राष्ट्रिय

रत्नमन्दिर र हिमागृह कसैलाई दिइएको छैन ः उपप्रम पोखरेल

पोखरा, २४ पुस
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पोखराका रत्नमन्दिर र हिमागृह कसैलाई व्यवसायिक प्रयोग गर्न दिइनसकेको बताएका छन् । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अन्य मन्त्रीहरू समेत उपस्थित कार्यक्रममा उनले गण्डकी सरकारसँग सल्लाह गरी यसबारे निर्णय लिइने जानकारी दिए ।
नेपाल ट्रस्टका अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले भने, ‘यहाँको प्रदेश सरकारसँग सल्लाह गर्छाै । पर्यटन व्यवसायीका कुरा सुन्छौं । प्रधानमन्त्री ट्रस्टको संरक्षक हुनुहुन्छ । उचित उपयोग गर्छाैं ।’ उनले ट्रस्टमा रहेको साढे २१ हजार रोपनी जग्गा, करिब १ अर्ब नगद र सेयर कानुन बमोजिम उपयोग हुने प्रष्टिकरण दिए ।
शिक्षा, स्वास्थ्य, पर्यटन र व्यावसायिक क्षेत्रमा ट्रस्टको सम्पत्ति प्रयोग गर्न मिल्ने ऐनमा उल्लेख छ । उनले विरोधको नाममा विरोधमात्र नगर्न आग्रह गरे । उपप्रधानमन्त्री पोखरेलले भने, ‘गौचरण बनाउने त होइन होला, पारदर्शी रुपमा सम्झौता गरेर काम गर्र्छाैं ।’
बिहीबार नेकपा कास्की र प्रेस संगठन कास्कीले आयोजना गरेका भिन्दाभिन्दै कार्यक्रममा उनले यस्तो बताएका हुन् । २००४ बाट सुरु भएको एमसिसीबारे विवाद जरुरी नरहेको उनको तर्क छ । मन्त्री पोखरेलले भने, ‘हामी कुनै सैनिक गठबन्धनमा सहभागी हुँदैनौं । राष्ट्रिय स्वार्थ अनुकूल भए सहयोग लिन्छौं, नभए लिँदैनौं । सम्प्रभुतालाई थाती राखेर सहयोग लिने भन्ने हुँदैन ।’ ५५ अर्ब अनुदान सडक र हाइटेन्सन लाइनमा खर्च गर्ने गरी एमसिसी अन्तर्गत अमेरिकाले नेपाललाई प्रदान गरेको छ ।
‘पार्टी र सरकार दुवैमा नयाँ उचाइमा पुगेका छौं । ठीक ढंगले काम गरे अघि जान्छौं, नगरे टाउको फुट्ने डर छ ।’ उनले पार्टी एकीकरण र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने काम एकैचोटि भएको उल्लेख गरे । उनले थपे, ‘पार्टी र सरकार दुवैमा नयाँ उचाइमा पुगेका छौं । ठीक ढंगले काम गरे अघि जान्छौं, नगरे टाउको फुट्ने डर छ ।’
पार्टी फेरि विभाजन हुने हो कि भन्ने त्रास नमान्न उनले कार्यकर्तालाई आश्वास्त गराए । जनताको चाहना, राष्ट्रको आवश्यकता र कार्यकर्ताको चाहनाले एकता भएको उनले उल्लेख गरे । उनले भने, ‘२ फरक पृष्ठभूमि भएकाले कहिलेकाँही मानसिकताले दुःख दिन्छ । अहिलेको अवस्था नो मोर युएमएल, नो मोर माओइस्ट सेन्टर हो ।’
सीमालगायतका राष्ट्रियतासँग जोडिएका विषय सबैको साझा सरोकारको विषय भएको बताउँदै उनले यस सम्बन्धमा देखिएका समस्या समाधानका लागि नेपाल र भारतबीच औपचारिक छलफलको प्रक्रिया शुरु भइसकेको बताए ।
माघ १५ गतेसम्म एकताको सबै काम टुंगिने उनले दाबी गरे । उनले भने, ‘जुटेको, फुटेको, हारेको, जितेको, सबै अनुभव भएकाले चुनौतिहरूको सामना गर्दै अघि बढ्छौं । माघ १५ गतेको केन्द्रीय समिति बैठकले एकताको बाँकी रेखोपाखो सबै टुंग्याउँछौं ।’
उनले ठूलो संख्यामा रहेका नेपालका कम्युनिष्टहरु छिन्नभिन्न हुँदा देशले समृद्धि र विकासमा अपेक्षित गति लिन नसकेका कारण आम जनताको चाहनाअनुसार दुई ठूला पार्टी एकीकरण गरिएको बताए । बितेका कुराले कुनै पनि फाइदा नहुने तर त्यसबाट शिक्षा लिएर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिँदै उनले मतमात्र होइन, मनसमेत मिलाउनुको विकल्प नरहेको उल्लेख गरे ।
एकतालाई २ नदीको संगमसँग तुलना गर्दैले उनले कालीगण्डकी र सेतीगण्डकी मिसिएपछि केही तलसम्म एकातिर सेतो र अर्कातिर कालो जस्तो देखिए पनि त्यो अलि तल पुगेपछि एउटै हुने उदाहरण पेश गरे । पुँजीवादी शक्तिहरूसँगको सहकार्यमा जनवादी क्रान्ति भएको जनाउँदै उनले राजनीतिक र संरचनात्मक प्रणाली फेरिए पनि व्यवहारमा फेरिन, ऐन, कानुन बन्न बाँकी रहेकाले जनताले सोचेजस्तो सेवा दिन नसकिएको स्वीकारे ।
सभामुख चयनबारे २ अध्क्षबीच परामर्श भइरहेको उनले उल्लेख गरे । भने, ‘काम होस्, गाल नपरोस् भन्ने गरी सभामुख छान्छौं ।’ राष्ट्रियसभा उम्मेदवार चयन उचित भएको उनको दाबी छ । एक पटक हार्दैमा हरूवा र एक पटक जित्दैमा जितबहादुर नहुने भन्दै उनले पार्टीले उचित उम्मेदवार छानेको जनाए ।
सुनौली सन्धिले किटान गरेको सीमाना नै देशको सीमा भएको भन्दै उनले भारतले नक्सा प्रकाशन गर्दैमा त्यो भारतीय भूभाग भइनहाल्ने जनाए । अहिलेसम्मका कुनै पनि सरकारले भारतले सीमा मिच्दा औपचारिक विरोध नगरेको र औपचारिक रुपमा स्वीकार पनि नगरेको स्मरण गर्दै उनले अहिलेको सरकारले त्यसलाई चिरेको सुनाए ।
उनले भने, ‘हामीले औपचारिक रुपमा डिप्लोम्याटिक नोट पठाएका छौं । हामीसँग भएका ऐतिहासिक प्रमाण र राष्ट्रिय एकताको बलमा भारतसँग वार्ता गर्छाैं ।’ सीमामा सुरक्षा बल बढाइएको उनले जानकारी दिए । डेढ सय पोस्ट थपेको उल्लेख गर्दै उनले अब करिब ९ किमीमा नेपाली सुरक्षा पोस्ट खडा हुने जनाए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here