अर्थराष्ट्रिय

पोखरा महानगरको नीति तथा कार्यक्रम प्रस्तुत

पोखरा, ८ असार

पोखरा महानगरपालिकाको पाँचाँै नगरसभा एवं आर्थिक बर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वाधार विकास, कनेक्टिङ सडक, समपुरक सडक, भवन निर्माण, खानेपानी, ताल संरक्षण, स्थानीय कानून निर्माण, स्मार्ट सिटी, शिक्षा, सामाजिक सुरक्षा, कृषिलगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
‘हाम्रो चाहना, पर्यटन मैत्री निर्माण संरचना’ अभियानलाई नेपाल भ्रमण वर्ष २०२० र प्रदेश भ्रमण वर्ष २०१९ लाई सफल बनाउन आन्तरिक भ्रमण विशेष प्राथमिकता दिएर ‘पहिले देश, अनि विदेश’ जोडिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसैगरी पोखरा महानगरले महानगरका टोल तथा पार्कमा खुला व्यायामशाला निर्माण गर्ने भएको छ । ‘स्वास्थ्यका लागि व्यायाम’ भन्ने नाराका साथ महानगरले यस्तो योजना अघि सारेको हो ।
नगर क्षेत्रभित्र रहेका युवा क्लब र सामाजिक संघसंस्थालाई सूचिकृत गरी युवालाई व्यवसाय तथा उद्यममा प्रेरित गर्दै वेरोजगारी समस्या समाधान गर्न युवा उद्यम कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् युवालाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्दै कृषि तथा पशुपालनमा युवालाई प्रोत्साहन अनुदान दिने महानगरले जनाएको छ ।
पोखरमा महानगर युवा परिषद् तथा खेलकुद विकास समिति गठन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । गोस्तेघाट, भण्डारढिक, आर्बा र विजयपुरमा आधुनिक खेल मैदान निर्माण गर्नुका साथै वडा नम्बर २० मा हाइअल्टिच्युट खेल मैदान निर्माण गर्ने महानगरले जनाएको छ । १ वडा १ खेल मैदान निर्माणलाई पनि निरन्तरता दिइने भएको छ ।
यस्तै, पोखरा महानगरपालिकाले साहित्यिक, सांस्कृतिक उत्थानका लागि महानगरमै प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने भएको छ । महानगरले विद्यालयमा स्थानीय भाषामा कक्षा सञ्चालनको लागि आवश्यक पाठ्यक्रम तर्जुमा गरी सम्बन्धित भाषाभाषीको बाहुल्यता रहेका क्षेत्रका विद्यालयमा लागू गर्न आगामी वर्षबाटै सुरु गर्ने भएको छ ।
मेयर मानबहादुर जिसीले होमस्टेमा स्थानीय नृत्य तथा मौलिक भेषभूषा तथा संस्कृति झल्कने कार्यक्रम सञ्चालनमा जोड दिइने बताए । महानगरले सांस्कृतिक ग्राम निर्माण गर्न पहल गर्ने योजनासमेत बनाएको छ । पोखरा महानगरले शिक्षा, स्वास्थ्य, भाषा, संस्कृति, कला साहित्य आदिको विकासमा योगदान पु¥याउने व्यक्तित्वलाई महानगर स्थापना दिवसमा नवरत्न सम्मानद्वारा सम्मानित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै, पोखरा महानगरपालिका वडा नम्बर २७, अर्चेलस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने महानगरको योजना छ । यसका लागि आगामी आर्थिक वर्षमा आवश्यक तयारी गरिने जनाइएको छ ।
यसैगरी महानगरले ‘समृद्घि र विकास निर्माणको आधार, सम्पूर्ण क्षेत्रमा महिलालाई समान व्यवहार’को नारा आत्मसाथ गर्दै महानगर क्षेत्रभित्र महिला सशक्तीकरण र उद्यमशीलता विकासका लागि आगामी वर्ष पनि उपप्रमुखसँग महिला कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । महानगरले महिला उद्यमशीलता विकास तथा रोजगारी प्रवद्र्घनका लागि ५० महिला ५ सय रोजगार कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
केन्द्रबाट उत्पादन गरिएका सामानलाई बजारीकरण गर्नका लागि उपहार केन्द्र स्थापना गर्ने महानगरको योजना छ । यस्तै, एकल महिला, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, टुहुरा, सिमान्तकृत र लोपोन्मुख समुदायका लागि यातायात, स्वास्थ्य र शिक्षा क्षेत्रमा सहुलियत प्रदान गर्न पहल गर्ने महानगरको योजना छ । महानगरले हरेक वर्ष विश्व ज्येष्ठ नागरिक दिवस (अक्टुबर १) मा महानगरका सबैभन्दा ज्येष्ठ महिला र पुरूषलाई महानगर माता र महानगर पिता को सम्मान प्रदान गर्ने नीति लिएको छ ।
यस्तै, महानगरले कर्मचारीलाई प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ । महानगरले यसै आर्थिक वर्षदेखि कर्मचारी र पदाधिकारीको बिमा गर्ने भएको छ । मेयर मानबहादुर जिसीले कर्मचारीलाई वर्षमा १ पटक ७ दिन खर्चसहित भ्रमण बिदा दिने घोषणा गरेका छन् । कार्यालयले तोकेको समयमा दिइने भ्रमण बिदा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुर गर्न लागिएको हो । महागरले कम्तीमा १ वर्ष सेवा गरेका कर्मचारीको सञ्चयकोष कट्टा गर्ने व्यवस्था सुरु गर्ने जनाएको छ । महागरका काम, कारवाही प्रभावकारी बनाउन नगर प्रमुखले वडाध्यक्षसँग र प्रमुख प्रशासकीय अधिकृतले महाशाखा प्रमुखसँग मापन योग्य सूचकसहित कार्यसम्पादन करार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । सम्बन्धित पदाधिकारीलाई नतिजाप्रति जवाफदेही बनाउन यस्तो योजना ल्याएको हो ।
यसैगरी मेयरबाट प्रस्तुत नीति तथा कार्यक्रमले पुराना कार्यक्रमलाई निरन्तरता दिँदै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्मार्ट सिटीको परिकल्पनालाई बढी जोडि दिइएको छ । ‘हामी बनाउँछौं हाम्रो महानगर’ बनाउने अभियानमा सार्वजनिक निजी साझेदारी नीति अवलम्बन गरिने पनि उनले जनाएका छन् । महानगरका वडा तथा कास्की जिल्लाभित्र पर्ने गाउँपालिकाहरुमा भरपर्दो यातायातको पहुँच बिस्तार गर्दै सार्वजनिक यातायातमा इ– टिकेटिङ लागु गर्ने नीति पनि महानगरले लिएको छ ।
महानगरले ट्राफिक व्यवस्थापनका लागि बत्ती, सर्भिस स्टेसन र फुटपाथ व्यवस्थापन गर्ने घोषणा पनि गरेको छ । पोखरा नगरमा एउटै ट्राफिक लाइट छैन । ग्रिन पोखरा, क्लिन पोखरा अभियानलाई सार्थक बनाउने, डिजिटल पोखरा बनाउने अभियानलाई निरन्तरता दिँदै प्राविधिक शिक्षालय र कलेज स्थापनामा जोड दिने नीति पनि महानगरको छ ।
‘प्राकृतिक वरदान समृद्धिसँग जोडिनुपर्छ’
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रकृतिको वरदान पोखरा शहरलाई मुलुकको समृद्धिसँग जोड्नु अपरिहार्य रहेको बताएका छन् । समारोहमा उनले यसको विकासका लागि ३ वटै सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । सुन्दर एवं पर्यटकीय नगरिकका रुपमा परिचित पोखरालाई ढिलै भए पनि संघ सरकारले पर्यटकीय राजधानी घोषणा गर्ने विश्वास व्यक्त गर्दै उनले महानगरले निर्माण गर्ने प्रत्येक भौतिक संरचना त्यसतर्पm उन्मुख हुनुपर्ने बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ३ हजार मिटर हुनुपर्नेमा २ हजार ५ सय मिटर बनाएर राजनीति भएको बताउँदै मुख्यमन्त्री गुरुङले त्यसले पोखराको पर्यटन विकासमा बाधक बन्ने बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here