राष्ट्रिय

प्रहरीले यसरी चकनाचुर पार्यो रातभरिमा काठमाडौँका एटिएम रित्याउने चिनियाँ युवाको योजना !

भदौ १५ काठमाडौं काठमाडौँको दरबारमार्गस्थित एटिएमबाट नक्कली एटिएम कार्डको प्रयोग गरी रकम झिक्ने पाँचजना चिनियाँ नागरिक पक्राउ परेका छन्।शनिबार साँझ बैंकको १ करोड २६ लाख रकम झिकेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनीहरुले एटिएमको सिस्टम ह्याक गरी अर्काको खातामा रहेको पैसा निकाल्ने गरेका थिए। एटिएमबाट एकैपटक ठूलो रकम निकालिएपछि बैंकका कर्मचारीले निगरानी गरेका थिए। केही शंकास्पद गतिबिधि समेत देखिएपछि बैंकले प्रहरीलाई खबर गरेको बुझिएको छ।

शनिबार दिउँसो र रातभरमा राजधानीका सबै एटीएम बुथबाट पैसा निकालेर आइतबार क्यासिनो जाने र सोमबार चीन फर्कने उनीहरुको योजना रहेछ काठमाडौं प्रहरी प्रवक्ता बोगटीले भने। उनका अनुसार माया मनोहर बुटिक होटलमा चिनियाँ नागरिकको चार चार जनाको दुई वटा समूह थियो जो एक अर्कामा परिचित थिएनन्। तर दुवै समूह शुक्रबार मात्र नेपाल उत्रिएका थिए।नबिल बैंकको एटिएम बुथबाट चिनियाँलाई नियन्त्रणमा लिँदा वरिपरी तीनजना चिनियाँ रहेको देखिन्छ। साथीलाई पक्राउ गरेपछि उनीहरु दौडँदै होटल पुगेर पैसा लिएर भाग्न खोज्दा पक्राउ गरेका हौँ डीएसपी बोगटी भन्छन्।

नेपालमा रहेका एटिएम बुथको रकम लुट्ने योजना चीनबाटै बनाएर उनीहरु नेपाल आएको प्रहरी अनुसन्धानमा खुलेको छ। शुक्रवार उनीहरु पर्यटन भिसामा नेपाल प्रवेश गरेका थिए। पाँच जनाको समूहमा आएका उनीहरुले जय नेपाल हलनजिकै रहेको माया मनोर बुटिक होटेल बुक गराएका थिए। होटेलको तीनवटा कोठा बुक गराएर शुक्रवारदेखि त्यहीँ बसेका थिए। काठमाडौं झरेको २४ घण्टामै उनीहरुले योजना अनुसार रकम झिक्न सुरु गरेका थिए। प्रहरीले अहिलेसम्म १ करोड ३६ लाख रुपैयाँ ह्याकरबाट बरामद गरिसकेको छ। केही बैंकहरुले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड नेप्स को प्रणालीलाई चिनियाँ गिरोहले ह्याक गरेको छ। यो प्रणालीमा १५ वटा बैंकहरु आबद्ध छन्।उनीहरु रकम लुटेर आइतवार र सोमवार नै चीन फर्किने तयारीमा रहेको अनुसन्धानमा खुलेको छ।

ह्याकर आक्रमणपछि गए रातिदेखि बन्द रहेका नेपाली वाणिज्य बैंकहरुका एटिएम सञ्चालनमा आएका छन्। सम्बन्धित बैंकको एटिम मेसिनबाट मात्र पैसा निकाल्न मिल्ने सम्बन्धित अधिकारीहरुले जनाएका छन्। ह्याकरहरुले आक्रमण गर्ने खतरा बढेपछि एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटीएम सेवा बन्द गरेको थियो।

आइतबार बिहान भने प्रभु र एनआईसी एशियाबाहेकका बै‌ंककाे एटीएम सेवा सञ्चालनमा आएको छ ।बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि २ बाहेकका बैंकको एटीएम सेवा सञ्चालनमा आएको जनाएकाे छ। प्रभु बैंक र एनआईसी एशियाकाे सेवा पूर्ववत अवस्थामा आउन केही समय लाग्ने उसको भनाइ छ। ती दुई बैंकहरुको केही प्राविधिक कामहरु बाँकी भएकाले सर्भर अहिले पनि डाउन नै भएको नेपाल राष्ट्र बैंकले बताएको छ। एटीएम सेवा चले पनि अर्को बैंकको एटिएमबाट पैसा निकाल्न भने बन्द भएको बैंकहरुले बताएका छन्। ग्लोबल आईएमई बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले अन्य बैंकको रकम भने निकाल्न नमिल्ने बताए। धेरै समस्या समाधान भइसकेको भए पनि अझै केही समस्याहरु भने बाँकी रहेको बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए। बाँकी समस्या समाधान गर्ने कोसिस भइरहेको उनकाे भनाइ छ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here