राष्ट्रिय

प्रचण्डका लागि अमेरिकाद्वारा ‘ नो इन्भेष्टिगेशन ’ सर्कुलर जारी, भ्रमण सम्मान जनक

चैत्र ५, काठमाडौं– प्रचण्डलाइ परिचित आतंकवादी भन्दै अमेरिकामा उजुरी गरी पक्राउ गर्न माग भए सँगै नेपालको राजनितिमा तरंग आएको थियो । साथै जनता पनि पक्ष र विपक्षमा खुलेर लागेका थिए । तर धेरै कम मात्रैलाइ थाहा थियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ अमेरिकी सरकार को तर्फबाट ‘ नो इन्भेष्टिगेशन ’ सर्कुलर जारी गरी सम्मानपूर्ण व्यवहार गरेको छ भनेर ।

अमेरिकाले नो इन्भेष्टिगेशन सर्कुलर विशेष अवस्था तथा नेताहरूको लागि मात्रै जारी गर्दछ । अध्यक्ष दाहाल अमेरिका भ्रमणमा निस्किएलगत्तै सो देशले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको हो ।

अध्यक्ष दाहालका लागि जारी गरिएको उक्त सर्कुलर अमेरिकाले विशेष रुपमा मात्र जारी गर्ने गरेको छ । यसअघि अमेरिकाले भारतीय उच्च नेतृत्वका लागि पनि यो सर्कुलर जारी गरेको थियो । अमेरिकाले जारी गर्ने यो सर्कुलरले कुनै पनि उच्च नेताहरुका लागि अमेरीका भित्र उत्पन्न हुनसक्ने कानूनी झमेला हटाउनका लागि बाटो खोल्ने गर्दछ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावास निकट श्रोतका अनुसार  यस्तो सर्कुलर जारी गरेपछि सरकारका कुनै पनि निकायले कार्वाही प्रक्रिया अगाडि बढाउन मिल्दैन ।

स्मरण होस, प्रचण्ड अमेरिका प्रस्थान गर्नु अघि नै नेपाल स्थित अमेरिकी राजदूत रेन्डीबेरी ले प्रचण्ड सँगै भेटेर यस बिषयमा छलफल गरेका थिए । उक्त छलफलमा अमेरिका भ्रमण र सम्मान पुर्ण संम्बन्धमा विचार–विमर्श भएको थियो । प्रचण्ड अहिले  पत्नी सिता दाहालको उपचारका क्रममा अमेरिकामा छन ।