भएपछि अर्कै चर्चा चल्न थालेको छ । विधानको अड्को थापेर धेरै कुरामा देउवालाई अड्काएका पौडेलहरूले आफ्नो स्वार्थ पूरा भएपछि विधान छोड्दा रहेछन् भन्ने आरोप लागेको छ । हुन त, सहमतिका दस्तावेजहरूमा एक पक्षका सबै स्वीकार्य हुँदैनन् । यद्यपि, यसको जवाफ पौडेल पक्षले समयमा दिन अनिवार्य नै हुन्छ । मूल कुरा नेविसंघको विधानमा ३२ वर्षमुनिको हुनुपर्ने प्रावधान रहँदारहँदै उमेरले अर्धशतक हानेकालाई किन नेविसंघको अध्यक्षमा ल्याइयो भन्ने हो ।
अर्को आशंका के छ भने सहमतिमा तरुण दल निर्माण गर्दा अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र कोषाध्यक्ष मात्रै चयन गरिएको थियो र तिनै ४ जनाले कार्यकाल पूरा गरे । अहिले नेविसंघमा पनि अध्यक्ष र २ महामन्त्रीमात्रै चयन गरिएको छ । कतै यिनै चार जनाले ६ महिनाको कार्यकाल समाप्त गरी महाधिवेशन सम्पन्न गर्न नसकी बाहिरिनु पर्ने त होइन भन्ने आशंका धेरैले गरेका छन् । त्यसैले पनि एक २ दिनभित्रै समितिलाई पूरा गर्नुपर्ने दायित्व पनि दुवै पक्षका नेताहरूको हो ।
भर्खरै चयन गरिएका नेविसंघका पदाधिकारीहरू सामु थुप्रै चुनौती छन् । महाधिवेशन छ महिनाभित्र सम्पन्न गर्नु त प्रथम जिम्मेवारी होला तर मुलुकमा देखिएको अराजकताविरुद्ध संघर्षशील भई जनताका रगत पसिनाबाट आर्जित लोकतान्त्रिक शासन व्यवस्थालाई जोगाउनु त्यसभन्दा महत्त्वपूर्ण छ । नेपालीहरूको आयु ५४ वर्ष हुँदा नेविसंघमा ३५ वर्ष मुनिकाहरू सदस्य हुन्थे र तिनले संघर्षमा आफूमा भएको सम्पूर्ण जोस जाँगर प्रदर्शन गर्थे । अहिले नेपालीहरूको सरदर आयु ७१ भएको छ भने ५० का अध्यक्षले सक्रियता प्रदर्शन गर्न सक्दैनन् भन्ने केही छैन । उनमा दृढताको खाँचो र नेतृत्वमा सहयोगी भावनाको आवश्यकता छ ।
अधिनायकवादतर्फ उन्मुख सरकारका कदमहरूलाई रोक्न सानोतिनो प्रयासले पुग्दैन । दुई तिहाई सांसदका बलमा सरकार लोकतान्त्रिक परिपाटीलाई असुहाउँदा र जनताका अधिकारहरूलाई प्रधानमन्त्री र सरकारमा केन्द्रित गर्न हरेक प्रकारका कुटिल चालहरू चली रहेको छ । भ्रष्टाचारले सीमा नाघेको कुरा त अरु कसैले आरोप लगाएको होइन नेपाल कम्युनिस्ट पार्टीकै केन्द्रीय सदस्यहरूले केन्द्रीय बैठकमै बोलेको बाहिर आइरहेका छन् । सरकारले जथाभावी कर लगाएका कारण धरान उपमहानगर कम्युनिस्टले हार्नु परेको त्यहाँको चुनाव प्रचारप्रसार समितिले नै घोषणा ग¥यो । यस अवस्थामा भर्खरै गठित नेविसंघ कसरी अगाडि बढ्छ ? हेर्न बाँकी नै छ ।
विगतमा पनि नेताहरू बाझाबाझ गर्थे । वि.सं. २०५१ पछि एकपटक गणेशमानजी, किसुनजी र गिरिजाबाबुबीच बोलचालसमेत बन्द थियो । एउटा नेता भएको मञ्चमा अर्को नेता जाने भन्ने त कल्पना नै गर्न सकिँदैनथ्यो । त्यस्तो बेलामा पनि नेविसंघको त्यतिखेरको नेतृत्वले ३ जना नेताहरूकहाँ पुगी विद्यार्थीहरूका खातिर नेविसंघ स्थापना दिवसको कार्यक्रममा आइदिनु प¥यो भनी अनुरोध र जोडबल गरेको थियो । नेताहरू बाध्य भए र कार्यक्रम सम्पन्न भयो । अनि नेताहरूबीचमा बोलचाल खुलाउने कार्यसमेत त्यही कार्यक्रमले गरेको थियो ।
अहिले त कमसेकम देउवा र पौडेलको बोलचाल बन्द भएको छैन । जुन जुन गुटबाट नेविसंघको अध्यक्ष र महामन्त्रीमा आएका भए पनि यिनीहरूले अब सम्पूर्ण विद्यार्थीहरूको साझा नेतृत्व बन्न सक्नै पर्दछ । दुवै नेताहरूको साझा कार्यकर्ता हौँ भन्ने प्रत्याभूति दिन सक्नैपर्छ र जुन नेताले बाटो बिराउँछन् त्यस नेतालाई आँैला ठड्याउने हिम्मत गर्नै पर्छ । हाँगा म¥यो भने रुख पलाउन सक्छ तर जरा मरे कुनै उपायले उमार्न सकिन्न भन्ने बोध गर्नै पर्छ । नेविसंघ जरा हो भन्ने प्रत्याभूति गरेको हेर्ने रहर प्रजातन्त्रवादीहरूले पालेका छन् ।
चुनौती धेरै छन् । भोलि गरौँला भनेर हुँदैन । नेताहरूले नेविसंघको समिति पूर्ण गरेपछि काम सुरु गरौँला भनेर पनि हुँदैन । आजैदेखि अहिल्यैदेखि काम आरम्भ गर्ने हो भने नसक्ने पनि केही छैन । वडादेखि प्रदेशसम्मका समितिहरू गठन गरी चलायमान गराउने जिम्मेवारी छ । इमानदार, पुराना र सक्रियलाई जिम्मेवारी र नयाँलाई हौसला प्रदान गर्दै अघि बढ्नुपर्छ । डनवाद र धनवादमा फसियो भने कसैले जोगाउन सक्दैन ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here