राष्ट्रिय

बेलायतमा प्रतिगन्धको अन्तर्राष्ट्रिय लोकार्पण

पोखरा, २६ कात्तिक
वरिष्ठ साहित्यकार सरुभक्तको सिर्जनाको घेरा भित्र सरुभक्त कार्यक्रम बेलायतमा सम्पन्न भएको छ । पोखरेली मञ्च यूकेको आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी पनि सहभागी थिए ।
कार्यक्रममा सरुभक्तको नयाँ उपन्यास प्रतिगन्धको अन्तराष्ट्रिय लोकापर्ण राजदूत सुवेदीले गरेका थिए । करीब डेढ दशकपछि आफ्नो नयाँ उपन्यास प्रकाशन गरेका सरुभक्तले कृतिको गर्भाधान २०६१ सालमा गरेका थिए । उनले १५ बर्षपछि सो उपन्यासको बेलायतमा अन्तराष्ट्रिय लोकार्पण गर्न पाउँदा आफूलाई अत्यन्त हर्ष लागेको बताए । विशेषतः प्रवासी नेपालीहरुको कथा ब्यथा समेटिएको सो उपन्यास बिदेश बसेका नेपालीलाई मन पर्ने बिश्वास आफूले लिएको बताए । विश्व प्रसिद्ध साहित्यकार शेक्सपिएरबाट अत्यन्त प्रभावीत सरुभक्तले आफ्नो बेलायत यात्रालाई साहित्यिक तीर्थयात्राको उपमा दिएका थिए ।
कार्यक्रम संचालन हरि प्रसाद गुरुङ्गले गरेका थिए भने स्वागत सहसंयोजक सुधा गुरुङले राखेकी थिइन।साहित्यकार सरुभक्तको संक्षिप्त परिचय अनेसासका सल्लाहकार डा रुपक श्रेष्ठले दिएका थिए । कार्यक्रममा महामहिम राजदूतले सरुभक्त आफ्नो अत्यन्त निकटका साहित्यिक मित्र रहेको बताउँदै उनका साहित्यिक कृतिहरुलाई समेटेर सुन्दर साहित्यिक शैलीमा परिचय दिएका थिए ।
औशत नेपाली कार्यक्रम भन्दा केही फरक शैलीमा संचालन गरिएको सो कार्यक्रममा सम्बोधन, आसन ग्रहण र भाषण प्रथामा कटौती गरि कार्यक्रमलाई सक्दो चुस्त दुरुस्त बनाउने मनसाय आयोजकको रहेको बताउदै आमन्त्रित सबै अतिथिहरुलाई एक मुष्ट स्वागत अभिवादन गरिएको कुरा सुधा गुरुङ्गले बताइन् । कार्यक्रममा सरुभक्तले आफ्ना मुक्तकर कविता वाचन गर्नुका साथै संचालक हरि गुरुङ्गले सरुभक्तका साहित्यिक यात्रा र उनीसंग अंतरंग रोचक संवाद गरेका थिए ।

पोखरेली मञ्च यूकेले बेलायत र पोखरामा खेलकुद बिस्तारका साथै भिजिट नेपाल २०२० मा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले वेल्समा हाईक फर नेपालको आयोजना पनि गर्दै आएको छ । सोको अलावा अब कला र साहित्य क्षेत्रमा पनि केही टेवा पुगोस भन्ने हेतुले पहिलो पटक बेलायतमा यसप्रकारको साहित्यिक कार्यक्रमको आयोजना गरिएको मुख्य संयोजक लालप्रसाद गुरुङ्ग बि ई एमले बताए ।

बिगत ४ दशकदेखि निरन्तर साहित्यमा कलम चलाउदै आएका सरुभक्तका करीब ५० भन्दा बढी पुस्तक प्रकाशीत भैसकेका छन।सरुभक्तको २०४८ सालमा प्रकाशित पागल बस्तीले मदन पुरस्कार प्राप्त गरेको थियो । पुस्तक लेखनका अलावा उनका थुप्रै नाटकहरु मञ्चन भैसकेका छन साथै उनले रचेका थुप्रै गीतहरु विभिन्न ब्यान्डहरुले गाएर लोकप्रिय भएका छन् ।

कार्यक्रमलाई थप रोचक बनाउन स्थानीय कलाकारहरु राजु गुरुङ्ग, मधु गुरुङ्ग,लाल प्रसाद गुरुङ्ग, बिनय पुन, जीवन गुरुङ्ग र पहलमान गुरुङ्ग आदीले सरुभक्तका रचनाका गीत गाएर सुनाएका थिए ।

कार्यक्रममा २०३६ सालतिर मंचन गरिएको सरुभक्तको नाटक एउटा घरको कथा हैन को लाहुरे हुन्छु भन्छन सबैले बोलको गीत तत्कालिन नाटकका पात्र लाल प्रसाद गुरुङ्गले गाएका थिए । ४० बर्ष अघि आफूले निर्देशन र अभिनय समेत गरेको सरुभक्तको उक्त नाटकका पात्र एकेन्द्र गुरुङ्ग र लालप्रसादलाई बेलायतमा बर्षौ वाद भेट्न पाउँदा औधी खुशी लागेको कुरा उनले उल्लेख गरे । यस्तै राजदुत डा सुवेदी र आफू समकालीन साहित्यिक मित्र रहेको कुरा पनि उनले बताए ।

कार्यक्रम ब्यवस्थापनका लागि साहित्य प्रेमीहरुबाट केही अर्थ संकलन गरिएको थियो । संकलित सो रकमबाट खर्च कटाएर बाँकी रहेको रकम पोखरेली मञ्च यूकेका तर्फबाट पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप) ले स्थापना गर्न लागेको आधुनिक संगीतका धरोहर स्व संगीतकार अंबर गुरुङ्ग संगीत कोष स्थापनाका लागि प्रदान गरिनेछ । सो पुरस्कार राष्ट्रियस्तरमा गीत संगीत विधामा विशेष योगदान पुराएका स्रस्टालाई प्रदान गरिनेछ । पोयुसांपको स्थापना २०३४ सालमा भएको थियो । सरुभक्त सो संस्थाको संस्थापक सचिव थिए । कार्यक्रममा पोखरेली मञ्चका अध्यक्ष मा प्रसाद गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here