राष्ट्रिय

वर्तमान सरकार भ्रष्टाचारीको अखडा कांग्रेस सभापति धमला

पोखरा, ९ भदौ

नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारीको अखडा भएको आरोप लगाएका छन् । उनले गत चुनाव र प्रधानमन्त्री ओलीले भ्रष्टाचार सुन्न पनि नचाहने र गर्न नदिने प्रतिवद्धता जनाए पनि उनकै सरकारका मन्त्रीले अरवौं अरव रुपैयाँ भ्रष्टाचार हुँदा समेत टुलुटुलु हेरेर बसेको बताए ।
नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समितिद्वारा आयोजित पाचौैं साधारणसभा तथा महिला जागरण अभियान उद्घाटन गर्दै उनले हिजोका दिनमा क्रान्तिकारी मानिएका केपी ओली अहिले स्खलित हुँदै गएको बताए ।
नेता धमलाले मुलुक सामु उपनिर्वाचन आएकाले यो निर्वाचन कांग्रेसले जसरी पनि जित्नुपर्ने खाँचो औंल्याए । यो निर्वाचन कांग्रेसको प्रतिष्ठासंग जोडिएकाले सक्रिय भएर लाग्न आग्रह गरे ।
उनले मुखैमा आएको कास्की २ को निर्वाचनमा रुख बोकेर आउने जुनसुकै उम्मेदवारलाई एकढिक्का भएर सघाउन निर्देशन दिए । चुनावको प्रचार प्रचार र मतदाताको घरघरमा पुगेर कास्की कांग्रेसलाई सघाउन उनले आग्रह गरे ।
सभापति धमलाले नेपाली कांग्रेस सैद्धान्तिक, नीतिगत र व्यवहारमा कहिल्यै विचलित नभएको स्पष्ट पार्दैै कम्युनिष्टलाई सच्चिनका लागि पटकपटक आग्रह गर्दा पनि नसच्चिएकाले सहकार्य हुन नसकेको बताए ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीले प्रजातन्त्र, राष्ट्रियता बचाउनकै लागि भए पनि कांग्रेसले उपनिर्वाचन जित्नैपर्ने बताए । उनले रविन्द्र अधिकारीको मृत्यु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।
सभापति केसीले रविन्द्र अधिकारी कम्युनिष्ट भएकै कारण बद्नामी र दुखद् निधन भएको बताए । ‘उनी कांग्रेसी थिए भने यतिधेरै बद्नामी पनि हुँदैनथ्यो, दुर्भाग्यपूर्ण मृत्यु पनि हुँदैनथ्यो ।’
कांग्रेस नेता एवं नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगानाले प्रजातान्त्रिक विचार राख्नेहरू बीच एकता, सहकार्य आवश्यक रहेको भन्दै नेकपाको सरकार चितवनको ध्रुवे हात्ति भन्दा कम नभएको बताए । ध्रुवे हातिलाई बेलैमा ठेगान लगाउन नसकिएर ठूलो विध्वंश गर्न सक्ने उनको टिप्पणी थियो ।
धादिङ कांग्रेसका पूर्व सभापति एवं पूर्व सांसद रामनाथ अधिकारीले दरबारिया, कम्युनिष्ट पार्टी र सरकारले संविधान च्यात्ने प्रयत्न गरिरहेको आरोप लगाए । यो संविधान च्यातिए नेपाली कांग्रेस पनि नरहने भएकाले सजक हुनुपर्नेमा उनले जोड दिए ।
कांग्रेसकी महासमिति सदस्य वं महिला नेतृ कल्पना अधिकारीले महिलाको हक अधिकारका लागि महिलाहरू नै सक्रिय हुनुपर्ने खाँचो औंल्याइन् ।
धादिङ कांग्रेसका सचिव विनोद तिमिल्सिनाले प्रदेश सरकार राज्यको सेतो हात्ति भएको भन्दै यसले भविष्यमा संकट निम्त्याउन सक्ने बताए । उनले एउटा चुनाव हार्दैमा आत्तिन नहुने भन्दै अबको चुनावमा सक्रिय भए लागे पार्टीले अवश्य जित्ने दावी गरे ।
कास्की कांग्रेसका सचिव देवेन्द्र रानाभाटले कांग्रेसको राजनीतिमा धादिङवासीको सहयोग र भूमिका उल्लेखनीय रहेको भन्दै अबको चुनावमा फेरि एक पटक सहयोग गर्न आग्रह गरे ।
कास्की कांग्रेसकी कोषाध्यक्ष एवं महिला नेतृ लक्ष्मी पाण्डेले धादिङवासीलाई अभिभाकत्व प्रदान गर्दै सुख दुःखमा साथ दिन सिंगो पार्टी तयार रहेको स्पष्ट पारिन् ।
धादिङ कांग्रेसका जिल्ला सदस्य रामप्रसाद अधिकारीले दुई तिहाइको सरकार कमाउ धन्दामा मात्र केन्द्रित भएको भन्दै यसको सशक्त प्रतिकार आवश्यक रहेको बताए ।
धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्णबहादुर लम्सालले धादिङवासीले राजनीति आस्था भन्दा पहिला धादिङवासी हौं भनेर सोच्नुपर्ने, आफ्नो खुट्टामा उभिनुपर्ने, त्यसपछि मात्र आस्था र विचार खोज्नुपर्ने खाँचो औंल्याए ।
नेविसंघ नेता भानु ढकाल र ईश्वर अधिकारीले सरकारको गलत रवैया विरुद्ध नेविसंघले ठूलो सशक्त आन्दोलन लिएर आउन लागेको भन्दै पार्टीका सबै तह र तप्काले सघाउनुपर्ने खाँचो औंल्याए ।
समितिका वरिष्ठ सल्लाहकार कृष्णकुमार श्रेष्ठले राजनीति देखावटी रुपमा मात्र होइन सशक्त ढंगले गर्नुपर्ने बलियो पार्टी स्थापना गर्नुपर्नै खाँचो औंल्याए ।
सल्लाहकार मोहन पण्डितले चुनावपछि पार्टी केही सुस्ताएको जस्तो देखिए पनि पार्टी कमजोर नभएको स्पष्ट पारे ।
समितिका सभापति लालप्रसाद पाठकको सभापतित्वमा भएको कार्यक्रममा निवर्तमान सभापति केदार धमला, वरिष्ठ उपसभापति यादुप्रसाद ढकाल, सचिव माधव लम्साल, सहसचिव वेनु पण्डित, कार्यक्रम संयोजक देवराज अर्याल लगायतले बोलेका थिए ।
कार्यक्रममा कक्षा १२ को परीक्षामा सर्वाधिक अंक प्राप्त गरी उत्तीर्ण हुने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ की अश्विनी पाण्डलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
यस्तै समितिको विभिन्न गतिविधिमा सघाउने सन्देश ढकाल, छविनारायण श्रेष्ठ, पदमबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।
साथै कक्षा १२ र एसइई उत्तीर्ण विद्यार्थीहरू फूलकुमारी अधिकारी, सन्दिप श्रेष्ठ, सुस्मिता श्रेष्ठ, नीलक पाठक, अञ्जना शाही, जोशन थपलिया, अद्भिका बोहरा, शोभा श्रेष्ठ, ज्योती ढकाल, कृष्ण खत्री, अनुपमा अर्याल, अंकित ईटनी, प्रतीक्षा थपलिया, मनिषा बसौला, प्रकाश सापकोटा, बुद्धकुमारी अधिकारी, रमेश ढकाल, दीक्षा राना मगर र पूजा ढकाललाई पनि प्रशंसा पत्रले सम्मान गरिएको थियो । सम्मानित विद्यार्थी छनोटका लागि सल्लाहकार मोहन पण्डित संयोजक रहेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here