राष्ट्रियविचार

श्रीकृष्णष्टमी पर्व ः महिमा र किंवदन्तिसहित

ज्यो. हरि पन्त
भाद्रकृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
भाद्रकृष्णअष्टमीको मध्यरातमा कृष्णको जन्म भएकाले यस दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । यस दिनमा विशेषगरी महिलाहरू व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति संगीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास छ ।
दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चांग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरबहरूसँगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उनैका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए ।
यस्तो छ किंबदन्ती
यमुना नदी पार गर्दै देवकी तथा वासुदेवका आठौं सन्तानको रूपमा कृष्णको जन्म भएको थियो । प्राचीन अभिलेखहरूको आधारमा तथा खगोलीय गणनाको आधारमा कृष्णको जन्म जन्माष्टमी १८ जुलाई ३२२८ इसापूर्वमा भएको थियो र वहाँ १८ फेब्रुअरी ३१०२ इसापूर्वसम्म धर्ती लोकमा रहेका थिए । कृष्ण मथुराका यादवको भृष्नी कुलका थिए ।
मथुरा (वर्तमान समयमा मथुरा जिल्ला, उत्तर प्रदेश) यादवहरूको राजधानी रहेको थियो । देवकीको भाई राजा कंशले आफ्ना बुवा उग्रसेनलाई जेल गरी आफू राज्य सत्ता कब्जा गरेका थिए । एउटा भविष्यवानीबाट डराएर उसले दुवै जनालाई जेल भित्र कैद गरेर राखेका थिए । भविष्यवाणी अनुसार उसको मृत्यु देवकीको आठौं सन्तानको हातबाट हुने थियो । कंशले सुरूका ६ वटा बच्चालाई मारेपछि देवकीले सातौं बच्चालाई गायब गरेकी थिइन् । (असलमा देवकीले गोप्य रूपले सो बच्चा रोहिणीलाई दिएकी थिइन् जो बलराम थियो ।) आठौं सन्तानको रूपमा कृष्णको जन्म भयो ।
कृष्णको जन्म भएसँगै विष्णुले वासुदेवलाई कृष्णलाई नन्द र यसोदा बसोबास गर्ने स्थान गोकुल पुगाउन लगाए, जहाँ कृष्ण आनन्दले आफ्नो काका कंशबाट टाढा रही बाँच्न सक्थे । वासुदेवले कृष्णलाई लिएर यमुना पारी सकुशल गोकुल पुगाए । त्यहाँ सबैजना सुतिरहेकोले वासुदेवले कसैलाई पत्तो नादिकनै कृष्णलाई त्यहीँ छाडी यसोधाको छोरी लिएर कारावास फर्केर आए ।
कंशले त्यस अवोध बच्चालाई देवकीको आठांै सन्तान ठानी ढुङ्गामा फालेका थिए । तर उनी हावामा उडी योगमाया (विष्णुको सहायक) को रूपमा स्थानान्तरित भईन र कंशलाई उसको मृत्युको बारेमा चेतावनी दिएर गायब भईन । कृष्ण गोकुलमै आफ्ना दाई बलरामसँग हुर्केका थिए । पछि उनी मथुरा फर्के र बलरामको सहायताले कंशको संहार गरे ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here