राष्ट्रिय

श्रीस्वस्थानी व्रत आजदेखि प्रारम्भ

हरि पन्त
धार्मिक तपोभूमि नेपालमा हिन्दू महिलाले मनाउने १ महिने ब्रत श्री स्वस्थानी व्रत आज शुक्रबारबाट आरम्भ हुँदैछ । यो व्रत माघ २६ गते आइतबार समापन हुनेछ । आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले १ महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गर्दछन् ।
यो व्रत पौषशुक्लपूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म १ महिना चल्दछ । सत्ययुगमा भगवान विष्णुको कृपा अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ भनी श्रीस्वस्थानी व्रत बसेको कथा छ ।
व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको मान्यता अनुसार परापुर्वकालबाटै चिताएको पुग्ने विश्वासमा श्रीस्वास्थानीको व्रत बस्ने चलन छ । यस अवधिमा स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ । श्रीस्वस्थानीको व्रतकालमा काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी तथा सतिदेवीका अंग पतन भएका शक्तिपीठहरूमा घुइँचो लाग्ने गर्दछ ।
श्रीस्वास्थानीको महत्व
श्रीस्वस्थानीको व्रतमा नेपाली भूमिको वर्णन गरीएको छ । श्रीस्वस्थानीमा चर्चा गरिएको शाली नदी र श्लेशमान्तक वन नेपालमा छ । कथामा उल्लेखित हुने विषय र घटना नेपाल कै सेरोफेरोमा भएको स्कन्दपुराणमा उल्लेख छ । साथै पावर्तीको पिता हिमालय पनि नेपाली हिमक्षेत्रमा रहेको बताइएको छ ।
व्रत कसरी गर्ने ?
प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमाका दिनदेखि यस व्रतको शुरुआत हुन्छ । पौष शुक्ल चतुर्दशीको दिन हातखुट्टाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर व्रतको आरम्भ गर्नुपर्दछ । यसरी पवित्र भएर हविख्य (दूध दही, जौं, गौं चामल, तील, घ्यू, सख्खर इत्यादिको सात्विक पदार्थहरू) भोजन ग्रहण गर्नुपर्दछ । सोही दिन श्रीस्वस्थानी माताको स्थापनारपूजा स्थान सरसफाई गरी लिपपोत गर्नुपर्दछ । व्रतकाल भरी भूमिमा शयन (सुत्नु) गर्नुपर्दछ ।
दिनको १ छाकमात्र सात्विक भोजन ग्रहण गर्नुपर्दछ । व्रत समापन नहुन्जेल पुरुष ब्रतालुले रौं काट्न हँुदैन । यस १ महिनाको अवधिमा सत्य बोल्ने, झगडा नगर्ने, जथाभावी नहिँड्ने र एकभक्त भएर ईश्वरको पूजामा सामेल हुनुपर्छ भन्ने मान्यता छ ।
साथै महिनाभरि अनिवार्य ब्रह्मचर्यको पालन गर्नुपर्दछ । शुद्घ वा धोएका वस्त्रहरू पहिरीने र शौच गएपछि हरेक पटक पवित्र जल छर्केर शुद्ध हुनुपर्छ । व्रतको पहिलो दिन अर्थात पौषशुक्ल पूर्णिमाका दिन बिहानै उठी नदीमा स्नान (नदी नभए घरमा तर शौचालय नजोडिएको अलग्गै स्थानमा) गरी शुद्घ वस्त्र पहिरिएर कुशको आशनमा नभए ऊनको त्यो पनि नभए कम्मलको आशनमा बसेर पूजा गर्नुपर्दछ ।
त्यसपछि तामाको लोटा (अम्खोरा) मा पञ्चगब्य अर्थात गोबर, गोमुत्र, दूध, दही र घ्यूका साथै तिल, सरस्यूँ र जौ हाली वेद मन्त्रले अभिमन्त्रित गरी अभिषेक बनाएर ‘अपवित्रः पवित्रो वा’ भन्ने मन्त्रले सम्पूर्ण पूजा सामग्री र आफूमाथि छर्कनुपर्दछ ।
त्यसपछि त्यसै अभिषेकबाट ‘मैले आजसम्म मन, वचन र कर्मले जानी नजानी गरेका सम्पूर्ण पाप नाश भई मलाई यस लोकमा सुख शान्ति प्राप्त भई अर्को लोकमा शिवलोक प्राप्ति होस् भन्ने कामनासहित १ महिनासम्म श्रीस्वस्थानी माताको नियम अनुसार व्रत बस्नेछु’ भनि संकल्प गर्नुपर्दछ ।
त्यसपछि आफूले विगतमा खाएका अभक्ष पदार्थको प्रायश्चित वा शुद्धिका लागि गोदान (सके गाई, नसके गोबरमा यथासक्य भेटी वा सुवर्ण राखी गोदान) गर्नुपर्दछ । गोदानपछि दीप, गणेश र कलशको पूजा गर्नुपर्दछ ।
दीप गणेश र कलशको पूजा सम्पन्न भैसकेपछि एउटा तामाको थालीमा रक्तचन्दनले अष्टदल कमल बनाई कमलको बिचमा श्रीस्वस्थानी माताको सुनको प्रतिमा (नसके यथाशक्य भेटी राखी) स्थापना गर्नुपर्दछ ।
अष्टदल कमलको वरिपरी क्रमशः वैष्णवी, ब्राह्णमी, माहेश्वरी, कौमारी, बाराही, इन्द्राणी, चामुण्डा र महाकालीको स्थापना र पूजा गर्नुपर्दछ । त्यसपछि प्रत्येक मध्यान्हमा श्रीस्वस्थानी माता र श्रीमहादेव भगवानको आरधना गर्नुपर्दछ ।
दीप, गणेश र कलशको पूजा गर्नुका साथै अष्टमात्रिका र श्रीस्वस्थानी माताको पूजा आचमन, अर्घ, पाद्य, पंचामृत, चन्दन, धूप, दिप, नैबेद्य, वस्त्र, भेटी, सुपारी, सिन्दुर, अबिर, सौभाग्य द्रब्य, सेलरोटी, हलुवा इत्यादी चढाउनुपर्दछ । पूजा सकेपछि फूल लिई हात जोडेर एकचित्त एक भक्तिका साथ श्रीस्वस्थानी माताको मन्त्रले ध्यान गरी साष्टांग दण्डवत् गर्नुपर्दछ ।
श्रीस्वस्थानी माताको मन्त्र
सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।
सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।।
नीलोत्पल–धरां वामे, दक्षिणे वरदां शुभाम् ।
खड्ग–चर्मधरां चोध्र्वं वामदक्षिणयोः क्रमात ।।
चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् ।
एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।।
अर्थात सुनको जस्तै दिब्य पित वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्प झैं प्रसन्न मुख मण्डल भएकी, विविध आभुषण हरूले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड्ग, चर्म र नीलोत्पल धारण गरेकी, चारबाहु भएकी यस्ती श्री स्वस्थानी माताको हृदयमा ध्यान गर्दछु ।
पूजापछि आफूले जुन कामना चिताएको हो त्यो कामना पूर्णहोस् भनि श्री स्वस्थानी मातालाई अघ्र्य (दही) दिनुपर्दछ । त्यसपछि साँझमा श्रीस्वस्थानी माताको कथा वाचन गरी परिवारजन, आफन्त, छिमेकी लगायतलाई सुन्ने वा सुनाउनुपर्दछ ।
कथा सुन्ने श्रोता नभए पनि आफै कथा वाचन गरी सुन्नुपर्दछ । आफूले कथा वाचन गर्न नसके ब्राह्मण वा परिवारका सदस्य वा अन्य ब्यक्तिबाट वाचन गराउनु पर्दछ । वाचन गर्नेले कुनै अभक्ष पदार्थ खाएको हुनुहुँदैन ।
कथा आरम्भ गर्नु भन्दा पहिले र कथा भनिसके पछि धूप, दीप, फूल, चन्दन, अक्षता र भेटी चढाई पुस्तकको पनि पूजा गर्नुपर्दछ । कथा पछि आरती गर्नुपर्दछ । आरती पछि कथा सुन्ने जति सबैलाई प्रसाद दिई आफूले पनि ग्रहण गर्नुपर्दछ ।
यसरी १ महिनासम्म नित्य पुजा कार्य गरी माघशुक्ल पूर्णिमाको दिन व्रतको समापन गर्नुपर्दछ । सो दिन नित्य भनिने कथा समाप्त गरी विशेष पूजाका लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिंग बनाई त्यही थालीको मध्यमा स्थापना गर्नुपर्दछ ।
श्रीस्वस्थानी मातासंगै महादेवको पनि अराधना गर्नुपर्ने हुन्छ । समापन पूजामा १०८ सेलरोटी, १०८ टुक्रा सुपारी, १०८ बेली पुष्प, १०८ पान, १०८ जनै, १०८ अक्षता, भेटी, जौं, तिल इत्यादि सबै पदार्थ १०८ वटा चढाउनुपर्दछ ।
पूजापछि १०८ पटक परिक्रमा गरी दण्डवत् ढोग गर्नुपर्दछ । ब्रत प्रतिष्ठापछि ‘हे स्वस्थानी माता हजुरका कृपाले मेरो व्रत पूरा भयो’ भनि अघ्र्य (दही) दिई माथिका सबै १०८ प्रसादहरू मध्येबाट ८÷८ वटा प्रसाद झिकी सगुनसहित आफ्ना श्रीमान, श्रीमान नभए छोरा, छोरा नभए मित छोरा र मितछोरा पनि नभए मेरो अमूक कार्य पूरा होस् भनि नदीमा बगाई दिनुपर्दछ ।
सयरोटी आफूले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्रम बस्नुपर्दछ । यतिगरी सकेपछि श्रीस्वस्थानी माताको प्रसादले व्रतकर्ताको समस्त दुःख नाश भई मनोकामना पूर्ण हुने श्रीस्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here